राजनीति


यस्ता छन् कांग्रेसको ‘जरा’ अभियानका ७ उद्देश्य

यस्ता छन् कांग्रेसको ‘जरा’ अभियानका ७ उद्देश्य

नेपालखबर
बैशाख १, २०८३ मंगलबार १९:५१, काठमाडौँ

नेपाली कांग्रेसले ‘जरा’ अभियान सुरु गरेको छ।

सभापति गगनकुमार थापाले आफ्नो वडा काठमाडौँ महानगरपालिका ३० बाट आफ्नो क्रियाशील सदस्यता अद्यावधिक गरी आज १ वैशाखबाट अभियान प्रारम्भ गरेका हुन्।

वैशाखभर चल्ने अभियान क्रममा एकातर्फ राष्ट्रिय सन्दर्भमा पार्टीको सोच र सन्देश प्रवाह हुनेछ भने, अर्कातर्फ स्थानीय तहसम्म पार्टी जागरण र रुपान्तरण क्रममा क्रियाशील सदस्यता अधावधिक गर्ने कार्य हुनेछ।

`रुख´को ‘जरा’ गोडमेल गर्न र पार्टीमा ताजगी अभिवृद्धि गर्न यो अभियानले मद्दत पुर्‍याउने विश्वास लिइएको कांग्रेसले विज्ञप्तिमार्फत जनाएको छ।

फागुन २१ को निर्वाचन पश्चात् मुलुकको प्रमुख प्रतिपक्षी दलको जिम्मेवार भूमिकामा छ नेपाली कांग्रेस। `जरा´ अभियान मार्फत पार्टीको भूमिका सबल बनाउँदै देश, प्रणाली र समाज सबल बनाउने ध्येयमा समर्पित रहेको प्रवक्ता देवराज चालिसेद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रवक्ता चालिसेका अनुसार जरा अभियानका सात उदेश्य यस्ता छन्:
१) राष्ट्रियताको `जरा´ सबल बनाउन
• संसदमा रहेका दलहरू बीच राष्ट्रिय हित, राष्ट्रिय स्वार्थ र समग्रमा राष्ट्रियताको प्रश्नमा साझा दृष्टि र सहकार्य।
• देश बाहिर रहेका नेपालीहरुको सुरक्षा र अधिकारका सन्दर्भमा पार्टीको प्रतिज्ञा पत्र बमोजिम देशभित्रको भावनात्मक जरा बलियो बनाउन आवश्यक नितिगत, कानुनी र संरचनागत बिषयमा पहल, संवाद र सहकार्य।

२)  लोकतन्त्रको `जरा´ सबल बनाउन
• संसदमा नेपाली कांग्रेसको सहयोगी एवं खबरदारीपुर्ण भूमिका।
• संविधान संशोधनको प्रश्नमा लोकतन्त्रको सारभूत मूल्य मान्यतामा सम्झौता नगरी समयोचित दृष्टि, इमानदार अवधारणाको खोजी एवं परिणाममुखी सहकार्य।

३) संघीयताको `जरा´ सबल बनाउन
• संविधानको मर्म बमोजिम संघीयताको सबलिकरण गर्न आवश्यक कानुन निर्माणमा सहकार्य।
• नेपाली कांग्रेस सहभागी रहेका प्रदेश सरकारहरुको गतिविधि समिक्षा, आवश्यक हेरफेर र समयानुकूल परिमार्जन गर्दै प्रदेश सरकार प्रभावकारी बनाउन यो अवधिमा उपयुक्त रणनीति अवलम्बन गर्ने।
• स्थानीय सरकार संचालन प्रभावकारी बनाउन यहि अभियान क्रममा सकारात्मक सन्देश प्रवाह गर्ने।

४)  नागरिक विश्वासको `जरा´ सबल बनाउन
• समुन्नतिको प्रश्नमा दलगत आग्रह भन्दा पर समन्यायिक विकास दृष्टि।
• प्रदेश र स्थानीय तहमा रहेका पार्टीका साथीहरूको प्रभावकारिता वृद्धि।
• नवयुवाहरूसँग अनेक तहमा संवाद , तिनको सोच र सपना अनुरुप रुपान्तरण र गति।
• राज्य, दलहरु र निजि क्षेत्रबीच वृहत्तर सहकार्यको खोजीका साथ निजिक्षेत्रको मनोबल अभिवृद्धि र थप दायरा विस्तारमा प्रोत्साहन ।

५) सामाजिक एकताको `जरा´ सबल बनाउन
• जातिय, बर्गिय, धार्मिक, सामाजिक र साँस्कृतिक समूहहरूबिच सद्भाव अभिवृद्धिमा भूमिका।
• जातीय विभेद र सबै खाले विसंगति नियन्त्रणमा सहकार्य।

६) पार्टीको `जरा´ सबल बनाउन
• विमतिका विषयहरु न्यूनीकरण गर्दै पार्टीभित्र खुला संवाद र सहकार्य।
• विभिन्न समयमा विविध कारणले पार्टीबाट टाढा भएका साथीहरूलाई `घर-आँगन फर्क´ आह्वान।
• केन्द्रबाट प्रदेश हुँदै स्थानीय तहसम्मका समितीहरूबिच बिषयगत तादाम्यता र सांगठनिक कार्यमा गति वृद्धि।
• भ्रातृ र शुभेच्छुक संस्थाहरूको कार्य समिक्षा, आवश्यक निर्णय र `जरा´ तहसम्म सम्बन्धित संस्थाहरूको प्रभावकारिता खोजी।

७) आगामी महाधिवेशनको तयारी
• विशेष महाधिवेशनले पारित गरेका दृष्टि, निर्माण गरेको नेतृत्व र अवलम्बन गरेका नितिको परिवर्तित सन्देश प्रवाह गर्दै क्रियाशिल सदस्यता व्यवस्थित रुपले अधावधिक गर्दै, आगामी असोजमा हुने पार्टीको १५औँ महाधिवेशन तयारी उत्साह र नवीन विश्वाससाथ अघि बढाउने।
• अभियानका लागि सबै जिल्लामा केन्द्रीय प्रतिनिधि खटिनु भएको छ भने प्रदेश कार्यसमितिले पनि प्रतिनिधि खटाउने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad