नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारको कार्यशैली र लोकतान्त्रिक मूल्यमान्यतामाथि प्रश्न उठाएका छन्।
शुक्रबार अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा नेपाल ट्रेड युनियन कांग्रेसले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सभापति थापाले सरकारलाई विधि र प्रक्रियाको सम्मान गर्न सचेत गराए। पछिल्लो समय आफ्नो मौनतालाई लिएर उठेका प्रश्नहरूको जवाफ दिँदै थापाले प्रतिपक्षी दलको हैसियतले अब ‘मौनता तोड्ने’ बेला आएको बताए।
‘हामी केही समय बोलेनौँ भने त्यो मौनताको बीचमा सत्यको खोजी होला र अरूले बोल्लान् भनेर पर्खिएका थियौँ। तर अब मौन बस्दा प्रश्नहरू नै मर्ने खतरा देखियो, त्यसैले यो व्रत तोड्नुपर्ने आवश्यकता छ,’ थापाले भने।
सरकारलाई बहुमतको अहङ्कारमा नअल्झिन चेतावनी दिँदै थापाले ‘कानुनको शासन’ र ‘कानुनद्वारा शासन’ बीचको भिन्नता बुझ्न आग्रह गरे। लोकतन्त्रमा सरकार कानुनको सेवक हुनुपर्नेमा वर्तमान सरकारले कानुनलाई ‘लठ्ठी’ बनाएर नागरिकमाथि प्रहार गर्न खोजेको थापाको भनाइ थियो।
‘अतिक्रमण हटाउने अधिकार सरकारलाई छ तर आफ्ना नागरिकसँग युद्ध अपराधी जस्तो व्यवहार गर्न मिल्दैन,’ थापाले भने, ‘कानुनको शासनमा परिणाम जत्तिकै प्रक्रिया पनि महत्त्वपूर्ण हुन्छ।’
सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशप्रति लक्षित गर्दै थापाले संवैधानिक संरचनाको सन्तुलन बिगार्न खोजिएको बताए। संवैधानिक परिषद् राज्यको अङ्ग भएको र यसमा प्रतिपक्षी दलको पनि भुमिका हुने भएकाले यसको बनोट फेर्न खोज्नु अलोकतान्त्रिक भएको उनको तर्क थियो।
‘हामी सभ्य र विनम्र भएर प्रश्न गर्छौँ, खबरदारी गर्छौँ र विकल्प पनि सुझाउँछौँ। तर सरकारले हाम्रो विनम्रतालाई कमजोरी नठानोस्। हामी नम्र छौँ, तर कमजोर छैनौँ,’ उनले भने।
श्रमिक दिवसको सन्दर्भमा थापाले संविधानको धारा १७ र ३४ ले प्रत्याभुत गरेका ट्रेड युनियन र सामूहिक सौदाबाजीको अधिकार कसैको सनक वा लहडमा खोसिन नसक्ने बताए। ट्रेड युनियन आन्दोलनमा व्यापक सुधारको आवश्यकता रहेको स्वीकार गर्दै श्रमिकहरूको हकहितका लागि कांग्रेस प्रतिबद्ध रहेको बताए।
महँगी बढिरहेको बेला सरकार अन्यत्र लागिरहेको बताए। ‘दैनिक ज्यालादारी गर्ने मजदूरदेखि ठूला व्यवसायीसम्म आर्थिक मन्दीको चपेटामा छन्, भान्सा महँगो भएको छ तर सरकार परिणाममुखी काममा लाग्नुको सट्टा प्रचारमुखी कार्यमा रमाएको छ,’ उनले भने।
Shares

प्रतिक्रिया