ad ad

राजनीति


युवा प्रदर्शनका अगुवा भन्छन्ः ग्रुपमा झगडा भएको होइन, आन्दोलन सेलाउँदैन

युवा प्रदर्शनका अगुवा भन्छन्ः ग्रुपमा झगडा भएको होइन, आन्दोलन सेलाउँदैन

यज्ञराज जोशी
असार १, २०७७ सोमबार १२:३१,

कोरोना रोकथाममा सरकार चुकेको भन्दै केही दिनअघि राजधानीसहित देशका विभिन्न सहरमा चर्किएको आन्दोलन सेलाउन थालेको छ। यद्यपि आफूहरुको माग पूरा नभएकोले आन्दोलन जारी रहने प्रदर्शनकारी युवाहरुले बताएका छन्।

अघिल्लो हप्ता लकडाउनका बीच प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रमा सयौंको संख्यामा युवाहरु प्रदर्शनमा उत्रिएपछि सो आन्दोलनबारे व्यापक चर्चा भएको थियो।

पीसीआर विधिबाट परीक्षण बढाउनुपर्ने, कोरोना रोकथाम तथा नियन्त्रणमा भएका खर्च विवरण सार्वजनिक गर्नुपर्ने र क्वारेन्टिनहरु व्यवस्थित गर्नुपर्ने उनीहरुको मुख्य माग थियो।

बालुवाटार आन्दोलनपछि प्रदर्शनको आयोजक र नेतृत्वबारे सोधीखोजी हुन थाल्यो। त्यसपछि सो आन्दोलन ‘कोभिड १९ नेपालः इनफ इज इनफ’ नामक फेसबुक ग्रुपले आयोजना गरेको बताइयो।

सरकारले ८० दिनसम्म लकडाउन गरेर जनतालाई घरभित्रै थुनेको तर कोरोना रोकथाम, उपचार र नियन्त्रण गर्न नसकेकोले आक्रोशित युवाहरुले फेसबुक ग्रुप बनाएको उनीहरुको भनाइ थियो।

शनिबार उनीहरुको माइतीघरमा बृहत प्रदर्शन गर्ने कार्यक्रम तय भएको थियो। सो प्रदर्शनलाई उनीहरुले ‘ऐतिहासिक’ भन्दै प्रचार गरेका थिए। त्यही दिन प्रतिनिधिसभाबाट लिम्पुयाधुरासहितको नेपालको नयाँ नक्सा अनुमोदन हुने भएकाले ग्रुपमा आन्दोलन गर्न नहुने आवाज पनि उठ्न थाल्यो।

ग्रुपका एडमिन तथा मोडरेटर दूरी कायम राखेर प्रदर्शन गर्ने पक्षमा थिए। तर, थुप्रैले आन्दोलन गरे नयाँ नक्साको विरोध गरेको सन्देश जाने भन्दै माइतीघर प्रदर्शन स्थगित गर्नुपर्ने तर्क गरे। त्यसपछि ग्रुपमा आन्दोलन गर्ने र नगर्ने पक्षबीच बाझाबाझ पनि चल्यो। सत्ताा नजिककाले आन्दोलनको विरोधमा छद्म नामबाट पोस्ट गरेको आरोप समेत लाग्यो।

माइतीघरमा शनिबार युवाहरुले कस्तो र कत्रो प्रदर्शन गर्ने हुन् भन्ने सबैलाई चासो थियो। त्यसदिन उल्लेख्य संख्यामा युवाहरु उपस्थित नभएपनि उनीहरुले शान्तिपूर्ण प्रदर्शन गरे। त्यसपछि भने युवाहरुको आन्दोलन सेलाउँदै गएको देखिन थालेको छ।

तर, युवा आन्दोलनको अगुवामध्ये एक आलोक सुवेदी आफूहरुको माग पूरा नभएकाले अझै आन्दोलन हुने बताउँछन्।

‘माइतीघरमा जम्मा भएर गर्नेलाई मात्रै आन्दोलन भन्नु भएन। काठमाडौंमा पानी परिरहेकोले केही शान्त देखिएको हो,’ सुवेदीले भने, ‘यो स्वतन्त्र अभियान हो। विभिन्न ठाउँमा युवाहरुले आन्दोलन गरिरहेका छन। फेसबुक ग्रुपले सबैलाई जोडदिने काम मात्रै गरिरहेको छ।’

काठमाडौं उपत्यकामा सोमबार कुनै प्रदर्शन भएन। तर, दोलखा र बर्दियामा युवाहरुले शान्तिपूर्ण आन्दोलन गरेका थिए। यस्तै मंगलबार महाराजगञ्जको नारायणगोपाल चोक तथा झापाको मेचीनगरमा प्रदर्शनका कार्यक्रम तय भएका छन।

सरकारले शनिबार माइतीघरमा युवाहरुले प्रदर्शन गर्नुअघि उनीहरुको माग बमोजिम कोरोना रोकथाम, उपचार तथा नियन्त्रणमा भएको खर्च विवरण सार्वजनिक गरेको थियो। संघीय, प्रदेश र स्थानीय सरकारले गरेका खर्च विवरण सार्वजनिक भएपनि पारदर्शी रुपमा नआएकाले आन्दोलन जारी रहने सुवेदीले बताए।

‘परीक्षणको दायरा बढेको छैन। खर्च घोषणा भएपनि त्यो पारदर्शी देखिएको छैन। कुन शीर्षकमा कसरी खर्च भयो भन्ने खुलाएकै छैन। स्वास्थ्यकर्मीको सुरक्षाको विषयमा नयाँ कुरा केही छैन। विदेशबाट फर्केर आएका नागरिक र लकडाउनका कारण निम्न आय भएका मानिसहरुको व्यवस्थापनमा कुनै चासो दिइएको छैन,’ सुवेदीले भने, ‘माग पूरा भएको छैन। त्यसैले दबाब जारी रहन्छ।’

युवाहरुबीच विवादका कारण आन्दोलन कमजोर भएको आकलनका बीच सुवेदी भने त्यसलाई अस्वीकार गर्छन्। तर, यसैबीच ग्रुप एडमिन र मोडरेटरहरुलाई हटाइएको छ।

‘ग्रुपभित्र झगडा भएको छैन। बारम्बार व्यक्तिगत रुपमा आक्रमण हुन थालेपछि सबै जनाको गोपनीयता लुकाउन एडमिनबाट हटाइएको हो,’ यसअघि ग्रुपका एडमिन समेत रहेका सुवेदीले भने।

उनले विगतदेखि नै शन्तिपूर्ण आन्दोलन गर्दै आएकाले आगामी दिनमा पनि त्यहीअनुसार सिर्जनात्मक प्रदर्शन हुने बताए।

‘यो प्रदर्शन पार्टीले उर्दी जारी गरेजस्तो होइन। कसैले पनि यहाँ गर्नुपर्छ।,त्यहाँ गर्नुपर्छ भन्ने छैन,’ सुवेदीले भने, ‘युवाहरुलाई जहाँ सही लाग्छ, जसरी सही लाग्छ त्यसरी गरिरहनुभएको छ। शान्तिपूर्ण आन्दोलन हो। साथीहरुले सिर्जनात्मक अभियान जारी राखेका छन्। कलाकारहरुले पनि आफ्नो तरिकाले गर्दैछन्।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .