नेकपा (एमाले) ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सदस्यता दिने निर्णय गरेको छ।
सोमबार बसेको एमाले सचिवालय बैठकले भण्डारीको सदस्यता नवीकरण गर्ने निर्णय गरेको हो। पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरण गर्ने निर्णय भएको सचिव पद्मा अर्यालले जानकारी दिइन्।
एमाले केन्द्रीय सचिवालयले बैठकले ११ महिनापछि आफ्नै निर्णय उल्टाएर भण्डारीको सदस्यता नवीरकण गर्ने निर्णय गरेको हो। गत साउन ६ गते बसेको सचिवालयले बैठकले भण्डारीको सदस्यता नवीकरण नगर्ने निर्णय गरेको थियो।
त्यतिबेला एमाले सचिवालय बैठकले पूर्वराष्ट्रपति सक्रिय राजनीतिमा आउन नहुने तर्क गरेको थियो। त्यसपछि भण्डारीको एमालेमा फर्किने बाटो बन्द भएको थियो।
तर, गत फागुन २१ को प्रतिनिधि सभाको निर्वाचनपछि अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्वबाट हटाउन एमाले दोस्रो तहका नेताहरू मोर्चाबन्दीमा उत्रिएका थिए। त्यस्तै, ईश्वर पोखरेल पक्षका नेताहरूले भण्डारीको सदस्यता नवीकरण गर्नुपर्ने दबाब दिँदै आएको थियो।
दुवै तर्फको दबाबमा रहेका ओलीले आजको सचिवालय बैठकबाट भण्डारीको सदस्यता नवीकरण गर्ने निर्णय गराएका हुन्। यससँगै पूर्वराष्ट्रपति भण्डारीलाई सक्रिय राजनीतिमा फर्किने बाटो खुलेको छ।
सोमबारको एमाले सचिवालय बैठकमा महासचिव शंकर पोखरेलले विभिन्न ११ वटा एजेन्डा प्रस्तुत गरेका थिए। प्रमुख एजेन्डामा पदाधिकारीको वरीयता क्रम निर्धारण, वर्तमान सरकारको कामकारबाहीको समीक्षा, पार्टी सदस्यता नवीकरण तथा विस्तार र पदाधिकारी एवं सदस्यको कार्यविभाजन रहेका थिए।
त्यस्तै, एमालेले वर्तमान सरकार स्वेच्छाचारी ढंगले अगाडि बढिरहेको निष्कर्ष निकाल्दै यसबारे पनि छलफल गरेको थियो। यससँगै संविधान संशोधन सुझाव कार्यदल गठन, निर्वाचन समीक्षा प्रतिवेदन तयारी कार्यदल गठन, पार्टी केन्द्रीय कार्यालय भवन निर्माण, नीति अध्ययन तथा अनुसन्धान प्रतिष्ठानको निर्देशक समिति गठन र संगठन विभागको विस्तार जस्ता प्राविधिक तथा सांगठनिक विषयमा पनि बैठकमा छलफल भएको उपमहासचिव लेखराज भट्टले जानकारी दिए।
अन्य विषयमा भने अर्को बैठकमा निर्णय हुने तय भएको उनले बताए। एमाले सचिवालयको अर्को बैठक जेठ ८ गते बस्ने भएको छ।
Shares

प्रतिक्रिया