समाजवादी पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता उपेन्द्र यादवले अन्य नीतिगत विवाद यथावत भए पनि राष्ट्रियताका विषयमा आफूहरु एकै ठाउँमा रहेको बताएका छन्।
शनिबार प्रतिनिधिसभामा नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७’ माथि प्रतिनिधिसभामा दफाबार छलफलमा अध्यक्ष यादवले राजपाको समाजवादी पार्टीको केन्द्रीय समिति र संसदीय दलले संशोधन प्रस्ताव परित गर्ने पक्षमा उभिने निर्णय गरेको बताए।
‘हाम्रो पार्टी र संसदीय दलले सर्वसम्मतिले गरेको छ, राष्ट्रियताका सवालमा हामी एकै ठाउँमा छौँ’, उनले भने, ‘अरु कुरामा विवाद होला, देशभक्ति र राष्ट्रवाद स्ट्रोङ छ।’
अध्यक्ष यादवले नयाँ नक्सासँगै भारतसँग गरिएको महाकाली सन्धि पनि सच्याउनुपर्ने बताए।
‘नेपाल–भारतको अधिकांश सीमांकन गर्ने कार्य सम्पन्न भएको छ। महाकाली र सुस्ताको विषय टुंगो लगाउन बाँकी रहेको छ’, उनले भने, ‘यी क्षेत्रमा विवाद रहेको कुरा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी २०७१ सालमा नेपाल आउँदा जारी गरिएको संयुक्त प्रेस वक्तव्यमा स्वीकार गरिएको छ।’
उनले सुगौली सन्धिभन्दा पछाडि हटेर महाकाली सन्धि गरिएको भन्दै महाकाली सन्धि गराउन भूमिका खेल्नेले माफी माग्नुपर्ने बताए।

प्रतिक्रिया