बलिउड इतिहासकै कोशेढुङ्गा मानिने फिल्म ‘शोले’ निर्देशक रमेश सिप्पी यतिखेर नेपालमा छन्। उनै सिप्पीले शुक्रबार निफको नवौं संस्करणमा अभिनेता राजेश हमालसँग संवाद गरेका छन्।
‘सिनेमा संवादः रमेश सिप्पी र राजेश हमालसँग’ शीर्षकको अन्तर्क्रियात्मक कार्यक्रममा सिप्पीले निर्माणका रोचक पाटाहरू, सुरुवाती असफलता र निर्माणका क्रममा भोग्नुपरेका चुनौतीबारे खुलेर चर्चा गरे।
संवादका क्रममा निर्देशक सिप्पीले ‘शोले’ को सुरुवाती आइडिया प्रसिद्ध लेखक जोडी सलीम जावेदले सुरुमा निर्देशक मनमोहन देसाईलाई सुनाएको खुलासा गरे।
‘मनमोहन देसाईले यो मेरो शैलीको फिल्म होइन भनेर छोडिदिएपछि उनीहरू मकहाँ आएका थिए। त्यसपछि हामीले एक आर्मी अफिसर र दुई अपराधीको कथामा काम सुरु गर्यौं,’सिप्पीले भने।

सिप्पीका अनुसार ‘शोले’ मा हलिउडको वेस्टर्न शैलीको प्रभाव रहेको थियो। उनले लेखकहरूलाई ‘बुच क्यासिडी एन्ड द सन्डेन्स किड’ जस्ता फिल्महरूको सन्दर्भ दिएर स्क्रिप्ट तयार पार्न लगाएका थिए। फिल्मका लागि उपयुक्त लोकेसन खोज्ने क्रममा बैंगलोरबाट ५० किलोमिटर टाढाको चट्टानी क्षेत्र रोजिएको र त्यहाँ सिंगो गाउँ नै निर्माण गरिएको उनको भनाइ छ।
आज ऐतिहासिक रुपमा हेरिने ‘शोले’ रिलिजको समयमा भने निकै आलोचित बनेको थियो।
उनले सम्झिँदै भने, ‘सुरुमा ट्रेड पेपरहरूले यसलाई डिजास्टर फिल्म भनेर लेखेका थिए। तर छैंटो हप्तामा पुग्दा उनीहरुले यो ठूलो हिट भनेर स्वीकार गरे। दोस्रो र तेस्रो हप्तामा पुग्दा दर्शकले संवादहरू दोहोर्याइरहेका थिए, जसले गर्दा हामीलाई फिल्म सफल हुन्छ भन्ने थाहा थियो।’
सिप्पीका अनुसार सुरुमा ‘शोले’ १ करोडको बजेट अनुमान गरिएको थियो। तर, फिल्म सकिँदा यस चलचित्रको लागत निर्माण ३ करोड पुगेको थियो। मौसमको प्रतिकुलताका कारण एउटा दृश्य खिच्न मात्र २१ दिन लागेको अनुभव उनले सुनाए।

‘सुरुमा १ करोड बजेट थियो, तर बन्दै जाँदा यो ३ करोड पुग्यो। मौसमका कारण एउटा दृश्य खिच्न मात्र २१ दिन लागेको थियो। मेरो बुबाले मलाई कहिल्यै के गर्दैछौ भनेर सोध्नुभएन, उहाँले ममाथि विश्वास गर्नुभयो,’उनले भने।
त्यस्तै, अभिनेता राजेश हमालको एक प्रश्नमा सिप्पीले ‘शोले’ असफल भएको भए आफू यो ठाउँमा नहुने समेत खुलासा गरे।
सिप्पीले कलाकारहरू पर्दामा देखिने हुनाले दर्शकले उनीहरूलाई बढी सम्झिनु स्वाभाविक भएको बताए। तर, ‘मुगल–ए–आजम’ वा ‘मदर इन्डिया’ जस्ता फिल्महरूले मेकरलाई पनि जीवित राख्ने उनको तर्क छ।
वर्तमान सिनेमा र प्रविधिबारे बोल्दै सिप्पीले भने, ‘प्रविधिले कथा भन्ने शैलीलाई सघाउनुपर्छ, तर यसले भावनालाई ओझेलमा पार्नु हुँदैन। आज दर्शकहरू धेरै शिक्षित छन् र उनीहरूसँग ओटीटीजस्ता धेरै विकल्पहरू छन्। पहिले फिल्म हेर्न हलमै जानुपर्थ्यो।’
‘शोले’ को अपार सफलतापछि टेलिभिजनमा ‘बुनियाद’ जस्तो सफल टेलिसिरियल दिएका सिप्पीले अहिले मथुराको पृष्ठभूमिमा नयाँ प्रोजेक्टको तयारी गरिरहेको समेत बताए।
Shares

प्रतिक्रिया