नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले जेनजी युवाको भावनालाई आत्मसात गरेर मुलुकलाई सही दिशमा अगाडि बढाउने बताएका छन्।
शुक्रबार एमाले केन्द्रीय प्रचार तथा प्रकाशन भिवागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले एमाले आफूलाई अद्यावधिक गर्ने सामर्थ्य राख्ने पार्टी भएको बताए। ‘हामी नवयुवाहरूको भावनालाई आत्मसात् गरेर मुलुकलाई सही दिशातर्फ अगाडि बढाउनका लागि प्रतिबद्ध छौँ,’ पोखरेलले भने।
आजका चुनौतीलाई सामान गर्न प्रविधिलाई पनि अगाडि बढाइरहेको बताएका छन्। ‘आजका चुनौतीहरूलाई सामना गर्नका लागि नयाँ पुस्तासँग हातेमालो गर्न तयार छ,’ उनले भने, ‘हामी प्रविधिलाई त्यही हिसाबले अगाडि बढाइरहेका छौँ।’
अहिलेको सयममा सूचना प्रविधिको प्रयोग महत्त्वपूर्ण भएको उनले बताए। ‘एआईको विकासले मानव जीवनमा पार्न सक्ने प्रभावहरूका सन्दर्भमा र उत्पादन पद्धति र उत्पादन सम्बन्धमा पार्ने प्रभावका सन्दर्भमा विश्वव्यापी रूपमा विमर्श भइरहेकै समयमा हामी त्यसबाट अलग भएर पनि बस्न सक्दैनौँ,’ उनले भने।
तर, प्रविधिको प्रयोग खराब मान्छेको हातमा जाँदा भने दुरुपयोगको जोखिम हुने उनको भनाइ थियो। उनले गत भदौको जेनजी आन्दोलनलाई उदाहरणका रुपमा प्रस्तुत गरे।
‘भदौ २३ र २४ को घटना, फागुन २१ को निर्वाचन, यी सबै सन्दर्भलाई जोडेर हेर्ने हो भने हाम्रो समाज सही प्रकारका मूल्य र मान्यताहरूलाई स्थापित गर्ने कुराका सन्दर्भमा सूचना प्रविधि आफैँमा एउटा चुनौती बनिरहेको छ,’ पोखरेलले भने, ‘त्यसलाई सही ढङ्गले प्रयोग गर्न सकिएन भने खराब मान्छेहरूको हातमा त्यसको दुरुपयोग हुने खतरा पनि त्यत्तिकै रहँदोरहेछ।’
Shares

प्रतिक्रिया