राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का पूर्वउपाध्यक्ष रविन्द्र मिश्रले गणतन्त्र दिवसको अवसरमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक प्रचण्डलाई जोडेर राजनीतिक दलका नेता र व्यवस्थाप्रति व्यंग्य गरेका छन्।
शुक्रबार बिहान सामाजिक सञ्जालमा उनले पछिल्लो समय प्रचण्डको राजनीतिक ओझ घटेपनि उनले आफ्नो सिद्धान्तमा सबैलाई हिँडाउन सकेको भन्दै प्रचण्डको ‘प्रशंसा’ गरेका छन्।
गणतन्त्र दिवसलाई ‘प्रचण्डतन्त्र दिवस’को उपमा दिँदै मिश्रले सामाजिक सञ्जालमा लेखेका छन्, ‘प्रचण्डतन्त्र दिवसको शुभकामना! प्रचण्ड - 'प्रचण्ड युग'का नायक, 'प्रचण्डतन्त्र'का पिता हुन्। आज जेठ १५ गते -- प्रचण्डतन्त्र दिवसको सबै प्रचण्डवादीहरूलाई हार्दिक मंगलमय शुभकामना!’
उनले प्रचण्डलाई असाधारण क्षमता भएको नेता पनि भनेका छन्।
‘तपाईँ असाधारण हुनुहुँदोरहेछ- प्रचण्डजी! बालेनजीभन्दा पनि असाधारण! तपाईँ आफू फुल्नु भयो, झर्नुभयो; रूनु भयो, रूवाउनु भयो; मार्नु भयो, मराउनु भयो; खुम्चिएर मरिच हुनुभयो,’ उनले अगाडि लेखेका छन्, ‘तर तपाईँले संसारमैँ अपवाद बनेका प्रधानमन्त्री बालेनदेखि, रवी लामेछाने र स्वर्णीम वाग्लेसम्म, गिरिजाप्रसाद कोइरालादेखि शेरबहादुर देउवा र डा.शेखर कोइरालासम्म, केपी ओलीदेखि माधव नेपाल र झलनाथ खनालसम्म, गगन थापादेखि विश्वप्रकाश शर्मा र प्रदिप पौडेलसम्म, देशका नामुद पत्रकारदेखि नागरिक समाजका अगुवा र पेशाकर्मीसम्म, सबैलाई प्रचण्डवादी बनाइदिनु भयो।’
तर बालेनसँगै ओली, रवि, गननसहित कसैले पनि प्रचण्डलाई त्यसको श्रेय नदिएका उनकाे दावी छ।
‘ती तपाईँलाई श्रेय दिन चाहाँदैनन्, किनभने तिनको मुटु सानो छ। त्यसैले ती आफैँ श्रेय लिन चाहन्छन्। तर तिनले जति बल गरे पनि तथ्य के हो भने ती सबैको अनुहारमा प्रचण्डको लेप लागेको छ।’
मिश्रले अगाडि लेखेका छन्, ‘मजस्ता भिन्न मत राख्ने मान्छेसँग चाहिँ नरिसाउनु होला है। प्रचण्डतन्त्र दिवस, "इतिहास् रहोस्, अमर नरहोस्" भन्छु, माइण्ड नगर्नोस् है। फेरि एकपटक प्रचण्डवादीहरूलाई प्रचण्डतन्त्र दिवसको हार्दिक मंगलमय शुभकामना!’

Shares

प्रतिक्रिया