राजनीति


ओली-प्रचण्डले भनेः मदन भण्डारीको विचारले नेपालमा कम्युनिष्ट शक्ति सर्वाधिक लोकप्रिय

ओली-प्रचण्डले भनेः मदन भण्डारीको विचारले नेपालमा कम्युनिष्ट शक्ति सर्वाधिक लोकप्रिय

नेपालखबर
जेठ ३, २०७७ शनिबार १:४५,

नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले संयुक्त रुपमा मदन भण्डारीको विचारले नेपालको कम्युनिष्ट आन्दोलनलाई सर्वाधिक लोकप्रिय शक्तिका रुपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको बताएका छन्।

आज जेठ ३ गते २७औं मदन–आश्रित स्मृति दिवस तथा पार्टी एकीकरणको दोस्रो वर्षगाँठको सन्दर्भमा अध्यक्षद्वयले ३ पेज लामो संयुक्त विज्ञप्ती जारी गर्दै मदन भण्डारीलाई यसरी चित्रित गरेका हुन्। एमाले र माओवादी एक भएर नेकपा बनेपछि मदन भण्डारीको विचारलाई यसरी महत्व दिइएको संभवतः यो पहिलो पटक हो।

जननेता मदन भण्डारी पूर्व एमालेका महासचिव थिए, जसले ‘जनताको बहुदलीय जनवाद’ विचार मार्फत नेपालको कम्युनिष्ट आन्दोलनलाई लोकतान्त्रिक धारमा बदल्न महत्वपूर्ण योगदान दिएका थिए। एमाले र माओवादी एकतापछि नेकपाले ‘जनताको जनवाद’ लाई आफ्नो राजनीतिक विचार मान्दै आएको छ, जुन लोकतान्त्रिक धारबाट हिंड्ने ‘बहुदलीय जनवाद’ कै नजिक मानिन्छ।

२७ वर्षअघि दासढुंगामा भएको जीप दूर्घटनामा नेपाली यी यी दुई लोकप्रिय नेताहरूकोे मृत्यु भएको थियो, जुन घटनालाई आज पनि ‘रहस्यमय’ रुपमा नै लिइन्छ।

‘लोकतन्त्रका विश्वव्यापी मूल्य–मान्यताहरूलाई आत्मसात् गर्दै कम्युनिष्ट पार्टीलाई नेपालको लोकतान्त्रिक आन्दोलनको अग्रणी शक्तिका रूपमा स्थापित गर्न, नेपालको विशिष्ट परिस्थिति अनुसार क्रान्तिको मौलिक बाटो र सिद्धान्तको विकास गर्न एवं प्रगतिशील राष्ट्रबादका आधारमा राष्ट्रिय हीतको दृढ पक्षपोषण एवं राष्ट्रियताका पक्षमा अथक संघर्ष गर्न जननेता मदन भण्डारीको देन विशिष्ट महत्वको रहेको छ’, विज्ञप्तीमा भनिएको छ, ‘सिर्जनात्मक सोच, राष्ट्र र जनताप्रतिको अविचलित निष्ठा, सादा जीवन र प्रभावशाली वक्तृत्वकलाका कारण जननेता मदन भण्डारी एक स्वतन्त्र सर्वेक्षणका आधारमा नेपालका बीसौं शताब्दीकै सर्वाधिक लोकप्रिय नेताका रुपमा स्थापित हुनुभएको थियो।’

पछिल्लो समय पार्टीमा बढिरहेको विवादकाबीच अध्यक्षद्वय ओली र प्रचण्डले ‘पार्टी एकीकरणका बाँकी कामहरूलाई छिट्टै सम्पन्न गर्दै पार्टीको सम्पूर्ण शक्तिलाई राष्ट्रिय राजनीतिक अभिभारा पूरा गर्न केन्द्रित गर्ने’ जनाएका छन्।

‘मुलुकको मुहार बदल्न प्राप्त यस ऐतिहासिक एवं दूर्लभ अवसरलाई जस्तोसुकै प्रतिकुल परिस्थितिमा पनि सफल पार्न पार्टी दुढ संकल्पित छ’, वक्तव्यमा भनिएको छ। 

यस्तो छ संयुक्त वक्तव्यः

३ जेठ २०७७

२७औं मदन–आश्रित स्मृति दिवस तथा पार्टी एकीकरणको दोस्रो वर्षगाँठको सन्दर्भमा
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) द्वारा जारी वक्तव्य

आज जेठ ३ गते, २७औं मदन–आश्रित स्मृति दिवस तथा ऐतिहासिक पार्टी एकीकरणको दोस्रो वर्षगाँठ। यस सन्दर्भमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को तर्फबाट जननेता मदन भण्डारी र तत्कालीन संगठन विभाग प्रमुख कमरेड जीवराज आश्रितप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ। साथै पार्टीका सबै नेता, कार्यकर्ता, सदस्य, समर्थक एवं शुभचिन्तकहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछौँ।

जननेता मदन भण्डारी नेपाली कम्युनिष्ट आन्दोलनका नवीन विचारक, देशभक्तिपूर्ण अभियानका प्रखर संवाहक र लोकतान्त्रिक आन्दोलनका अग्रज नेता हुनुहुन्थ्यो। अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलन प्रतिरक्षात्मक र गम्भीर धक्काको अवस्थाबाट गुज्रिरहेको बेला नेपालमा कम्युनिष्ट आन्दोलनलाई सर्वाधिक लोकप्रिय शक्तिका रूपमा स्थापित गर्न उहाँले प्रतिपादन गर्नुभएका विचारहरूले महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्। सिद्धान्तका निम्ति जीवन होइन, जीवनका निम्ति सिद्धान्त हुनुपर्ने मान्यता राख्नुहुने कमरेड मदन भण्डारीले नेपालमा माक्र्सवादको सिर्जनात्मक प्रयोग र विकासमा विशेष योगदान गर्नुभएको छ। नेपाली क्रान्तिको मौलिक सिद्धान्त एवं कार्यक्रमका रूपमा जनताको बहुदलीय जनवादको प्रतिपादन गरेर समकालीन कम्युनिष्ट आन्दोलनमा विशिष्ट योगदान पु¥याउनुभएको छ। लोकतन्त्रका विश्वव्यापी मूल्य–मान्यताहरूलाई आत्मसात् गर्दै कम्युनिष्ट पार्टीलाई नेपालको लोकतान्त्रिक आन्दोलनको अग्रणी शक्तिका रूपमा स्थापित गर्न, नेपालको विशिष्ट परिस्थिति अनुसार क्रान्तिको मौलिक बाटो र सिद्धान्तको विकास गर्न एवं प्रगतिशील राष्ट्रबादका आधारमा राष्ट्रिय हीतको दृढ पक्षपोषण एवं राष्ट्रियताका पक्षमा अथक संघर्ष गर्न जननेता मदन भण्डारीको देन विशिष्ट महत्वको रहेको छ। सिर्जनात्मक सोंच, राष्ट्र र जनताप्रतिको अविचलित निष्ठा, सादा जीवन र प्रभावशाली वक्तृत्वकलाका कारण जननेता मदन भण्डारी एक स्वतन्त्र सर्वेक्षणका आधारमा नेपालका बीसौं शताब्दीकै सर्वाधिक लोकप्रिय नेताका रूपमा स्थापित हुनुभएको थियो। ४१ वर्षको अल्पायूमै निधन हुनुभएका कमरेड मदन भण्डारीको आँधीमय जीवन हामी सबैका लागि प्रेरणाको विषय रहेको छ।

कुशल संगठकका रूपमा प्रतिष्ठित कमरेड जीवराज आश्रितले पार्टी संगठनको विस्तारमा उल्लेख्य भूमिका निर्वाह गर्नुभएको थियो। जनआधारित कार्यकर्ता पार्टीको अवधारणाअनुरुप शक्तिशाली कम्युनिष्ट पार्टी निर्माण गर्नमा उहाँले गर्नुभएको योगदान आज पनि प्रेरणादायी रहेको छ।

यी दुई लोकप्रिय नेताहरूकोे रहस्यमय दासढुंगा जीप दूर्घटनामा दुःखद निधन भएको आज २७ वर्ष बितेको छ। उक्त घटनाको रहस्य अझै उद्घाटित हुनसकेको छैन, तर आम नेपाली जनता त्यस घटनालाई सामान्य सडक दूर्घटना मान्न तयार छैनन्, उनीहरू मध्ये धेरैले यसलाई नेपालको लोकतान्त्रिक र देशभक्तिपूर्ण आन्दोलन विरुद्धको षड्यन्त्रपूर्ण हत्याका रूपमा लिन्छन्। २७औं मदन–आश्रित स्मृति दिवसको सन्दर्भमा हाम्रो पार्टी उक्त रहस्यमय घटनाको यथार्थको गहिरो अन्वेषण गर्र्दै सत्यतथ्य सार्वजनिक गर्न निरन्तर लागिरहने प्रतिबद्धता पुनः व्यक्त गर्दछ। उहाँहरूका विचार र आदर्शहरूलाई अनवरत अवलम्बन गरिरहने दृढ सङ्कल्प गर्दछ।

मदन–आश्रित स्मृति दिवसकै ऐतिहासिक सन्दर्भ पारेर ठीक २ वर्ष अगाडि २०७५ साल जेठ ३ गते हामीले नेपाल कम्युनिष्ट पार्टीको ऐतिहासिक एकीकरण गरेका थियौँ। नेपाली कम्युनिष्ट आन्दोलनका दुई प्रतिनिधि पार्टीहरू– नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को एकीकरण गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापना हुनु नेपाली राजनीतिको सामान्य परिघटना थिएन। यो दुई पार्टीको एकतामार्फत् संसदमा सर्वाधिक ठूलो पार्टी बनाउने प्राविधिक विषयमात्र पनि थिएन। यो त नेपाली कम्युनिष्ट आन्दोलनको टुटेको कडीलाई जोड्दै सशक्त कम्युनिष्ट पार्टी निर्माण गर्ने, मुलुकको राजनीतिक शक्ति सन्तुलनलाई श्रमजीवी जनताको पक्षमा अनुकूल बनाउने, देशभक्त शक्तिहरूको एकतालाई अझ सशक्त बनाउने र जनताको जनवाद कार्यान्वयन गर्दै समाजवादको आधारशीला निर्माण गर्ने ऐतिहासिक पहलकदमी थियो। वामपन्थी चुनावी गठबन्धन हुँदै पार्टी एकीकरणको दिशामा हामीले चालेका कदम गत निर्वाचनमा अत्यधिक नेपाली जनताबाट अनुमोदित भएको छ। र, आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई सामाजिक–आर्थिक रुपान्तरण र समृद्ध नेपाल निर्माणको ऐतिहासिक जनादेश प्राप्त छ।

माक्र्सवाद–लेनिनवादको मार्गदर्शन, नेपालको विशिष्ट परिस्थितिमा त्यसको सिर्जनात्मक प्रयोग र विकास, रणनीतिक लक्ष्य वैज्ञानिक समाजवाद र तात्कालिक कार्यक्रम जनताको जनवादजस्ता विषयले पार्टी एकताको वैचारिक, राजनीतिक जग निर्माण गरेका छन्। स्थापना कालदेखि नै राष्ट्रियता, लोकतन्त्र, जनजीविका र सामाजिक–आर्थिक रूपान्तरणका लागि भएका संघर्षहरूमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको यो पार्टी आज जनादेश प्राप्त गरेर राज्य सञ्चालनको केन्द्रीय भूमिकामा स्थापित भएको छ। विभाजन र एकताका अनेकौँ शृंखला पार गर्दै आउनेक्रममा शान्तिपूर्ण जनआन्दोलन र संसदीय संघर्षको बाटोबाट अघि बढेको नेकपा (एमाले) र जनयुद्धको बाटोबाट अघि बढेको नेकपा (माओवादी केन्द्र) बीच संवादका अनेकौँ सिलसिलाबाट २०६२÷६३ को जनक्रान्तिको आधार निर्माण भएको थियो। यिनै दुई पार्टीको पहलकदमी र वैचारिक नेतृत्वमा सम्पन्न २०६२÷६३ को शान्तिपूर्ण जनक्रान्तिबाट राजतन्त्रको अन्त्य भई आज मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ र सामाजिक न्याय, समावेशी एवं समानुपातिक लोकतान्त्रिक प्रणाली एवं धर्मनिरपेक्षता जस्ता उपलब्धीहरू हासिल भएका छन्। यो पार्टी संविधानको सर्वोच्चता, विधिको शासन, मानवअधिकार एवं मौलिक हकको प्रत्याभूति, शक्ति पृथकीकरणको सिद्धान्त, बहुलतायुक्त खुला समाज, बहुदलीय प्रतिस्पर्धा, आवधिक निर्वाचन, जननिर्वाचित प्रतिनिधिहरूद्वारा सरकार सञ्चालन, प्रतिपक्षको संवैधानिक व्यवस्था, स्वतन्त्र न्यायपालिकालगायत आधुनिक लोकतन्त्रका विश्वव्यापी मूल्य–मान्यतामा प्रतिबद्ध छ।

पार्टीले जनक्रान्तिका उपलब्धिहरूको रक्षा गर्दै शान्तिपूर्ण, संवैधानिक र लोकतान्त्रिक बाटोबाट मुलुकको सामाजिक–आर्थिक रूपान्तरण गर्ने र राष्ट्रिय पुँजीको विकास गर्दै सामाजिक न्याय एवं लोकतान्त्रिक मूल्यसहितको समाजवादको आधार निर्माण गर्ने विषयलाई तात्कालिक लक्ष्यका रूपमा निर्धारण गरेको छ। दलाल नोकरशाही पुँजीवादी शोषण, उत्पीडन र बाह्य हस्तक्षेपलाई परास्त गर्ने, आर्थिक, सामाजिक तथा साँस्कृतिक क्षेत्रमा विद्यमान सामन्तवादका सवै अवशेषहरूलाई समाप्त गर्ने र स्वाधीन राष्ट्रिय अर्थतन्त्रको जगमा समृद्ध नेपाल निर्माण गर्ने विषयलाई तात्कालिक कार्यभारका रूपमा तय गर्दै तिनलाई कार्यान्वयन गर्न केन्द्रित छ। स्वस्थ छलफलमा आधारित उन्नत वैचारिक एकता, स्वअनुशासनमा आधारित उन्नत संगठनात्मक एकता र उच्च संस्कारयुक्त, भावनात्मक एवं कमरेडली सम्बन्धले मात्रै हामीलाई यो ऐतिहासिक दायित्व पूरा गर्ने सामथ्र्य प्रदान गर्दछ भन्ने यथार्थप्रति पार्टी स्पष्ट छ।

गएका दुई वर्षमा पार्टी नेतृत्वको वर्तमान सरकारले ‘समृद्ध नेपाल र सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्न अथक प्रयाश गरेको छ। थुप्रै कठिनाइ र सीमाका बाबजुद यस क्षेत्रमा उल्लेखनीय उपलब्धी हासिल भएका छन्। मुलुकको मुहार बदल्न प्राप्त यस ऐतिहासिक एवं दूर्लभ अवसरलाई जस्तोसुकै प्रतिकूल परिस्थितिमा पनि सफल पार्न पार्टी दृढ संकल्पित छ।

एकीकरण यताका दुई बर्ष बीचमा हामीले पार्टीको संगठनात्मक एकीकरणलाई आधारभूत रूपमा सम्पन्न गरेका छौँ। केन्द्रीय कमिटीको निर्णय अनुसार ‘पार्टी एकता सदृढीकरण र जन–सम्बन्ध विस्तार अभियान’ सञ्चालन गर्दै एकता महाधिवेशनको तयारी गर्ने योजना कोभिड १९ ९कोरोना भाइरस० महामारीका कारण प्रभावित भएको छ। अब पनि एकीकरणका बाँकी कामहरूलाई छिट्टै सम्पन्न गर्दै पार्टीको सम्पूर्ण शक्तिलाई राष्ट्रिय राजनीतिक अभिभारा पूरा गर्नमा केन्द्रित गर्नु आवश्यक छ।

सिंगो विश्व यतिबेला कोरोना महामारीका विरुद्ध कठिन युद्धमा केन्द्रित छ। हाम्रो युगकै सर्वाधिक चुनौतीपूर्ण मानवीय संकटका रूपमा देखापरेको यस महामारीले वर्तमान विश्व प्रणालीमा रहेका कमीहरूलाई उजागर गरिदिएको छ, विकासको ढाँचामा रहेका त्रुटीहरूलाई प्रष्ट्याइदिएको छ र मानवकेन्द्रित नयाँ विश्व प्रणाली र विकास ढाँचाको खाँचो टड्कारो गरी औंल्याइदिएको छ। कोरोना महामारीले निम्त्याएको स्वास्थ्य संकटसँगै यसपछि आउने आर्थिक मन्दीले सिर्जना गर्ने संकट निकै जोखिमपूर्ण हुनेछ। सरकारको प्रभावकारी कदमका कारण नेपालमा हालसम्म कोरोना महामारी निकै हदसम्म नियन्त्रित अवस्थामै रहेको भए पनि खुल्ला सीमाना, लकडाउनको पूर्ण परिपालनाको अभाव र हाम्रा कमजोर स्वास्थ्य पूर्वाधारका कारण हामी उच्च जोखिममै छौँ। तसर्थ, हामी कोरोना महामारी विरुद्धको यस अभियानमा स्वयम्सेवी भावनाका साथ अग्रभागमा उभिएर योगदान गर्न समस्त पार्टीपङ्क्तिलाई आह्वान गर्दछौं। साथै कोरोना महामारीको प्रभावकारी रोकथाम, नियन्त्रण र उपचारसँगै यसले सिर्जना गरेको आर्थिक मन्दीसँग सरकारको अगुवाइमा एकताबद्ध भएर जुझ्न सबै राजनीतिक दलहरू एवं सम्पूर्ण देशवासीहरूमा हार्दिक अपिल गर्दछौं।

हार्दिक अभिवादन सहित,

केपी शर्मा ओली
अध्यक्ष

पुष्पकमल दाहाल ‘प्रचण्ड’
अध्यक्ष

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad