नेपाली कांग्रेसले झापामा ‘जरा अभियान’ कार्यक्रम सम्पन्न गरेको। अभियान अन्तर्गत झापाका पाँच वटै क्षेत्रमा कार्यक्रम गरिएको हो।
वैशाख १२ गते क्षेत्र नम्बर १ को धुलाबारी र २ को बिर्तामोडमा कार्यक्रम भएका थिए।
१४ गते क्षेत्र नम्बर ५ को दमकमा कार्यक्रम सम्पन्न भएको थियो।
१३ गते क्षेत्र नं. ३ को भद्रपुर तथा ४ को कार्यक्रम धुलाबारीमा सम्पन्न भएको कांग्रेस झापाले जनाएको छ।
क्षेत्र नं. १ र ४ को अभियानमा केन्द्रीय सदस्य एवं केन्द्रीय प्रतिनिधि वसन्त भट्टराईको प्रमुख उपस्थिति रहेको थियो भने क्षेत्र नं. २ र ३ मा महाधिवेशन प्रतिनिधि एवं केन्द्रीय प्रतिनिधि रुद्रबहादुर कन्दङ्वाले नेतृत्व गरेका थिए। क्षेत्र नं. ५ मा भने केन्द्रीय प्रतिनिधिहरूको संयुक्त उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो।

अभियान क्रममा क्रियाशील सदस्यता अद्यावधि र अनलाइन प्रणालीबारे कोशी प्रदेश अधिवेशन प्रतिनिधि अमृत बास्तोला र तरुण दलका केन्द्रीय सदस्य सजेश शिवाकोटीले वडा सभापतिलाई प्रशिक्षण दिएका थिए।
अभियान समापन मंगलबार जिल्ला सभापति देउकुमार थेवेको सभापतित्वमा विशेष बैठक गरी सम्पन्न भयो। बैठकमा क्षेत्रीय, प्रदेश, पालिका र वडा सभापतिको उपस्थिति थियो। सो अवसरमा क्रियाशील सदस्यता अद्यावधिक गर्ने फारम वितरण गरिएको थियो। प्रविधि प्रयोगका बारेमा पुनः अभिमुखीकरण गरिएको थियो।

जिल्ला सभापति थेवेले पार्टीको वर्तमान अवस्था, निर्वाचनका चुनौती र आगामी सुधारका मार्गचित्रबारे सुनाएका थिए। अभियान कार्यक्रममा जिल्लाका क्षेत्रीय सभापति, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि र भ्रातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधिको उत्साहजनक सहभागिता थियो।
अभियानले झापामा कांग्रेसको जग मजबुत बनाउन कार्यकर्तामा उत्साह थपेको केन्द्रीय प्रतिनिधि रुद्र कन्दङ्वाले बताए।


Shares

प्रतिक्रिया