नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले झूटलाई पनि सत्यका रुपमा प्रचार गर्ने ‘महागोयबल्स’ शैली चलिरहेको टिप्पणी गरेका छन्।
शुक्रबार ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा एमालेको वेबसाइट तथा एपको नवीन संस्करण सार्वजनिक गर्दै अध्यक्ष ओलीले झूटलाई पत्याउने बानी पर्न थालेको जिकिर गरेका हुन्। उनले समाजनै झुटमा रमाउन थालेको हो कि भन्ने आशंका लागेको बताएका छन्।
यसलाई उनले गोयबल्स शैलीसँग तुलना गरेका छन्। जर्मनीमा हिटलर सत्तामा आएपछि पल जोसेप गोयबल्स प्रचारमन्त्री बनेका थिए। उनी झूटलाई पनि बारम्बार र निरन्तर दोहोर्याएपछि जनताले सत्य जस्तै ठान्छन् भन्ने सिद्धान्तमा विश्वास गर्थे। त्यसरी नै झूटलाई सत्य जसरी नै प्रचार गर्थे। पछि उनको नामबाटै ‘गोयबल्स’ शैली नामकरण गरिएको थियो।
ओलीले अहिले त्योभन्दा पनि बढी झूटलाई सत्यका रुपमा प्रचार गरिन थालेको जिकिर गरेका हुन्। त्यसलाई उनले ‘महागोयबल्स’ शैली भनेका छन्।
‘हाम्रोसामु एउटा अत्यन्तै नयाँ परिस्थिति सिर्जना भएको छ,’ कार्यक्रम ओलीले भने, ‘कालोलाई सेतो, सेतोलाई कालो। राम्रोलाई नराम्रो, नराम्रोलाई राम्रो। सुल्टोलाई उल्टो, उल्टोलाई सुल्टो गरिदिने र त्यसैलाई मानिसले पत्याउनेलाई गोयबल्स शैली भन्छन्, अहिले त गोयबल्सभन्दा पनि महागोयबल्स शैली चलेको छ।’
अहिले समाज नै सत्य बोल्न छोडेको जस्तो भान भइरहेको बताए। ‘यस्तो लाग्छ, यो समाज नै झूटमा रमाउन थालेको हो कि! समाज नै सत्य बोल्नै छोड्या हो कि! सोझा बन्नै छोडेको हो कि!,’ ओलीले थपे, ‘यस्तो खालको परिस्थित देखा पर्न थालेको छ।’
यसबाट समाजलाई सही दिशामा डोर्याउन सूचना प्रविधिको सदुपयोग गर्नुपर्नेमा उनले जोड दिए।
एमालेको आधिकारिक वेबसाइट तथा मोबाइल एपको नवीन संस्करणको उद्घाटन गर्दै अध्यक्ष ओलीले डिजिटल प्रविधिको प्रभावकारी उपयोगमा जोड दिएका छन्। एमाले संगठनलाई अझ सुदृढ, आधुनिक र जनमुखी बनाउने दिशामा महत्त्वपूर्ण कदम भएको उनको भनाइ छ।
Shares

प्रतिक्रिया