नेपाली कांग्रेसका सभापति गगन थापाले १९ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन्। सभापति थापाले पार्टीको विधान, २०१७ (संशोधन सहित) को धारा २१ को उपधारा (१०) बमोजिम १९ जनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका हुन्।
निवर्तमान सहमन्त्री महेन्द्र यादव, जीवन परियार, निवर्तमान कोषाध्यक्ष उमेश श्रेष्ठ, निवर्तमान केन्द्रीय सदस्यहरु रमेश रिजाल, सुजाता कोइराला, दिलेन्द्रप्रसाद बडू, डा. चन्द्रकान्त भण्डारी, अजयकुमार चौरसिया, लक्ष्मी परियार, आङ्गेलु शेर्पालाई केन्द्रीय सदस्यमा मनोनित गरिएको छ।
यस्तै केन्द्रीय सदस्यमा मनोनित दिनेशकुमार यादव, राजीव कोइराला, राजीव ढुंगाना, प्राडा गोविन्दराज पोखरेल, सुशिला मिश्र भट्ट, नागिना यादव, दिनेश कोइराला, डा जीवन राना र सीता थपलिया उर्मिला पनि निवर्तमान केन्द्रीय सदस्य हुन्।
सभापति थापाले केन्द्रीय सदस्यमा मनोनित गर्दा निवर्तमान सभापति शेरबहादुर देउवा र नेता शेखर कोइराला समूहका नेताहरुलाई समेटेको देखिन्छ।
यादव, श्रेष्ठ, रिजाल, चौरसिया, परियार, शेर्पा, यादव, ढुंगाना, यादव, भट्ट र राना गरी ११ जना देउवा पक्षीय नेताहरु छन् भने परियार, कोइराला, बडू, भण्डारी, कोइराला, पोखरेल र कोइराला सात जना शेखर पक्षीय छन्। थपलिया डा शशांक कोइराला निकट मानिन्छन्। गत पुसमा सम्पन्न विशेष महाधिवेशनबाट थापाको नेतृत्वमा १३४ सदस्यीय केन्द्रीय समिति चयन गरिएको थियो। सभापतिले मनोनित गर्न पाउने कोटामा देउवा र कोइराला पक्षका केही नेताहरुलाई समेटिएको छ।
सभापति थापाले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता शेखर कोइरालासँग पछिल्लो समय संवाद गरेका थिए।
उनीहरू १४ औं महाधिवेशनको कार्यसमितिलाई मिलाएर लैजान प्रस्ताव अगाडि सारेका थिए। सभापति थापाले व्यक्तिगत डिलमा केन्द्रीय सदस्य मनोनित गरेको बुझिएको छ।
Shares

प्रतिक्रिया