राजनीति


रविको चुनावी वाचामा बालेनको डोजर

रविको चुनावी वाचामा बालेनको डोजर

सागर न्यौपाने
बैशाख ११, २०८३ शुक्रबार २१:५१, काठमाडौँ

दुई महिनाअघि प्रतिनिधि सभाको चुनाव प्रचारका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुकुम्बासीलाई सम्बोधन गर्र्दै एउटा भाषण गरेका थिए।

वरिष्ठ नेता बालेन्द्र शाह र आफूले आँट गरिसकेकोले अब बहुमत दिन उनी आग्रह गर्छन्।

‘तागत तपाईंले दिने हो, आँट हामीले गरेका छौँ। बिना प्रतिशोध यो देशलाई अगाडि बढाउनेछौँ,’ रविले भनेका थिए, ‘हाम्रो सरकार आयो भने डोजर लगाउँछ भनेर तपाईंहरूलाई तर्साउने, झुक्याउने काम भएको छ, कोही पनि आत्तिनु पर्दैन। डोजर चल्यो भने सबैभन्दा पहिला भ्रष्टाचारीको महलमा चल्छ, गरिबको बस्तीले चिन्ता गर्नु पर्दैन।’ 

रविको भाषणले खुसी भएका थापाथलीको सुकुम्बासी बस्तीमा रहेका मानिसले घरघरमा रास्वपाको झण्डा राखे।  

चुनावमा रास्वपाले बहुमत मात्र होइन, झण्डै दुई तिहाइ सिट जित्यो। त्यसपछि सरकार पनि बनायो। तर, सरकार बनेको एक महिनामै उनीहरू बस्दै आएको बस्तीमा डोजर चलाउन सुरक्षा निकायलाई खटाइयो। 

फागुन ७ गते चुनाव प्रचारका क्रममा रविले बोलेको यही भाषण शुक्रबारदेखि भाइरल छ। 

किनकि, रविले भनेको जस्तो भ्रष्टाचारीको महलमा भन्दा पहिला काठमाडौँका सुकुम्बासी बस्तीमा डोजर चल्ने भयो। जसका लागि प्रधानमन्त्री बालेन्द्र शाहले नै भूमिका खेले।

बालेनको कदमप्रति सुकुम्बारीहरु चकित छैनन्। किनकि काठमाडौँ महानगरपालिकाको मेयर हुँदा पनि उनले सुकुम्बासी बस्ती खाली गराउने प्रयास गरेका थिए। तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले असहयोग गरेपछि सो कार्य रोकिएको थियो।

बालेन आए भने बस्ती उठाउँछन् भन्ने उनीहरुलाई शंका थियो। तर, उनीहरूले रास्वपा सभापति रविको प्रतिबद्धतालाई विश्वास गरे।  

दुई महिनाअघि रविले सुकुम्बासीलाई विस्थापित होइन व्यवस्थापित गर्ने बताएका थिए।

‘व्यवस्थापन हामी गर्छाैँ, हामी कसैको दुस्मन होइनौँ,’ रविको भनाइ थियो, ‘यहाँ भूमिहीन साथीहरूको कुरा आएको छ। हामी शक्तिशाली आयोग बनाउँछौँ। त्यो आयोगले आफैँ निकाल्नेछ। त्यो आयोगमा पार्टीका कार्यकर्ता कारिन्दाहरू हुने छैनन्। स्वतन्त्र मानिसहरू हुनेछन्, तिनले दिएको रिपोर्टलाई कार्यान्वयन गर्नेछौँ।’ 

‘रास्वपाले कसैलाई पनि बेघबार बनाउने काम गर्दैन, कानुनले जे भन्छ हामी त्यही काम गर्छाैँ। कानुनले तपाईंलाई थिचोमिचो गरेको रहेछ भने संसदमा कानुन फेरेर भए पनि तपाईंको अधिकार दिलाएर छाड्छौँ,’ त्यसबेला रविले ठोकुवा गरेका थिए।

तर, रविले भनेको केही पनि भएन। वैशाख १० गते बेलुकादेखि बस्ती खाली गराउन माइकिङ गरियो। जसकारण सुकुम्बासीहरू निराश बनेका छन्। 

कतिपयले प्रतिकार गर्ने आवाज पनि उठाए। तर, बलियो सरकारको अगाडि उनीहरूको जोर चल्ने कुरै भएन। 

सरकारले उनीहरूलाई उचित स्थानमा राख्ने भनेको छ। प्रधानमन्त्री बालेनले पनि त्यही कुरा सामाजिक सञ्जालमार्फत् बताएका छन्। हरेक वर्ष आउने बाढीबाट जोगाउन नदी किनारका बस्ती हटाउन लागिएको उनको भनाइ छ। 

‘थापाथली, गैरीगाउँ अनि मनोहरा लगायत काठमाडौँका खोला किनारमा जोखिमपूर्ण अवस्थामा रहेका उहाँहरूलाई बल प्रयोग नगरी, मानवीयतालाई ख्याल गर्दै सुरक्षित रूपमा स्थानान्तरण गर्न लागिएको हो,’ उनले लेखेका छन्। 

यस विषयमा रास्वपाका नेताहरूले कुनै धारणा सार्वजनिक गरिसकेका छैनन्।  तर, विकल्प नदिईकन प्रशासनले जसरी सुकुम्बासीलाई हट्न निर्देशन दियो, यसले रास्वपाकै केही नेता खुसी छैनन्।

पार्टीभित्र यसबारे कुनै छलफल नभएको रास्वपाका एक पदाधिकारीले बताए।

‘हुन त सरकारको कुरा हो तर अलि पछि गरे हुने कुरामा अहिले नै गर्न किन हतार भयो त्यो बुझ्न सकिएको छैन,’ ती पदाधिकारीले नेपालखबरसँग भने, ‘यसबारे सरकारको आफ्नै धारणा रहेछ, जुन प्रधानमन्त्रीले सार्वजनिक गर्नुभयो तथापि, हामीले यो भन्दा गर्नुपर्ने महत्वपूर्ण काम अरु छन्।’

रास्वपाका केही नेता अतिक्रमण गरेर बस्ने र साँच्चिकै सुकुम्बासीको पहिचान गर्न आवश्यक रहेको बताउँछन्। 

प्रधानमन्त्री बालेन्द्र शाहले सुरक्षा निकायलाई निर्देशन दिएपछि काठमाडौँ महानगरपालिकाले बस्ती खाली गराउन समन्वय गरिरहेको महानगरपलिकाका प्रवक्ता नवीन मानन्धर बताउँछन्। 

प्रधानमन्त्रीनिकट रास्वपाका सांसद राजुनाथ पाण्डेले पार्टीभित्र छलफल भए नभएकोबारे आफू नबोल्ने बताए।

‘भोलिबाट हाम्रो अप्रेसन सुरु हुन्छ। जो रियल सुकुम्बासी हुन्, तिनको व्यवस्थापन हुन्छ, नक्कली सुकुम्बासी हट्छन्, डोजर लाग्छ’ उनले भने, ‘सबै तयारी छ। पार्टीमा समन्वय भए नभएको कुरा बोल्न चाहिनँ। भोलिबाट रियल सुकुम्बासीको पहिचान हुन्छ। नक्कली सुकुम्बासीले गरेको अतिक्रमण हटाइन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad