नेपाली कंग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीलाई एकताबद्ध गर्ने दायित्व सभापति गगन थापाको काँधमा आएको बताएको छ। शुक्रबार सर्वोच्च अदालतले थापा नेतृत्वको कांग्रेसलाई मान्यता दिने फैसला गरेपछि देउवा समूहका नेता प्रकाशशरण महतले यस्तो बताएका हुन्।
‘सर्वोच्च अदालतबाट अपेक्षित निर्णय आएन। अब कानुनी बाटो रहेन,’ उनले नेपालखबरसँग भने, ‘पार्टीभित्रको राजनीतिक समस्या समधान भएको छैन। राजनीतिक समस्या समाधान गर्ने दायित्व सर्वोच्च अदालतबाट आधिकारिता पाउने नेतृत्वको हो।’
कांग्रेसको एकता नै आजको आवश्यकता भएको भन्दै पार्टीभित्र संवाद गरेर समस्याको निकास खोज्नुपर्ने महतको भनाइ छ।
‘एकताबद्ध कांग्रेस नै आजको आवश्यकता हो। कार्यकर्ताको चाहना हो,’ उनले भने।
पार्टीको १५औँ महाधिवेशनमा सबैलाई जोड्ने भन्ने विषयमा विशेष महाधिवेशनको पक्षधरले गम्भीरता देखाउनुपर्ने महतको भनाइ छ। ‘आगामी दिनमा पार्टीभित्रको राजनीतिक समस्या समाधान गरेर कसरी लानुहुन्छ भन्ने कुरामा धेरै कुरा निर्भर रहन्छ,’ उनले भने।
यस्तै कांग्रेस नेता शेखर कोइराला निकट नेता जीवन परियारले सर्वोच्च अदालतको निर्णय स्वीकारेर जानुपर्ने बताए। ‘सर्वोच्च अदालतको निर्णय स्वीकार गर्नुपर्छ। नेपाली कांग्रेसका सभापति गगन थापाले विशेष महाधिवेशनमा भाग नलिएका नेताहरुसँग संवाद र छलफल गरी १५ औं महाधिवेशनमा सहभागी हुने वातावरण निर्माण गर्नुपर्छ।
देशमा उत्पन्न कठिन परिस्थितिमा कांग्रेस एकताबद्ध गर्न सभापति थापाको काँधमा जिम्मेवारी थपिएको उनले बताए।
‘काँधमा आएको जिम्मेवारी सभापति गगन थापाले कुसलतापूर्व निर्वाह गर्ने हुन्छ भन्ने विश्वास छ। त्यो ढंगले उहाँ अगाडि आउनुपर्छ,’ उनले भने।
कांग्रेसको बिहीबार सम्पन्न कार्यसम्पादन समितिको बैठकले पार्टीका पूर्व पदाधिकारीसँग संवाद गर्न सभापति थापालाई जिम्मेवारी दिएको छ। सभापति थापाले भोलिबाटै पार्टीभित्र संवाद अगाडि बढाउने सहमहामन्त्री योगेन्द्र चौधरीले बताए।
‘उहाँहरुले यो फैसला स्वीकार गर्नुभयो भने सभापतिज्यू संवाद गर्न थाल्नुहुन्छ,’ उनले नेपालखबरसँग भने, ‘उहाँहरुलाई रातोकार्पेट बिछ्याएर स्वागत गर्छौँ। उहाँहरुको सम्मानमा कुनै कमी गर्दैनौं। उहाँहरुकै योगदानले पार्टी बनेको हो।’
कांग्रेस महामन्त्रीद्वय प्रदीप पौडेल र गुरुराज घिमिरेले पनि सर्वोच्च फैसलालाई हार वा जीतको विषय नबनाइ पार्टी एकता खल्बलिने वातावरण आउन नदिन सबै सचेत र सजग हुनु अहिलेको अवस्थामा अनिवार्य आवश्यकता भएको बताएका छन्।
‘सर्वोच्च अदालतको निर्णयले सबैको आत्मसम्मान र योगदानको कदर गरेको छ। यो कसैको हार वा जित होइन।अब हामी नेपाली कांग्रेसका सबै साथीहरू एकताबद्ध भई पार्टीको १५ औं महाधिवेशनलाई उत्साह र एकताका साथ सम्पन्न गर्न केन्द्रित हुनुपर्छ,’ उनीहरुको भनाइ छ।
बिगतका सम्पूर्ण वादविवादलाई विस्मृतिमा राखेर कांग्रेसको आन्तरिक एकतालाई सुदृढ पार्दै अघि बढ्नुपर्ने उनीहरुको भनाइ छ। कांग्रेसको तीन महिना लामो कानुनी लडाइँ सकिएको छ।
गत पुस २७–३० मा भृकुटीमण्डपमा सम्पन्न विशेष महाधिवेशन बाट गगन थापा सभापतिमा निर्वाचित भएपछि कांग्रेस आधिकारिता विवाद निर्वाचन आयोग हुँदै सर्वोच्च अदालत पुगेको थियो। निर्वाचन आयोगले थापा नेतृत्वको कार्यसमितिलाई नेतृत्व मान्यता दिएको थियो। सर्वोच्च अदालतले आज उक्त निर्णयलाई सदर गरिएको छ।
सर्वोच्चले भन्यो: विशेष महाधिवेशन गर्न देउवा-खड्का उदासिन, रिट औचित्यहीन
सर्वोच्चबाट पनि गगनकै टिमलाई कांग्रेसको आधिकारीकता, देउवाको रिट खारेज
Shares

प्रतिक्रिया