राजनीति


कोलम्बोमा सुरु भयो ‘ह्यान्ड्स अफ एसिया’ सम्मेलन

प्रचण्डद्वारा क्षेत्रिय सन्तुलन र समाजवाद निर्माणमा जोड
कोलम्बोमा सुरु भयो ‘ह्यान्ड्स अफ एसिया’ सम्मेलन

नेपालखबर
साउन १, २०८३ शुक्रबार १०:३२, काठमाडौँ

इन्टरनेशनल पिपुल्स एसेम्बली (आईपीए) को आयोजनामा तीन दिने  ‘ह्यान्ड्स अफ एसिया’ अन्तर्राष्ट्रिय सम्मेलन श्रीलंकाको कोलम्वोमा सुरु भएको छ। 

सम्मेलनको उद्घाटन सत्रलाई प्रमुख वक्ताका रूपमा सम्बोधन गर्दै नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एसियाका कम्युनिस्ट आन्दोलनका ऐतिहासिक विजय र यस क्रममा सिकिएका कठिन पाठहरूमाथि चर्चा गरेका छन्।

बदलिँदो वैश्विक परिदृश्य र महाशक्तिहरूको तीव्र दबाबका बीच पनि असंलग्नताको नीति र समाजवादी निर्माण आजको दिनमा उत्पीडित राष्ट्रहरूका लागि सबैभन्दा महत्त्वपूर्ण लक्ष्य (क्षितिज) का रूपमा रहेको उल्लेख गर्दै उनले यसको राजनीतिक रूपरेखा प्रस्तुत गरेका उनको सचिवालयले जनाएको छ। 

सम्मेलनमा श्रीलंकाका क्याबिनेट वातावरण मन्त्री डा. दम्मिका पाताबेन्दीले अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को ऋणदाता कार्यक्रमको कठोर अनुशासन र सर्तहरूको सामना गर्दै कसरी जनपक्षीय मार्ग पहिल्याउन सकिने बताए। 

कार्यक्रममा विश्वविख्यात मार्क्सवादी  लेखक, इतिहासकार एवं ट्राइकोन्टिनेन्टलस् इन्स्टिच्युट फर सोसल रिसर्चका कोर्डिनेटर विजय प्रसादले विश्वभर विस्तार भइरहेको सैन्यीकरण, सार्वभौम ऋणको संकट, र उग्र दक्षिणपन्थको उदयलाई आपसमा जोड्दै यी सबै घटनाक्रमहरू छटपटाइरहेको एउटै साम्राज्यवादी संरचनाका लक्षणहरू भएको भन्दै विस्तृत विश्वव्यापी परिवेशको चित्रण गरे।

तीन दिनसम्म चल्ने यस सेमिनारमा विभिन्न विषयगत राजनीतिक मुद्दाहरूमा छलफल हुनेछन्। 

सम्मेलनकै सिलसिलामा प्रचण्डले एसियाका विभिन्न कम्युनिस्ट तथा वामपन्थी नेताहरूसँग द्विपक्षीय र बहुपक्षीय भेटघाट गर्ने तालिका रहेको उनको सचिवालयले जनाएको छ। 

यसैबीच, सम्मेलनको साइडलाईनमा उनले ल्याटिन अमेरिकी देशहरू क्युबा, भेनेजुएला र ब्राजिल लगायतका देशबाट आएका शीर्ष वामपन्थी नेताहरूसँग महत्त्वपूर्ण भेटवार्ता गरेका छन्।

सम्मेलनको दोस्रो सत्रमा नेपाली कम्युनिस्ट पार्टीका नेता बलराम बास्कोटाले इन्टरनेशनल पिपुल्स एसेम्बली (आईपीए) का तर्फबाट ‘वामपन्थी शक्तिहरूबीचको विभाजनमा साम्राज्यवादको भूमिका’विषयमा आफ्ना धारणा राख्ने कार्यक्रम छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad