नेपापाकी सांसद पार्वती बिकले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद कृष्णकुमार कार्कीको विवादित यौन प्रकरणको विषयमा संसद्मा प्रश्न उठाएकी छन्।
मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै बिकले सांसद कार्कीले नाइजेरियाकी एक युवतीलाई काठमाडौँमा गर्भवती बनाएर अलपत्र पारेको भनेर आएका विषयमा सभामुखको ध्यानाकर्षण गराएकी हुन्।
‘एकजना सत्तापक्षका सांसदले एकजना विदेशी महिलालाई गर्भवती बनाएर बेपत्ता भएको कुरा सामाजिक सञ्जालमा यत्रतत्र सर्वत्र छ,’ बिकले भनिन्, ‘यो कुराले असाध्यै पीडादायी अवस्था सिर्जना गरेको छ। अन्तर्राष्ट्रिय जगतमा नेपालीहरूलाई बुझ्ने तरिका के हो? हाम्रो राष्ट्रियताको विषयमा पनि यसले प्रश्न उठ्न सक्छ। उनीहरूले हाम्रो देशलाई कसरी हेर्छन् र हामीलाई कुन ढङ्गले बुझ्छन्?’
उनले सो प्रकरणको यथार्थ सदनलाई जानकारी गराउन पनि सभामुखसँग माग गरिन्। उनले घटना सत्य भए सांसद कार्कीलाई कारबाहीको दायरामा ल्याउनुपर्नेमा जोड दिइन्।
‘हामी सबै काँचको सिसाभित्र छौँ। हामी सबैलाई सबैले वाच गरिरहेका छन्। यसमा हामी सबै सिरियस हुनु पर्ने थियो, तर हुन सकेन,’ उनले भनिन्।
नाइजेरियाकी एक युवतीले आफूलाई गर्भवती बनाएर कार्कीले ठमेलमा अलपत्र पारेको आरोप लगाएको विषय यतिबेला चर्चामा छ।
मोरङ–२ बाट निर्वाचित सांसद कार्कीले भने यस विषयमा कुनै प्रतिक्रिया दिएका छैनन्।
Shares

प्रतिक्रिया