राजनीति


सचेतनापूर्वक लकडाउन खुकुलो बनाउन प्रधानमन्त्रीलाई विज्ञहरुको सुझाव

सचेतनापूर्वक लकडाउन खुकुलो बनाउन प्रधानमन्त्रीलाई विज्ञहरुको सुझाव

नेपालखबर
जेठ २१, २०७७ बुधबार १६:७,

विभिन्न क्षेत्रका विज्ञहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सचेतनापूर्वक लकडाउन खुकुलो पार्दै लैजान सुझाव दिएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार आयोजना गरिएको विभिन्न क्षेत्रका विज्ञहरुसँगको छलफलमा अहिलेको भन्दा फरक प्रकृतिको लकडाउन गर्नुपर्ने सुझाव प्रस्तुत गरिएको छ।

‘हामीले अहिलेको लकडाउनको मोडालिटी परिवर्तन गर्नुहोस् भनेर सुझाव दिएका छौं,’ बैठकमा सहभागी रहेका जनस्वास्थ्य वैज्ञानिक समीरमणि दीक्षितले भने, ‘तर लकडाउन खोल्दा त्यो सचेतनापूर्वक हुनुपर्छ भनेर भनेका छौं।’

तर बैठकमा कोरोना भाइरसले कस्तो अवस्था सिर्जना गर्छ भन्ने विषयमा विज्ञहरुको फरक फरक धारणा रहेको दीक्षितले बताए। छलफलमा क्वारेन्टिनको अवस्थामा सुधार गर्न र परीक्षणको दायरालाई बढाउन सुझाव दिइएको उनले जानकारी दिए।

करिब चार घण्टा चलेको बैठकमा विभिन्न विधाका २५ जना विज्ञहरुको सहभागिता थियो।

‘प्रधानमन्त्रीज्यूले आज आयोजना गर्नुभएको विभिन्न क्षेत्रका विज्ञहरुसँगको परामर्श बैठक सम्पन्न भएको छ। करिब चार घण्टासम्म भएको छलफल उपलब्धिमुलक र फलदायी भएको छ। बैठकमा विभिन्न क्षेत्रका विषयविज्ञहरुको सहभागिता रहेको थियो,’ बैठकपछि प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताए।

pm-meet-bigya_1.jpg

बैठकको शुरुमा प्रधानमन्त्री ओलीले फरक फरक क्षेत्रका विज्ञहरुको फरक फरक धारणा आएकाले एकीकृत धारणाका लागि बैठक राखेको बताएका थिए। उनले आगामी दिनमा पनि यस्तै छलफल कार्यक्रमको आयोजना गरेर अघि बढ्ने प्रतिवद्धता जनाएका थिए।

छलफलमा जनस्वास्थ्य विज्ञ, अर्थशास्त्री, योजनाकार, चिकित्सक, नर्सिङ, सामाजिक अभियन्ताको सहभागिता थियो। बैठकमा डा भगवान कोइराला, महेश मास्के, पिताम्बर शर्मा, स्वार्णिम वाग्ले, अरुणा उप्रेती, भरत प्रधान, समीरमणि दीक्षित लगायत विज्ञहरु सहभागी थिए।  

त्यसैगरी कोभिड–१९ रोकथाम, नियन्त्रण तथा उपचारसम्बन्धी उच्चस्तरीय समन्वय समितिका संयोजन तथा उपप्रधानमन्त्री इश्वर पोखरेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, स्वास्थ्य मन्त्रालयका सचिव लक्ष्मण अर्यालको पनि सहभागिता थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad