राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र प्रधानमन्त्री वालेन्द्र शाहबिच गत आइतबार लामो छलफल पनि मुख्य दुई विषयमा उनीहरूबिच सहमति हुन नसकेको खुलासा भएको छ। रवि र बालेननिकट नेताहरूका अनुसार मन्त्री फेरबदल र पदाधिकारीका विषय टुंगो लाग्न नसकेको हो।
पदाधिकारी, सचिवालय र केन्द्रीय सदस्यमा मनोनीत गर्ने नामबारे निर्णय गर्न र सरकारको कामकारबाहीको समीक्षा गर्न असार २८ गते बिहान साढे ११ बजेदेखि चार घण्टा दुई जनाले कुराकानी गरेका थिए। तर, कुनै निर्णयमा नपुगेको प्रधानमन्त्री बालेनको सचिवालयका एक सदस्यले जानकारी दिए।
‘केही मन्त्री फेर्ने कि भनेर पीएमले भन्नुभएछ, त्यसमा सभापतिजीले अब्जेक्सन जनाउनुभएछ,’ उनी भन्छन्।
उनका अनुसार केही मन्त्रीको कार्यसम्पादन बालेनलाई चित्त बुझेको छैन। त्यही भएर मन्त्री फेरबदल गरेर जानुपर्ने निचोड निकालेर बालेन रविसँग छलफल गर्न उनको घरमै पुगेका थिए।
‘केही मन्त्रीको कार्यसम्पादन सोचेअनुसार भएन फेरेर जाऊँ भनेर पीएमले भन्नुभएछ, तर सभापतिजीले पीएमकै सचिवालयमा रहनुभएका केही व्यक्ति हटाउन भन्नुभएछ। यसमा जुन हिसाबले सहमति जुट्छ भन्ने थियो, जुटेन,’ बालेनका सचिवालयका ती सदस्यले थपे।
रवि र बालेन दुवैले केही व्यक्तिप्रति असन्तुष्टि जनाएर हटाउन खोजेको र त्यो प्रस्तावकै रुपमा प्रस्तुत भएको उनी बताउँछन्। तर, उनले तिनको नाम भने लिन मानेनन्।
‘मन्त्रिपरिषद् सदस्य र पीएम सचिवालयका सदस्य हटाउने विषय छलफलमा उठेपछि अरु विषय छायामा परेको जस्तो बुझियो,’ उनी भन्छन्।
रविनिकट एक नेताले सरकार पार्टीको वाचापत्रअनुसार चल्ने बताए।
‘स्पष्ट के हो भने पाँच वर्ष रास्वपाको सरकार निरन्तर रहन्छ, केही मन्त्रीहरू कार्यसम्पादनका आधारमा फेरबदल हुनसक्छ। सरकार चाहिँ रास्वपाको वाचाबाट परिवर्तन हुँदैन,’ उनले भने, ‘सरकारको नेतृत्वको कुरा अहिले भन्न सक्ने स्थिति छैन।’
उनले चार घण्टा भेटवार्तामा पनि सरकारको कामको गतिलाई तीव्रता दिने, बजारमा चलेका हल्लालाई न्यूनीकरण गर्ने विषयमै कुरा भएको दाबी गरे।
‘सय दिन पूरा भइसकेपछि सरकारविरुद्ध आवाज उठ्न थाल्यो, यसरी कुरा उठ्न दिनु भएन भनेर सभापतिजीले भन्नुभएको जानकारी पाएका छौँ,’ ती नेताले थपे।
सभापति लामिछानेले बालेनसँगको भेटमा सुकुमवासी समस्याको समाधानको लागि प्रभावकारी कदम चाल्ने र आम नागरिकलाई दुःख नदिने विषयमा छलफल भएको बताए। सो भेटको भोलिपल्ट रविले पनि सौहार्द्रपूर्ण छलफल भएको बताएका थिए।
उनीहरूबिच छलफलको अर्को विषय पार्टी पदाधिकारी मनोनयन हो। रास्वपाको असार ७–१२ सम्म चितवनमा प्रथम महाधिवेशन भएर लामिछानेको नेतृत्वमा ६ जना पदाधिकारीसहित ९९ जना केन्द्रीय सदस्य चुनिएका छन्।
अब सभापतिले वरिष्ठ नेतासहित एक उपसभापति, एक महामन्त्री, २ सहमहामन्त्री, १ प्रवक्ता, ३ सहप्रवक्ता, एक कोषाध्यक्ष र २ सहकोषाध्यक्ष मनोनीत गर्न बाँकी छ। यस्तै, ३१ सदस्यीय सचिवालय र ५१ जना सदस्य पनि लामिछानेले नै मनोनीत गर्ने पद हो। बालेनलाई रास्वपाको वरिष्ठ नेता बनाउने समझदारी भइसकेको छ।
तर, कुनै निर्णय भइनसकेको निवर्तमान महामन्त्री भूपदेव शाह बताउँछन्।
‘पदाधिकारी, सचिवालय र केन्द्रीय समितिमा मनोनीत गर्ने भनिएको थियो। तर शीर्षस्थ नेताको अस्तिको बैठकमा टुंगिएनछ, टुंगिएको भए हामीलाई केही सूचना आउँथ्यो होला। अहिलेसम्म केही सूचना प्राप्त भएको छैन,’ शाहले भने।
रास्वपा महामन्त्री विपिन आचार्यले सभापति र प्रधानमन्त्रीको छलफलमा सत्ता सञ्चालनका बहुआयामिक पक्ष र पार्टी सञ्चालनका बहुआयामिक पक्षकै विषय उठेको बताए।
‘दुई नेताबिच के सही भए, केलाई सुधार्नुपर्छ, कसरी अगाडि बढ्ने भन्ने विषयमा गफ हुने नै भयो,’ उनले भने, ‘सरकार, मन्त्री सबैजना सही बाटोमा हुनुहुन्छ। सिक्ने र सिकाउने प्रक्रिया स्वाभाविक हो। जम्मा सय दिन त भएको छ। यो जजमेन्ट गर्ने समय होइन।’
पदाधिकारी मनोनयनका विषयमा तयारी गर्नुपर्ने उनको भनाइ छ।
‘यो बढी गम्भीर हुने विषय हो। समावेशिता, समायोजनको स्पिरिट समेट्नुपर्यो। यसका लागि केही समय लाग्नु स्वाभाविक पनि हो,’ आचार्यले थपे, ‘पार्टीका दुई शीर्ष नेताको बिचमा कहिले गर्ने? को को ल्याउने? के के गर्ने ? भन्ने कुरा पक्कै भए होला।’
सरकारको गति बढाउने विषयमा सभापतिको पूरै सहयोग र साथ रहेको महामन्त्री आचार्यको भनाइ छ।
‘रास्वपाकै सरकार हो। परिस्थिति अनुसार काम गर्ने हो। सपोर्ट गर्ने हो,’ उनी थप्छन्, ‘पार्टीले कुनै बेला आफैँ काम गरोस् भनेर छोडिदिन्छ, कुनैबेला सहयोगी हात बढाउँछ। त्यो त समय अनुसार तय हुने हो।’
Shares

प्रतिक्रिया