कारोबार


प्रधानमन्त्री बालेनसँग एडीबी अध्यक्षको भेट: नेपाललाई एडीबीको सहयोग साढे ३ खर्ब पुग्ने

प्रधानमन्त्री बालेनसँग एडीबी अध्यक्षको भेट: नेपाललाई एडीबीको सहयोग साढे ३ खर्ब पुग्ने

नेपालखबर
असार २३, २०८३ मंगलबार १३:२२, काठमाडौँ

नेपालको आर्थिक रूपान्तरण, रोजगारी सिर्जना तथा लगानी प्रवर्द्धनका लागि आगामी ३ वर्षभित्र एसियाली विकास बैंक (एडीबीले)ले गर्ने सहयोग साढे ३ खर्ब रुपैयाँ पुर्‌याउने भएको छ।

प्रधानमन्त्री बालेनसँगको भेटलगत्तै एडीबी अध्यक्ष मासातो कान्दाले सन् २०२९ सम्म थप २.४ अर्ब अमेरिकी डलर सहयोग उपलब्ध गराउने बताएका हुन्। 

अध्यक्ष कान्दाले सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिएका हुन्। कान्दाले प्रधानमन्त्रीलाई प्राप्त भएको बलियो जनादेशका लागि बधाई दिँदै नेपालको विकास र आर्थिक सुधारका कार्यक्रमलाई बैंकको पूर्ण साथ रहने बताएका छन्।

उनले नेपालको आर्थिक रूपान्तरण, रोजगारी सिर्जना र लगानी विस्तारका लागि सरकारले अघि सारेका महत्वाकांक्षी सुधार कार्यक्रमलाई एडीबीले प्राथमिकताका साथ सहयोग गर्ने उल्लेख गरेका छन्। साथै, एडीबीले नेपालका लागि सबैभन्दा ठूलो विकास साझेदारका रूपमा थप सक्रिय हुने उनको भनाइ छ। 

उक्त सहयोगले सरकारको विकास दृष्टिलाई व्यवहारमा उतार्न तथा आर्थिक वृद्धि, पूर्वाधार विकास र जनताको जीवनस्तर सुधारमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

एडीबीले नेपालसँग ६ दशक लामो सहकार्य भएको भन्दै उनले खुशी व्यक्त गरेका थिए। यस अवधिमा सुरक्षित विद्यालय निर्माण, स्वच्छ ऊर्जा विकास, पूर्वाधार विस्तार तथा नागरिकका लागि अवसर सिर्जनालगायतका क्षेत्रमा उल्लेखनीय योगदान दिएको कान्दाले उल्लेख गरेका छन्।

अध्यक्ष कान्दाले आगामी दिनमा पनि प्रधानमन्त्री तथा नेपाल सरकारसँग नजिकबाट सहकार्य गर्दै नेपाली जनताका लागि ठोस, दिगो र परिणाममुखी विकास उपलब्धि हासिल गर्न प्रतिबद्ध रहेको बताएका छन्।

उनी आइतबार राति नेपाल आएका थिए। नेपालमा उनले अर्थमन्त्री डा स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसँग समेत भेटवार्ता गरिसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad