सांसद्ले लगाउने लोगो (प्रतीक) पनि नयाँ नक्शाअनुसार परिवर्तन गरिने भएको छ।
आइतबार सिंहदरबारस्थित राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकक्षमा बसेको राष्ट्रिय सभा कार्यव्यबस्था परामर्श समितिको बैठकले सो निर्णय गरेको हो।
‘नेपालको नक्शा अध्यावधिक भएको सन्दर्भमा संघीय संसदको लोगो (प्रतीक) र राष्ट्रिय सभाका सदस्यले प्रयोग गर्दै आएको प्रतीकलाई अध्यावधिक नक्साअनुसार परिमार्जन गर्ने निर्णय भएको छ,’ सो बैठक लगत्तै राष्ट्रिय सभा सचिवालयले जनाएको छ, ‘साथै संघीय संसदका दुबै सदनमा सांसदले प्रयोग गर्दै आएको लोगोमा एकरुपता ल्याउने र त्यसका लागि प्रतिनिधि सभालाई अनुरोध गर्ने।’
राष्ट्रिय सभा नियमावली २०७५ को नियम २२१ बमोजिम सदस्यको पोशाक र संघीय संसदको प्रतीक कार्यव्यवस्था परामर्श समितिको परामर्शमा अध्यक्षले तोके बमोजिम हुने व्यवस्था रहेअनुसार सो निर्णय गरिएको अध्यक्षको सचिवालयले जनाएको छ।
कार्यव्यवस्थाको बैठकले जेठ १२ गतेका लागि तोकिएको राष्ट्रिय सभा बैठक सो दिन मुस्लिम समुदायको महान पर्व ईदुल फित्र परेको र सो अवसरमा नेपाल सरकारले सार्वजनिक बिदा घोषणा गरेको हुनाले नियमावलीअनुसार सूचना टाँस गरी जेठ १३ गते ११ बजेका लागि बैठक तोक्ने निर्णय पनि गरेको छ।
प्रतिक्रिया