साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले संविधानमा लेखेर मात्रै विभेदको अन्त्य नहुने स्पष्ट भइसकेको बताएका छन्।
पश्चिम रुकुम चौरजहारी घटना सम्बन्धमा आइतबार माइतीघर मण्डलामा गरिएको विरोध प्रदर्शनलाई सम्बोधन गदै संयोजक मिश्रले संविधानमा लेख्दैमा र आन्दोलन गर्दैमा विभेद अन्त्य नहुने बताएका हुन्।
उनले विभेद अन्त्यका लागि गुणस्तरीय शिक्षा आवश्यक रहेको बताए। सरकारले विभेद भएका घटनाहरुमाथि छानबिन गरी दोषिलाई कारबाही गर्न र सधैँका लागि विभेद अन्त्य गर्ने विषयमा काम गर्न नसकेको बताए। संयोजक मिश्रले आफ्ना छोराछारीलाई लुकाएर, पढाएर दलितवर्गका छोराछोरीलाई गोलिी खुवाएर गरेको अन्दोलनले समेत विभेद अन्त्य गर्न नसेको बताए।
उनले भने, ‘संविधानमा लेखेर मात्रै विभेद अन्त्य नहुँदो रैछ भनेर हामीले थाहा पाइसक्यौं। आन्दोलन गरेर मात्रै विभेद अन्त्य नहुँदो रैछ भन्ने कुरा माओवादीहरुको सशस्त्र संघर्षबाट हामीले बुझिसक्यौं। उहाँहरुले तपाइहरुकै नाममा राजनीति गरेको होइन दशदश वर्ष? तपाईहरुलाई अग्रपंक्तिमा राखेर मर्न बाध्य तुल्याएको होइन? आफ्ना छोराछोरीलाई लुकाएर पढाएर तपाइँहरुका छोराछोरीलाई घिसारेर लगेर गोली खुवाएको हो कि होइन? त्यति हुँदाहुँदै आज यो स्थिति किन आयो?’
संयोजक मिश्रले गुणस्तरीय शिक्षासँगै मानिसहरुको सोचमा परिवर्तन र अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उपस्थित हुन सक्ने क्षमता विकास भएमात्रै दलितमाथि हुँदै आएको विभेद अन्त्य हुने बताए। यस्तै विभेद हुनुको दोष इतिहासलाई मात्र दिन नहुने उल्लेख गर्दै राजनीतिक नेतृत्वले यसको जिम्मेवारी लिनुपर्ने बताए।
संयुक्त राजनीतिक दलित संघर्ष समितिका व्यक्तिहरुले ‘म भेदभाव नहुने समाज चाहन्छु’, ‘आफू विभेद गर्दिन अरुको विभेद सहन्न’, ‘यो देश दलितको पनि हो’, र ‘मान्छे हुन के के चाहिन्छ?’ लेखिएका ब्यानरहरु लिएर प्रदर्शन गरेका थिए।

प्रतिक्रिया