बागलुङबाट निर्वाचित नेपाली कांग्रेसका गण्डकी प्रदेश सभा सदस्य दोर्णकुमार कुवरले पदबाट राजीनामा दिएका छन्।
बुधबार कुवरले सभामुख कृष्णप्रसाद धितालसमक्ष राजीनामा बुझाएका हुन्। प्रदेशको मन्त्रिपरिषद् पुनर्गठनप्रति असन्तुष्टि जनाउँदै कुवरले राजीनामा दिएको जनाइएको छ।
कुवर कांग्रेसमा सभापति गगन थापा पक्षधर नेताको रुपमा चिनिन्छन्। सधैँ गगनको साथ रहँदै आएका उनले मन्त्रिपरिषद् पुनर्गठन हुँदा सरकारमा जाने चाहना राखेका थिए। तर, कांग्रेसका बागलुङ सभापति जित शेरचन छनोट परे। शेरचनलाई आर्थिक मामिला मन्त्रालयका जिम्मेवारी दिइएको छ।
कुवरले सभामुख धिताललाई लेखेको राजीनामा पत्रमा कारण खुलाएका छैनन्। आफूलाई जिताउने मतदातालाई धन्यवाद दिएका छन्।
राजीनामा दिएका कुवरसँग सम्पर्क हुन सकेन। उनले फोन रिसिभ गरेका छैनन्।
उनको राजीनामा स्वीकृत गर्ने कि नगर्ने भन्ने कुरा अब सभामुखको हातमा छ। सभामुख धितालले चाहिँ राजीनामा स्वीकृत गर्न हतार नगर्ने प्रतिक्रिया दिएका छन्। ‘दलका साथीहरूसँग सल्लाह गर्छु, मलाई हतार छैन नि,’ सभामुख धितालले नेपालखबरसँग भने।

Shares

प्रतिक्रिया