ad ad

छापा खबर


भारत र चीनबीच हिंस्रक झडपले पूरै विश्व तरंगित

भारत र चीनबीच हिंस्रक झडपले पूरै विश्व तरंगित

नेपालखबर
असार २, २०७७ मंगलबार २३:५४,

दुई ठूला छिमेकी भारत र चीनका सैनिकबीच हिंस्रक झडप भएको छ । दुई देशको सीमा क्षेत्र लद्दाखमा सोमबार राति भएको झडपमा भारतीय सेनाका कर्णेलसहित २० भारतीय सैनिकको मृत्यु भएको छ।

जनसंख्याको हिसाबले विश्वको पहिलो र दोस्रो तथा परमाणु शक्ति सम्पन्न दुई उदाउँदा शक्तिबीचको तनावले एसिया मात्र होइन, पूरै विश्व तरंगित भएको खबर आजको नयाँ पत्रिका दैनिकमा पर्शुराम काफ्लेले लेखेका छन्।

चिनियाँ सेनासँगको मुठभेडमा भारतका ३४ सैनिक बेपत्ता भएको समाचार बेलायती पत्रिका टेलिग्राफको अनलाइन संस्करणमा मंगलबार दिउँसो नै प्रकाशित भएको थियो ।

तर, मंगलबार साँझसम्म भारतीय पक्षले एक कर्णेलसहित तीनजनाको निधन भएको बताएको थियो । तर, राति ११ बजे भारतीय रक्षा मन्त्रालयले २० जना सैनिक मारिएको पुष्टि गरेको छ । भारतीय दैनिक भास्करले अरू १५ सैनिक बेपत्ता भएको उल्लेख गरेको छ ।

झडप भएको क्षेत्र चीनले नियन्त्रणमा राखेको छ । त्यसैले चीनले शव पठाएपछि मात्र भारतले मृतकको संख्या यकिन गरेको हो । ‘चिनियाँ पक्षले मृतक भारतीय सैनिकको संख्या एकैपटक होइन, पालैपालो पठाएको छ,’ दैनिक भास्करले लेखेको छ । भास्करले चीनतर्फ ४३ सैनिक हताहत भएको दाबी गरेको छ । तर, स्वतन्त्र पुष्टि गरेको छैन ।

भारत र चीन दुवैले एक–अर्काको सीमा क्षेत्रमा सैनिक प्रवेश गरेका कारण झडप निम्तिएको आरोप लगाएका छन् । गोली नचलेको सो घटनामा निकै ठूलो मानवीय क्षति मानिएको छ । चीनतर्फ पनि क्षति भएको बताइए पनि पुष्टि हुन सकेको छैन ।

भारत र चीनको सीमा क्षेत्र पूर्वी लद्दाखको गलवान भ्यालीमा गत २४ वैशाखदेखि तनाव बढ्दै आएको थियो । तनाव घटाउन दुवै देशले सैनिक तथा कूटनीतिक स्तरमा औपचारिक र अनौपचारिक वार्ता गर्दै आएका थिए ।

तर, सोमबार रातिको घटनाले दुई देशलाई सीधै आमने–सामने बनाएको छ । तर, अझै पनि दुवै देशले शान्तिपूर्ण वार्ताबाटै समस्या समाधान गर्ने बताएका छन् ।

पूर्वी लद्दाखका गलवानबाहेक पाङगोङ सो, डेमचोक, दौलत बेग ओल्डी, हट स्प्रिङलगायतका क्षेत्रमा दुवै देशका सैनिक आमने–सामने छन् । चीन र भारत दुवैले गलवान नदीलाई आफ्नो दाबी गरेका छन् ।

२४ वैशाखमा गलवान भ्यालीको सीमा क्षेत्रमा दुवै पक्षका सैनिकबीच झडप हुँदा भारतीय सेनाका ७६ जना घाइते भएका थिए । ‘

सन् १९६२ मा भारत र चीनबीच सीमायुद्ध भएको थियो । सो युद्ध विराम भएको पाँच वर्षपछि सन् १९६७ को जुन ११ मा सिक्किमको नाथुला सीमा क्षेत्रमा दुई पक्षबीच गोली हानाहान भएको थियो । भिडन्तमा ८०

जना भारतीय सैनिकको मृत्यु भएको थियो भने दुई सयभन्दा बढी चिनियाँ सैनिक मारिएको भारतीय दाबी थियो ।

भारतले संविधानको धारा ३७० खारेज गरी जम्मु र कस्मिर तथा लद्दाखलाई केन्द्रशासित अलग–अलग प्रदेश बनाएपछि लद्दाख क्षेत्रमा सुरक्षा बढाएको थियो । यसमा चीन असन्तुष्ट थियो ।

दुई देशबीच तनाव बढ्दै गएपछि तीन साताअगाडि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यस्थताका लागि आफू तयार रहेको बताएका थिए । तर, दुवै देशले यसलाई अस्वीकार गरेका थिए र आपसी संवादबाट हल गर्ने बताएका थिए ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .