नेकपा (एमाले) ले प्रतिनिधि सभा नियमावलीको प्रस्तावित मस्यौदामा सत्तापक्षले संविधानको भावना विपरितका प्रावधानहरू राखेर जालझेल गरेको आरोप लगाएको छ।
एमाले संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रमुख सचेतक ऐनबहादुर महरले नियमावलीको नियम, १४० मा उल्लेखित संविधान संशोधनसम्बन्धी व्यवस्थामा सत्तापक्षले ‘चिटिङ’ गरेको बताए। आइतबार बस्ने प्रतिनिधि सभा बैठकमा नियमावली प्रस्तुत गर्ने कार्यसूची रहेको सन्दर्भमा प्रमुख सचेतक महरले मस्यौदा समितिमा भएको सहमतिलाई सत्तापक्षले उल्ट्याएको बताए।
‘नियम १४० मा जुन संविधान संशोधनको विषय छ, त्यो विषयमा केही ट्विस्ट गरेर केही चिटिङ गरेर सत्तापक्षले प्रस्तुत गरेको छ,’ महरले भने, ‘मस्यौदा समितिमा म आफैँ पनि थिएँ। त्यहाँ त्यस विषयमा बहस भएको थिएन। त्यसमा संविधान र मौजुदा नियमावलीमा भएको व्यवस्थालाई नै मिलाएर लैजाने भन्नेकुरा थियो तर पछि त्यो ड्राफ्ट गर्दा र त्यो हाउँसमा प्रस्तुत गर्दा त्यसलाई सच्याउने काम भएछ।’
मस्यौदा समितिमा संविधान र मौजुदा नियमावलीकै व्यवस्थालाई मिलाएर लैजाने सहमति भएको थियो। तर सदनमा प्रस्तुत गरिने ड्राफ्टमा भने फरक विषय समेटिएको उनको भनाइ छ।
विशेष गरेर दुवै सदनको दुई तिहाइ बहुमतले संविधान संशोधन गर्नसक्ने भन्ने विषयवस्तु राख्न खोजेको जस्तो पाइएको उनले बताए। ‘त्यो संविधान विरोधी छ। त्यो चिटिङ हो। त्यो सर्वथा बेठिक छ र त्यसको प्रतिरोध गर्ने भन्ने छ,’ उनले भने।
त्यससँगै एमाले बैठकमा जेनजी आन्दोलनबारे राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदनमाथि पनि छलफल भएको छ। यसमा केही पक्षहरू राम्रा भए पनि समग्रमा पार्टीले धारणा बनाउने उनको भनाइ छ। ‘पार्टीको दृष्टिकोण आइसकेपछि त्यसलाई संसदीय दलले पनि पार्टीको दृष्टिकोणलाई बोक्ने भन्ने कुरा छ। यिनै विषयमा हाम्रो छलफल भयो,’ महरले भने।
Shares

प्रतिक्रिया