सरकारले निजी प्रयोगशालालाई पनि कोरोना परीक्षण गर्न दिने निर्णय गरेसँगै अब देशभरका निजी प्रयोगशालाले पनि परीक्षण गर्न पाउने भएका छन्।
उनीहरुले सरकारले उपलब्ध गराएका नमूना मात्रै परीक्षण गर्न पाउने र एक नमूना परीक्षण बराबर ५ हजार ५ सय शूल्क पाउने भएका हुन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले आइतबार निजी प्रयोगशालालाई पनि परीक्षणको अनुमति दिने बताएका थिए।
‘अब आइन्दा आवश्यक प्रक्रिया पूरा गरी प्राइभेट ल्याबलाई पनि स्वाब नमूना जाँच्न दिने व्यवस्था गरिएको छ,’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता गौतमले भने, ‘यसको लागि लाग्ने खर्च नेपाल सरकार, स्वास्थ्य मन्त्रालयले व्यवस्था गरेको छ।’
प्रवक्ता गौतमले जिजी ल्याबलाई सरकारले उपलब्ध गराएका नमूनामात्रै जाँच गर्न दिने व्यवस्था मिलाइएको बताए। परीक्षण दायरा बढाउनलाई सरकारले यो व्यवस्था गरेको र प्रति नमूनावापत ल्याबले ५ हजार ५ सय शुल्क सरकारबाट पाउने उनले बताए।
‘निजी प्रयोगशालाले सरकारले उपलब्ध गराएका नमूनाको मात्रै जाँच गर्न पाउनेछन्’, नेपालखबरसँग कुरा गर्दै प्रवक्ता गौतमले भने, ‘परीक्षणको दायरा बढाउनका लागि यो व्यवस्था गरिएको हो।’
यसैगरी विदेश जानुपर्नेका लागि भिसा वा निरोगिताको प्रमाणपत्रका लागि आवश्यक पर्दा गरिने नमूना संकलन र परीक्षण वीर अस्पताल, शिक्षण अस्पताल र पाटन अस्पतालको ल्याबमा गरिने व्यवस्था मिलाइएको पनि गौतमले जानकारी दिए।
Shares

प्रतिक्रिया