राजनीति


लद्दाखमा चिनियाँ सेनासँग मुकाबिला गर्दा गोर्खा सैनिकको आवाज: ‘गोद’, ‘हान’

लद्दाखमा चिनियाँ सेनासँग मुकाबिला गर्दा गोर्खा सैनिकको आवाज: ‘गोद’, ‘हान’

नेपालखबर
जेठ १९, २०७७ सोमबार १२:३६,

भारतले चीनसँग सीमा विवाद बढ्दै जाँदा निरन्तर झडप भइरहेको लद्दाख क्षेत्रमा गोर्खा सैनिक परिचालन गरेको छ।

सामाजिक सञ्जालमा भाइरल बनेको एक भिडियोमा ‘गोर्खा पल्टन’का सैनिकले नेपाली भाषामा चिनियाँ सैनिकलाई गाली गरेको प्रष्टसँग सुन्न सकिन्छ।

शनिबार सार्वजनिक भएको सो भिडियोमा चिनियाँ सेनाको एउटा गाडी भारतीय सेनाले निणन्त्रण गरेको देखिन्छ। गाडी नियन्त्रण गर्ने क्रममा गोर्खाली सेनाले ‘हान्’, ‘गोद्’ जस्ता नेपाली शब्द प्रयोग गरिरहेको सुनिन्छ।

भारतीय सेनाका अवकाश प्राप्त मेजर जनरल अशोक मेहताले चीनको सीमामा आइपीबीपी (इन्डो–तिब्बत बोर्डर पुलिस) मात्र परिचालन गर्ने नीति नभएको उल्लेख गर्दै चिनियाँ सीमामा गोर्खा पल्टन परिचालन गरिएको हुनसक्ने बताए। मेहताले लद्दाख क्षेत्रमा गोर्खा पल्टनको ब्यारेक भएको पनि खुलाए।

‘आवश्यक परेमा गोर्खा पल्टन लद्दाख र कस्मिरमा मात्र होइन, नागाल्यान्ड र पञ्जाबसहित अन्य कुनै पनि सीमामा भारतले परिचालन गर्न सक्छ,’ उनले भने, ‘गोर्खा पल्टन भारतको मुख्य लडाकु दस्ता हो।’

गोर्खा पल्टनको पूर्व कमान्डर तथा नेपाल मामिलाका जानकार समेत रहेका मेहताले थपे, ‘चीन र भारतबीच भर्खरै सीमा विवाद भएको लद्दाखको पाङ्गोङ ताल र गलवान घाटी आसपासमा गोर्खा पल्टन परिचालन भएको हुनसक्छ।’

गएको २६ दिनदेखि लद्दाख क्षेत्रमा भारतीय र चिनियाँ सेनाबीच तनाव चलिरहेको छ। दुई सेनाबीच अनेकौँ पटक झडप भएका छन्। झडपका क्रममा चिनियाँ सेनाले कयौँ भारतीय सैनिकलाई नियन्त्रणमा लिएको तस्बिर पनि भाइरल बनेको छ।

तर, भारतीय सेनाले यी तस्बिर र भिडियो आधिकारिक नभएको बताएको छ। यद्यपि भारतीय गृहमन्त्री अमित शाह र रक्षामन्त्री राजनाथ सिंह दुवैले चीनसँगको सीमामा उत्पन्न समस्या समाधान गर्न कुटनीतिक र सैन्य पहल भइरहेको बताएका छन्।

चीनसँग तनाव बढ्दै गएपछि भारतले कस्मिर क्षेत्रबाट कयौँ ट्रक सैनिक, हतियार र बन्दोबस्तीको सामान लद्दाख क्षेत्रमा ओसारिरहेको छ।

वैशाखको अन्तिम साता सिक्किमको नाथुला क्षेत्रमा चिनियाँ र भारतीय सेनाबीच ढुंगा हानाहान हुँदा दुवै पक्षका करिब एक दर्जन सेना घाइते भएका थिए।

छिमेकी चीन र पाकिस्तानसँग हुने गरेका सैन्य तनावका बेला भारतले गोर्खा पल्टनलाई ‘फ्रन्ट लाइन’मा परिचालन गर्ने गरेको छ।

सन् १९६२ मा गोर्खाली पल्टनले भारतको पक्षबाट चीनसँग युद्ध लडेको थियो। भुटान र चीनको सीमानजिकै दोक्लममा सन् २०१७ मा चिनियाँ र भारतीय सेना ७३ दिनसम्म आमनेसामने हुँदा पनि भारतले गोर्खा पल्टन परिचालन गरेको थियो।

भारतीय सेनामा ७ वटा रेजिमेन्टका ३९ बटालियन गोर्खा सैनिक छन्। हालै कालापानी, लिपुलेक, लिम्पियाधुराका विषयमा भारतीय सेनापति एमएम नरवणेले नेपालबारे आपत्तिजनक अभिव्यक्ति दिएपछि उनले ती गोर्खा सैनिकको अपमान गरेको भन्दै भारतमा समेत विरोध भएको थियो। नरवणेले चीनतर्फ इसारा गर्दै नेपालले अरु कसैको आदेशमा सीमा विवाद झिकेको आरोप लगाएका थिए।

सीमामा झडप हुन थालेपछि चीन र भारत दुवैले सैन्य उपस्थिति बढाउन थालेको चिनियाँ र भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

अक्साई–चीन क्षेत्रमा चीन र भारतबीचको विवादास्पद सीमालाई ‘लाइन अफ एक्चुअल कन्ट्रोल’(एलसीसी)बाट छुट्टाइएको छ।

भारतले ५ अगस्ट २०१९ मा जम्मु–कस्मिर र लद्दाखलाई छुट्टाएर नयाँ नक्सा जारी गरेको थियो। सो नक्सामा भारतले आफ्नो भूमिलाई समावेश गरेको भन्दै चीनले विरोध गर्दै आइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad