नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद गणेश विश्वकर्माले आगामी दशकलाई दलित अधिकार दशक घोषणा गर्न माग गरेका छन्।
मंगलबार प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकताबारेको छलफलमा बोल्दै सांसद विश्वकर्माले सरकारको ध्यानाकर्षण गराएका हुन्। ‘आगामी दशकलाई दलित अधिकार दशक घोषणा गरौँ,’ सांसद विश्वकर्माले भने।
उनले आर्थिक रुपान्तरणका लागि काम गर्नुपर्ने बताए। तर, अहिले सरकारले ल्याएको बजेटका सिद्धान्त र प्राथमिकतमा आर्थिक रुपमान्तरणको खाका नभएको बताएका छन्।
उनले सुदूरपश्चिम प्रदेशको पहाडमा अत्यधिक गरिबी रहेको र त्यसका लागि विशेष योजना ल्याउनुपर्नेमा जोड दिए। ‘सुदूरपश्चिमका पहाडी सात जिल्लामा ४२ प्रतिशत गरिबी छ। गरिबी घटाउन गेम चेन्जर प्रोजेक्ट सेती राजमार्ग अगाडि बढाउनुपर्छ,’ उनले भने।
यससँगै उनले सुकुम्वासी, भूमिहीन, अव्यवस्थित बसोबासीलाई लालपूर्जा दिन वैज्ञानिक भूमि सुधार कार्यक्रम अघि बढाउनुपर्ने बताए।
Shares

प्रतिक्रिया