नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले देशमा क्रान्तिकारी भूमिसुधारविना सुकुम्बासी समस्याको दीर्घकालीन समाधान असम्भव रहेको बताएका छन्।
खनालले आफ्नो स्वामित्वमा एक चपरी जमिन पनि नभएको र बस्ने ठाउँ कतै नभएका व्यक्ति नै वास्तविक सुकुम्बासी भएको उल्लेख गरे। उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र प्रधानमन्त्री बालेन्द्र शाहको कार्यशैलीप्रति आलोचना गरे।
‘यो त दमन चक्र बाहेक केही पनि होइन। १० वटा परिवारलाई व्यवस्थापन गरेर पुग्दैन, ४० लाख परिवारको समस्या हल गर्नुपर्नेछ,’ खनालले थपे, ‘एकाध हुकुम्बासीलाई देखाएर डोजर चलाउने, बुट र बन्दुक देखाएर जनतालाई आतंकित पारेर समाधान हुने समस्या यो होइन।’
उनले अहिले भइरहेको कार्यलाई ‘दमन चक्र’ को संज्ञा दिँदै बन्दुक र डोजरका भरमा समस्या समाधान नहुने दाबी गरे। उनले सुकुम्बासी समस्या तराईका झापादेखि कञ्चनपुरसम्मका १५ जिल्ला र भित्री मधेसका सुर्खेत, दाङ, नवलपरासी, चितवन, मकवानपुर र उदयपुरमा सबैभन्दा भयावह रहेको बताए।
‘४० लाखभन्दा बढी जनता अहिले भूमिहीन अवस्थामा छन्। उनीहरूका परिवारको स्वामित्वमा एक चपरी पनि जमिन छैन। यदि साँच्चै यो समस्या हल गर्ने हो भने स्वामित्व परिवर्तन गर्ने गरी क्रान्तिकारी भूमिसुधार गर्नैपर्छ,’ खनालले भने।
विशेषगरी दलित समुदायमा ६० प्रतिशत जनता अझै पनि पूर्ण रूपमा भूमिहीन रहेको उनले तथ्यांक सुनाए। काठमाडौँ उपत्यकाभित्र सुकुम्बासीसँगै ‘हुकुम्बासी’ (शक्ति र पहुँचका भरमा जमिन ओगट्नेहरू) पनि रहेको स्वीकार्दै उनले हुकुम्बासीका नाममा वास्तविक सुकुम्बासीलाई आतंकित पार्न नहुने बताए।
नेपाल कृषिप्रधान देश भए पनि ग्रामीण क्षेत्रमा भूमिहीन र गरिब किसानको संख्या ठूलो रहेको उनको टिप्पणी छ।
Shares

प्रतिक्रिया