कला


हङकङको कर्पोरेट संसार छोडेर मिस नेपाल बन्न फर्केकी दीपमाला (भिडिओ)

हङकङको कर्पोरेट संसार छोडेर मिस नेपाल बन्न फर्केकी दीपमाला (भिडिओ)

लक्ष्मी बलायर
चैत २२, २०८२ आइतबार ७:११, काठमाडौँ

कहिलेकाहीँ सबैथोक भए पनि जीवन अधुरोजस्तो लाग्छ। ठ्याक्कै त्यस्तै भयो दीपमाला खरेल ढकाललाई पनि। एक वर्षअघि उनी एसियाकै व्यावसायिक हब मानिने हङकङमा बसेर ‘ब्ल्याकरक’ कम्पनीमा काम गर्थिन्। प्रतिष्ठित अमेरिकन कम्पनी, त्यसमाथि आकर्षक तलब। जुन धेरै युवाहरूको सपना हो।

दीपमालालाई भने त्यो लोभलाग्दो जागिरभन्दा प्यासन ठूलो भइदियो। त्यसैले त उनी ‘इन्भेस्टमेन्ट स्ट्राटेजिस्ट’को लोभलाग्दो जागिर छोडेर नेपाल आइन्। र अहिले आफ्नो सानैदेखिको सपना पूरा गर्ने दौडमा छिन्। एक महिनादेखि सन् २०२६ को ‘मिस नेपाल’ बन्न कडा मेहनत गरिरहेकी छिन्। दीपमाला मिस नेपाल हङकङ इन्टरनेसनल २०२५ की विजेता समेत हुन्। 

‘करिअर र प्रोफेसन भनेको एउटा कुरा हो। त्यो भन्दा पनि हरेक मान्छेको आफ्नै प्यासन हुनुपर्छ। जसलाई करिअरसँगै लानुपर्छ। जीवन पनि एकदमै रमाइलो हुन्छ। मलाई चाहिँ जीवन भनेको अनुभव हो जस्तो लाग्छ,’ उनले भनिन्, ‘फाइनान्स मेरो पहिलो प्यासन भयो। जुन म पछि पनि गर्न सक्छु। पेजेन्ट्रीका लागि एउटा निश्चित उमेर र ऊर्जा चाहिन्छ, त्यसैले यो मेरो लागि सही टाइम लाग्यो। ब्युटी पेजेन्ट प्लाटफर्मबाट समाजसेवा पनि गर्न मिल्छ, केटीहरूलाई पनि प्रेरणा दिन मिल्छ भनेर यो क्षेत्रमा आएँ।’

आमाको अधुरो सपना पछ्याउँदै
पहिलो पटक प्रतिस्पर्धाको तयारीमा जुटे पनि दीपमालाको मिस नेपालसँगको पुरानै साइनो छ। सन् १९९४ मा जब नेपालमा पहिलो पटक मिस नेपाल आयोजना भयो, तब उनकी आमाले त्यस प्रतियोगितामा भाग लिएकी थिइन्। आमाकै अनुभव सुन्दै हुर्किएकी दीपमालालाई यो मञ्च महिला सशक्तीकरणको एउटा बलियो माध्यम लाग्छ।

‘ममीले पहिलो मिस नेपाल प्रतियोगितामा भाग लिनु भएको थियो। त्यतिखेर उहाँ जम्मा १९ वर्षको हुनुहुन्थ्यो। र, चितवनबाट आएर उहाँले पहिलोचोटि आफ्नो लागि निर्णय लिएर फाराम भर्नुभएको थियो। सानैदेखि ममीको कुरा सुन्दाखेरी मलाई रमाइलो लाग्थ्यो। जति बुझ्दै गएँ, पूर्व मिस नेपालहरूको राम्रो काम हेर्दा पनि राम्रो लाग्थ्यो। उहाँहरूले समाजलाई केही न केही दिइरहेको देखेँ। त्यहीँबाट मिस नेपाल बन्ने रहर र सपना सुरु भएजस्तो लाग्छ,’ उनले सुनाइन्।

सन् १९९४ को ‘मिस नेपाल’ मा रुबी राणा विजेता घोषित भइन्। उनी नेपालको पहिलो मिस नेपाल समेत हुन्। आमाको त्यही अधुरो सपनालाई पछ्याउँदै दीपमाला मिस नेपाल बन्ने दौडमा लागिरहेकी छिन्। 

हुन त दीपमालालाई सबै पूर्व मिस नेपालहरू उत्तिमै क्षमतावान लाग्छ। तर, माल्भिका सुब्बालाई उनी खुब मन पराउँछिन्।

भन्छिन्, ‘मेरो मनपर्ने मिस नेपाल माल्बिका सुब्बा हो। म पनि २००२ मै जन्मेको हो। उहाँसँग मैले हङकङमा होस्ट गर्ने मौका पाएँकी थिएँ। उहाँको व्यक्तित्व बुझ्दा पनि एकदमै प्रेरणादायी लाग्यो। उहाँ निकै बोल्ड लाग्छ।’

अनि सुरू भयो नयाँ यात्रा
‘फाइनान्स एन्ड इकोनोमिक्स’ विषयमा स्नातक गरेकी दीपमालाका लागि वित्तीय क्षेत्रमा करिअर बनाउनु एउटा सपना थियो। ब्ल्याकरक जस्तो विश्वविख्यात कम्पनीमा दुई वर्ष काम गर्दा उनले धेरै प्राविधिक सीप सिकिन्। काम गर्दै जाँदा पैसा र करिअर मात्र जीवन होइन भन्ने महसुस भयो।

‘करिअरकै सुरुवातमा दुनियाँकै बेस्ट कम्पनीमा काम गर्न पाउँदा रमाइलो अनुभव भयो। २ वर्ष काम गर्दा फाइनान्ससम्बन्धी धेरै कुरा सिक्न पाएँ। तर, मलाई पैसा भनेको सबैथोक हो जस्तो लाग्दैन। करिअरसँगै प्यासन पनि हुन्छ। फाइनान्स मैले पछि पनि गर्न सक्ने कुरा हो। प्रतियोगितामा जानको लागि उमेरको क्राइटएरिया पनि हुन्छ र ऊर्जा पनि चाहिन्छ। यो सही समयजस्तो लाग्यो। मेरो जीवनको राम्रो च्याप्टर सुरु हुँदैछ जस्तो लागिरहेको छ,’ दीपमाला भन्छिन् ।

फाइनान्सबाहेक दीपमाला तेक्वान्दो खेलाडी र म्याराथन धाविका हुन्। गत वर्ष नै उनी मिस नेपालमा भाग लिने तयारीमा थिइन्। ठ्याक्कै एक हप्ताअघि उनको खुट्टा भाँचियो। तीन महिनासम्म उनले बेड रेस्टमा बस्नुपर्‍यो। तर, उनले हार मानिनन्। त्यही चोटले उनलाई अझ बलियो बनाएर यो वर्षको मञ्चमा उभ्याएको छ।

मिस नेपालको बलियो दाबेदारका रूपमा रहेकी दीपमालालाई आफ्नो आत्मविश्वास बलियो कडी लाग्छ।

‘काठमाडौँमा मिस नेपालको तालिम लिन थालेको एक महिना भयो। नेपाली भाषासहित सबै कुरा सिकिरहेकी छु। मिस नेपालको मञ्चमा मेरो बलियो शक्ति भनेको आत्मविश्वास नै हो। म हङकङको नेपाली समाज र विश्वभर छरिएका एनआरएन युवाहरूको प्रतिनिधित्व गर्दै यो मञ्चमा उभिएकी छु,’ उनी भन्छिन्, ‘ब्युटी पेजेन्ट सजिलो कुरा होइन, धेरैले हेरिरहनुभएको हुन्छ। त्यसैले आत्मविश्वास हुनुपर्‍यो। म राम्री छु, पर्फेक्ट छु भन्दा पनि म जे गरिरहेको छु, त्यो ठिक गरिरहेकी छु भन्ने विश्वास हुनुपर्छ। सबैको धेरै माया र साथ पाएकी छु। जित्छु भन्ने विश्वास छ।’

मिस नेपालको मञ्चमा दीपमालाले बोकेको मुख्य एजेन्डा हो: क्यान्सर विरुद्धको सचेतना। यो एजेन्डा उनको लागि एजेन्डा मात्र होइन, एउटा गहिरो घाउ पनि हो। किनकि उनले दाइलाई क्यान्सरकै कारण गुमाउनु परेको थियो।

भन्छिन्, ‘नेपालमा क्यान्सरको बारेमा रुढीवादी सोच छ। मैले अस्पतालकै कार्यक्रममा क्यान्सर पीडितलाई भेट्दा के बुझेँ भने यसलाई लिएर धेरै भ्रम रहेछ। क्यान्सर हुँदा राम्रो हुँदैन भन्ने गलत धारणा छ। अनि वंशाणुगत कारणले मात्रै हुन्छ भन्ने गलत बुझाइ छ। यदि समयमै लक्षणहरू थाहा भएको भए र चेक गराएको भए सायद मेरो दाइ आज जीवित हुनुहुन्थ्यो होला।’

नेपाल क्यान्सर अस्पतालको ‘गुडविल एम्बास्डर’ समेत रहेकी दीपमाला समाजमा व्याप्त रुढीवादी सोच चिर्न चाहन्छिन्। क्यान्सर हुँदैमा जीवन सकिँदैन र यो वंशाणुगत मात्र पनि हुँदैन भन्ने सन्देश नेपालमा फैलाउन चाहन्छिन्।

उनी भन्छिन्, ‘यो मेरो एजेन्डा मात्र होइन, मेरो परिवार र समाजका लागि एउटा व्यक्तिगत लडाइँ पनि हो।’

नेपाली जरासँग जोडिने प्रयास
दीपमाला एनआरएनए-आईसीसी को दोस्रो पुस्ता संयोजक हुन्। हङकङमै जन्मे हुर्किएकी उनी त्यस संस्थाकी कान्छी सदस्य समेत हुन्। जसकारण उनको एउटा ठूलो चिन्ता छ- पहिचानको संकट।

‘अहिले नेपालमा हुँदा धेरै छलफल हुने कुरा भनेको विदेश पलायन हो। १८-२० वर्षका युवाहरू देश छोडेर विदेश गइराख्नुभएको छ। अब पाँचदस वर्षमा सबैभन्दा ठूलो छलफल गर्ने विषय भनेको बाहिर जन्मेका नेपालीहरू हो। उहाँहरूको अनुभव कस्तो हुन्छ? सेन्स अफ आइडेन्टी के होला? यदि यो कुराको बारेमा सोचेनन् भने अर्को दस वर्षमा धेरै नेपाली युवाहरू बाहिर जन्मिन्छन्। उनीहरूले आफ्नो जरा बिर्सिए भने त्यो देशका लागि ठूलो सांस्कृतिक क्षति हुनेछ,’ दीपमालाले भनिन्।

विदेशमा जन्मे/हुर्केका नेपाली युवाहरूमा आफ्नो पहिचान र भाषाप्रतिको संकोच हटाउन उनी सक्रिय छिन्। एनआरएनको दोस्रो पुस्ताको संयोजकका रूपमा उनले प्रवासमा रहेका नेपालीलाई आफ्नो जरासँग जोड्ने अभियान थालेकी छन्।

‘आईसीसीमा हुँदा म भनिरहेकी हुन्छु, जता गए पनि हामीले आफ्नो रुट बिर्सनुहुन्न। हाम्रो भाषा, संस्कृति र संस्कार धेरै महत्त्वपूर्ण छ। मेरो नेपाली प्रस्ट नभए पनि मैले आफूलाई के भनिरहेकी छु भने बोल्न लजाउनु भएन। म लजाउँदा अरुले बोल्न चाहनुहुन्न,’ उनले भनिन्, ‘यो टिमको मुख्य दायित्व भनेकै बाहिर जन्मेहुर्केको नेपाली युवालाई एनआरएनएसँग जोडेर नेपाली संस्कृति र परम्परासँग कनेक्ट गराउने हो। आउँदो वर्ष दोस्रो पुस्तालाई स्वयमसेवकको रूपमा नेपाल ल्याइने छ। यता बसेर रमाइलो गर्दै उहाँहरूले नेपालको बारेमा सिक्नुहुनेछ।’

भिडिओ हेर्नुहोस् :

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad