प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा नबोल्नुलाई नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले स्वेच्छातारी शासनतर्फ गइरहेको रुपमा टिप्पणी गरेका छन्।
शनिबार च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा सम्पर्क विशेष सङ्गठन कमिटीले आयोजना गरेको कार्यक्रममा बोल्दै महासचिव पोखरेलले प्रधानमन्त्री शाहले संसद्मा केही नबोलेकोमा प्रश्न गरेका हुन्। शुक्रबार सकिएको संसद्को पहिलो अधिवेशनमा प्रधानमन्त्री शाहले केही बोलेनन्।
प्रधानमन्त्रीले संसद्मा बोल्न आवश्यक नठान्नुलाई स्वेच्छाचारी शासनको संकेत भएको जिकिर गरे। ‘सुरक्षा निकायले आयोजना गरेका कार्यक्रमहरूमा गएर प्रधानमन्त्री समय दिन सक्तछ, बोल्न सक्तछ, जनताको सार्वभौमसत्तासम्पन्न थलोमा आएर, आफैँले आह्वान गरेको अधिवेशनमा उसले बोल्नुपर्ने आवश्यकता ठान्दैन,’ पोखरेलले भने, ‘के हामी लोकतन्त्रतिर गइराख्याछौँ कि स्वेच्छाचारी शासनतर्फ गइरहेका छौँ भन्ने कुराको प्रश्न एउटा अधिवेशनको आह्वान र समाप्तिले समेत देखाइसक्या छ।’
प्रधानमन्त्रीले संसद्मा बोल्नु आवश्यक भएको उनको भनाइ थियो। संसद्मा प्रधानमन्त्री नबोलेको विषयमा प्रश्न उठिरहेको उनले स्मरण गराए। ‘संसद्को अधिवेशन आह्वान हुन्छ, जनताबाट निर्वाचित संसद्ले बनाएको प्रधानमन्त्री संसद्मा केही बोल्दैन, अर्थात् जनतासँग संवाद नै गर्दैन। प्रधानमन्त्री बोल्दै नबोल्ने हो त? मानिसहरू प्रश्न उठाइरहेका छन्,’ पोखरेलले भने।
उनले सभामुखको सम्पत्ति विवरणलाई लिएर पनि प्रश्न गरेका छन्। सभामुख डोलप्रसाद अर्यालले केही दिनअघि सम्पत्ति विवरण सार्वजनिक गरेका थिए।
पोखरेलले भने, ‘नयाँ भनिने अभियानको नेतृत्वकर्ता सभामुखले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्नुभयो, सम्पत्ति विवरण सार्वजनिक गरेपछि धेरैले पत्याउन गाह्रो भाछ।’
नयाँ सरकारका मन्त्रीहरूले पनि तत्काल सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने पोखरेलको भनाइ थियो। अहिलेसम्म मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक नगर्नु आफैले गरेको वाचा विपरीत भएको उनको जिकिर थियो।
Shares

प्रतिक्रिया