नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडलले प्रधामन्त्री बालेन्द्र साहले जानीजानी संसदको उपेक्षा गरेको आरोप लगाएका छन्।
प्रजातान्त्रिक विचार समाज, नेपालको साधारण सभामा बोल्दै उनले प्रधानमन्त्रीको कार्यशैली अपरिपक्वताका कारण नभई नियतवश भएको आरोप लगाएका हुन्। प्रधानमन्त्री संसदप्रति उत्तरदायित्व हुनुपर्नेमा उनले जोड दिए।
वर्तमान सरकारको गतिविधिले लोकतान्त्रिक व्यवस्था र संवैधानिक प्रणालीमाथि नै जोखिम बढाएको उनको भनाई छ। ठूलो जनविश्वासका साथ बनेको सरकार छोटो समयमै प्रश्नहरूको घेरामा पर्न थालेको उनले बताए।
यसले नागरिकमा निराशा बढ्दै जाने र व्यवस्था परिवर्तनकै खतरनाक सोच विकसित हुनसक्ने बताए। उनले सरकारले शक्तिको अत्यधिक केन्द्रिकरण गरेको पनि आरोप लगाए।
राजश्व अनुसन्धान, सम्पत्ति शुद्धीकरण र विशेष अनुसन्धान जस्ता निकायहरूलाई प्रधानमन्त्री केन्द्रित बनाएको उनको आरोप छ। उनले संवैधानिक परिषद्लाई पपनि ६ सदस्यीय समितिमा ३ जनाले बहुमत पुग्ने संरचना बनाएको बताए।
महामन्त्री पौडेलका अनुसार यस्तो अभ्यास विश्वमै दुर्लभ छ। उनले नेपाली कांग्रेस अहिले प्रतिपक्षको भूमिकामा रहेको उल्लेख गर्दै लोकतन्त्र र संसदीय प्रणालीको रक्षा गर्न सरकारलाई निरन्तर प्रश्न गर्ने बताए। सरकार असफल होस् भन्ने हाम्रो चाहना नभए पनि लोकतन्त्र कमजोर बनाउने कुनैपनि प्रयासविरुद्ध प्रतिपक्ष चुप बस्न नमिल्ने उनको भनाई छ।
उनले ‘म नै सबैथोक हुँ’ भन्ने मनोविज्ञान प्रधामन्त्रीमा हाबी भएको आरोप लगाए। यस्तो प्रवृत्तिले लोकतन्त्रलाई नै निल्ने खतरा हुने उनको भनाई छ। उनले सरकारलाई समयमा नै सिमाभित्र राख्न नसकेमा लोकतान्त्रिक मूल्य र प्रणालीमा गम्भीर संकटमा पर्न सक्ने बताए। लोकतान्त्रिक चरित्र कमजोर भएको राज्यले नागरिकलाई पीडा दिने उनको भनाई छ।
उनले भने, ‘राज्यको चरित्र डेमोक्रेटिक भएन भने राज्यले नागरिकलाई धेरै दुःख दिन्छ। राज्य नागरिकको पक्षमा हुँदैन, राज्यले समान व्यवहार गर्दैन, राज्यले विधिको शासनलाई स्थापित गर्न सक्दैन। अहिले सरकारको चरित्र डेमोक्रेटिक भएको मान्न नसकिने थुप्रै तर्कहरू बनिसकेका छन्। त्यसैले राज्यको चरित्र फेरिएको आभास भएपछि हामीले त्यसलाई स्वीकार्न सक्दैनौं।’
उनले कांग्रेस पार्टी लोकतान्त्रिक मूल्य र विधिको रक्षा गर्न पछि नहट्ने बताए।
Shares

प्रतिक्रिया