राजनीति


निजी क्षेत्र कर तिर्ने निकाय मात्र होइन, राष्ट्र निर्माणको साझेदार हो: राष्ट्रपति पौडेल

निजी क्षेत्र कर तिर्ने निकाय मात्र होइन, राष्ट्र निर्माणको साझेदार हो: राष्ट्रपति पौडेल

नेपालखबर
चैत २७, २०८२ शुक्रबार १२:४५, काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलले निजी क्षेत्रलाई केवल कर तिर्ने निकायको रूपमा मात्र नभई राष्ट्र निर्माणको अभिन्न साझेदार र देशको ‘आर्थिक इन्जिन’ का रूपमा हेर्नुपर्ने बताएका छन्। 

शुक्रबार नेपाल चेम्बर अफ कमर्सको हीरक जयन्ती (७५औँ वर्ष) को अवसरमा आयोजित विशेष कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले निजी क्षेत्र सबल भए मात्र राष्ट्रको अर्थतन्त्र सबल हुने बताए। उनले नेपालको निजी क्षेत्रको संघर्ष, समर्पण र उपलब्धिलाई स्मरण गर्दै मुलुकको आर्थिक समृद्धिमा चेम्बरले पु¥याएको योगदानको प्रशंसा गरे। ‘मुलुकको आर्थिक समृद्धि, उद्योग व्यवसायको प्रवर्द्धन, लगानीमैत्री वातावरण निर्माण तथा उद्यमशीलताको विकासमा निजी क्षेत्रको प्रतिनिधिमूलक पहिलो यस संस्थाले निरन्तर दिएको योगदान प्रशंसनीय छ,’उनले भने।

कोभिड महामारी, आपूर्ति शृंखलामा आएको अवरोध र उत्पादनमा आएको गिरावटका कारण अर्थतन्त्रमा केही चुनौतीहरू देखिएको उल्लेख गर्दै राष्ट्रपतिले यस्तो अवस्थामा सरकार र निजी क्षेत्रबीचको सहकार्य अझ सुदृढ हुनुपर्नेमा जोड दिए। 

‘कोभिड महामारीको प्रभाव, आपूर्ति श्रृङ्खलामा आएको अवरोध, उत्पादन तथा व्यापारमा आएको गिरावट र त्यसपछिको आर्थिक व्यवस्थापनमा देखिएको कमजोरीले अर्थतन्त्रलाई प्रभाव पारेको छ। यस्तो अवस्थामा निजी क्षेत्र र सरकार बीचको सहकार्य अझै सुदृढ हुन आवश्यक छ,’ राष्ट्रपति पौडेलले भने।

देशको भविष्य युवा पुस्ताको हातमा रहेको चर्चा गर्दै राष्ट्रपति पौडेलले ‘ब्रेन ड्रेन’ रोक्न स्वदेशमै अवसरहरू सिर्जना गर्नुपर्ने बताए। ‘राजनीतिक स्थिरता आर्थिक समृद्धिको आधार हो। स्थिर सरकार, स्पष्ट नीति र दीर्घकालीन रणनीतिले मात्र औद्योगिक विकास, लगानी विस्तार र रोजगारी सिर्जनालाई गति दिन सक्छ। आजको युवा पुस्ता देशको भविष्य हो,’ उनले भने, ‘उनीहरूलाई स्वदेशमै अवसर सिर्जना गर्न सके मात्र हामी ब्रेन ड्रेन रोक्न सक्छौँ।’

उनले उद्यमशीलता, प्रविधि र सृजनशीलताका माध्यमबाट युवालाई आर्थिक गतिविधिमा जोड्नु आजको प्रमुख आवश्यकता रहेको बताए। परम्परागत सोचभन्दा बाहिर निस्केर नवीनता र नवप्रवर्तनतर्फ लाग्न आह्वान गर्दै राष्ट्रपतिले डिजिटल अर्थतन्त्र, हरित विकास र स्टार्टअप संस्कृतिको विकासमा जोड दिए। 

‘हामीले भुल्न नहुने एउटा महत्त्वपूर्ण कुरा के हो भने निजी क्षेत्र सबल भए मात्र राष्ट्रको अर्थतन्त्र सबल हुन्छ। निजी क्षेत्रलाई केवल कर तिर्ने निकायको रूपमा होइन, राष्ट्र निर्माणको साझेदारका रूपमा हेर्न आवश्यक छ,’ राष्ट्रपति पौडेलले भने, ‘निजी क्षेत्र केवल आर्थिक वृद्धिको आधार मात्र होइन, यो देशको आर्थिक इन्जिन हो भन्ने म ठान्दछु।’

जननिर्वाचित संसद र सरकारलाई सुशासनमार्फत आर्थिक समृद्धि हासिल गर्ने र जनताको जीवनस्तर उकास्ने गहन दायित्व रहेको बताउँदै उनले यस अभियानमा निजी क्षेत्रलाई साथमा लिएर अघि बढ्न सरकारलाई सुझाव दिए। साथै, संघ, प्रदेश र स्थानीय तहबीचको समन्वयलाई सुदृढ बनाउँदै समग्र विकास प्रक्रियालाई गति दिनुपर्नेमा उनको जोड दिए।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad