नेपाल बार एसोसिएसनका अध्यक्ष प्रा.डा. विजयप्रसाद मिश्रले सरकारविरुद्ध केही बोल्दा पनि झोले भन्ने गलत प्रवृति विकास भएको बताएका छन्।
काठमाडौँमा आयोजित ‘मानसिक सु–स्वास्थ्य र तनाव व्यवस्थापन’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै अध्यक्ष मिश्रले गोलाप्रथाबाट पेसी तोक्ने प्रणाली हटाउने तयारीप्रति आपत्ति जनाए। उनले गोलाप्रथामार्फत पेसी तोक्नुको सट्टा प्रधानन्यायाधीश स्वयंले पेसी तोक्ने प्रणालीले न्यायपालिकालाई राजनीतिक प्रभावतर्फ धकेल्ने चेतावनी दिए।
सर्वोच्च अदालतमा लागू गरिएको गोलाप्रथा प्रणाली हटाए सशक्त आन्दोलन गर्ने उनले चेतावनी दिए। ‘अहिले सर्वोच्च अदालतमा गोलाप्रथा प्रणाली हटाउने भन्ने कुरा आइरहेको छ। यदि त्यो हटायो भने के आन्दोलन गर्ने भन्ने अर्को एन्जाइटी छ,’ उनले भने।
त्यस्तै, प्रधानन्यायाधीश नियुक्ति प्रक्रियामाथि प्रश्न उठाउँदै संवैधानिक परिषद्मार्फत प्रधानमन्त्रीलाई मन पर्ने व्यक्तिलाई नियुक्ति गर्ने अभ्यासको थालनि गरिएको टिप्पणी गरे।
‘अब प्रधानन्यायाधीश हुनको लागि पनि त्याग तपस्या गर्नुपर्दैन। संवैधानिक परिषद्मा प्रधानमन्त्रीलाई जे मन लाग्यो त्यसैलाई राख्ने गर्ने अभ्यास थालियो,’ उनले प्रश्न गरे, ‘प्रधानमन्त्रीलाई मन पर्ने व्यक्तित्व भयो भने प्रधानन्यायाधीश हुन पाउने प्रवृत्ति विकास भएको हो कि? यसलाई स्वीकार गर्ने कि हटाउने?’
सरकारको आलोचना गर्ने व्यक्तिलाई ‘झोले’को ट्याग भिराउन हजारौँ व्यक्ति परिचालन गर्ने गरिएको उनको भनाइ थियो। ‘सरकारविरुद्ध केही बोल्यो कि यो झोले हो भनेर दश हजार मान्छे परिचालन गर्छ अहिले,’ उनले भने।
अहिले न्यायपालिकाले गम्भीर परिस्थितिको सामना गरिरहेको उल्लेख गर्दै यस्तो परिस्थितिमा कानुन व्यवसायीले विवेक गुमाउन नहुने उनले बताए। मिश्रले भने, ‘यो बेलामा पनि हामीले विवेक गुमाउनु त भएन। यो समयमा पनि हाम्रा श्रीमानहरूलाई बलियो बनाउने वकिलहरूले नै हो।’
Shares

प्रतिक्रिया