जनकपुरधामस्थित यातायात व्यवस्था कार्यालय आसपास क्षेत्रबाट बिचौलिया आरोपमा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।
सेवाग्राहीलाई झुक्याएर अवैध रुपमा रकम असुल्ने कार्यमा संलग्नता रहेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, धनुषाले जनाएको छ। पक्राउ पर्नेमा जनकपुरधाम–१ का मनोजकुमार महतो, जनकपुर–१४ का विजयकुमार यादव, जनकपुरधाम–७ का अरुणप्रसाद साह, जनकपुरधाम–८ का कन्हैया झा र हंसपुर नगरपालिका–५ का सुरेश साह रहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी मधुसुधन न्यौपानेले बताए।
डीएसपी न्यौपानेका अनुसार सवारी चालक अनुमति पत्र, सवारी दर्ता तथा अन्य सेवा छिटो गराइ दिने प्रलोभन देखाएर सेवाग्राहीसँग अनावश्यक शुल्क असुल्ने गतिविधि बढेको भन्ने गुनासो आउन थालेपछि विशेष निगरानीको क्रममा उनीहरूलाई पक्राउ गरिएको हो।
‘यातायात कार्यालय परिसरमा केही व्यक्तिहरूले सेवाग्राहीलाई छिटो काम गराइदिने बहानामा ठगी गर्ने प्रयास गरिरहेको सूचना प्राप्त भएको थियो। सोही आधारमा निगरानी बढाउँदा पाँच जनालाई नियन्त्रणमा लिइएको छ,’ उनले भने।
पक्राउ परेका पाँचै जनालाई हिरासतमा राखेर आवश्यक अनुसन्धान अघि बढाइएको छ। बुधवार अनुसन्धान सकिएपछि मुद्दा चलाउने नचलाउनेबारे निर्णय गरिने उनले बताए।
Shares

प्रतिक्रिया