भीष्मराज आङदेम्बे नेपाली कांग्रेस संसदीय दलको नेता बन्ने पक्का भएको छ। कांग्रेसले पूर्वसहमहामन्त्री तथा समानुपातिक सांसद आङदेम्बेलाई सर्वसम्मत दलको नेता बनाउन लागेको हो।
दलको नेता चयन प्रक्रिया अघि बढाउन आगामी शनिबार पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको महामन्त्री गुरुराज घिमिरेले बताए।
‘आगामी शनिबार बस्ने बैठकले निर्वाचन समिति बनाउनेछ, त्यसपछि दलको नेता चयन प्रक्रिया अघि बढ्छ,’ घिमिरेले भने।
उनका अनुसार दलको नेता सर्वसम्मतिबाट चयन गर्ने संस्थापन पक्षको तयारी छ। गत फागुन २१ गते प्रतिनिधि सभा निर्वाचनमा सभापति गगन थापासहित सबै शीर्ष नेता पराजित भएपछि समानुपातिकबाट सांसद बनेका आङदेम्बेलाई दलको नेता बनाउन लागिएको कांग्रेसका नेताहरू बताउँछन्।
कांग्रेसका एक पदाधिकारीले भने, ‘भीष्मराज आङदेम्बेजी सर्वसम्मत रुप संसदीय दलको नेता बन्नुहुन्छ। पार्टीभित्र बृहत् एकताको प्रस्थान विन्दु नै दलको नेता चयनबाट गर्न चाहन्छौँ।’
ती पदाधिकारीका अनुसार कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा निकट आङदेम्बेलाई सर्वसम्मत दलको नेता बनाउन सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्मा सकारात्मक छन्।
‘अर्जुननरसिंह केसी दाइले पनि संसदीय दलको नेतामा दाबी गर्नु भएको छ। उहाँ सबै हिसाबले योग्य पनि हुनुहुन्छ। तर, सभापति गगन थापा र उहाँको पारिवारिक सम्बन्धको विषय सधैँ उठिरहन्छ। यसले पार्टी र सभापतिलाई ड्यामेज गर्छ भन्ने हाम्रो साझा बुझाइ छ। त्यसैले भीष्मराज आङ्देम्बेजी नै दलको नेता बन्नुहुन्छ,’ उनले भने।
यता देउवा र शेखर कोइराला पक्ष पनि आङदेम्बेलाई दलको नेता बनाउन एकमत छ। कांग्रेस संसदीय दलको नेता चयनका सन्दर्भमा पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता डा शेखर कोइरालाबीच भेटवार्ता भएको थियो। चुनावपछि खड्काको निवासमा पुगेका कोइरालाले पार्टीको राजनीति र संसदीय दलको नेता चयनमा मिलेर जान समहत भएका थिए।
पूर्वसहमहामन्त्री बद्री पाण्डेले आङदेम्बे नै दलको नेता बन्ने परिस्थिति बनेको बताए।
‘अर्जुन दाइले शेखर दाइलाई दलको नेतामा सहयोग माग्नु भएको थियो। हामीले सर्वसम्मत हुने भए मात्र अगाडि सर्नुहोस् भन्यौँ। त्यसका लागि सबै पक्ष मिलाउनुपर्छ,’ पाण्डेले भने।
त्यस्तै, उपसभापति शर्माले पनि पूर्वसहमहामन्त्री केसीलाई दलको नेता बनाउन नसकिने सन्देश दिइसकेका छन्।
शर्मा निकट स्रोतले भन्यो, ‘विश्व दाइले अर्जुननरसिंह दाइलाई दलको नेता बनाउन नसकिने कुरा प्रस्ट भनिसक्नु भएको छ। सम्भवतः भीष्मराज दाइ नै दलको नेता बन्नुहुन्छ। विश्व दाइको सोच पनि त्यही देखिन्छ।’
विगतदेखि नै उपसभापति शर्मा र आङ्देम्बेको सम्बन्ध समधुर देखिन्छ। कांग्रेसले समानुपातिकतर्फ २० जना सांसद छान्दा ८ जना कोसी प्रदेशका परेका छन्। पाँचथरका आङ्देम्बेलाई दलको नेता बनाएर झापा निवासी उपसभापति शर्मा कोसी प्रदेशमा शक्ति केन्द्रित गराउने रणनीतिमा देखिन्छन्। बिहीबार भएको सांसदको शपथग्रहणमा पनि आङ्देम्बे प्रतिपक्षी दलको नेताको आसनको पहिलो नम्बरमा बसेका थिए।
२०७० सालमा भएको संविधानसभा निर्वाचनमा तत्कालीन पाँचथर–२ बाट निर्वाचित आङ्देम्बे संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण समितिको सभापति भएका थिए। आङ्देम्बेका हजुरबुवा देउमान आङदेम्बे २०१३ माघ २३ गते पुनर्गठित टंकप्रसाद आचार्य नेतृत्वको मन्त्रिपरिषदमा अर्थ तथा मालपोत उपमन्त्री भएका थिए। लिम्बू समुदायबाट पहिलो मन्त्री बन्ने अवसर देउमानले पाएका थिए।
सात दशक लामो इतिहास भएको कांग्रेसमा लिम्बू समुदायबाट दलको नेता बन्ने अवसर भीममराज आङदेम्बेले पाउने निश्चित भएको नेताहरू बताउँछन्। आङदेम्बेले दलको नेतामा आफ्नो दाबी रहेको भन्दै सबै पक्षबाट सकारात्मक जवाफ पाएको बताए।
उनले भने, ‘मैले पार्टीका सबै नेताहरूसँग भेटघाट गरिसकेको छु। सबैले सकारात्मक जवाफ दिनुभएको छ। केही दिनमा पार्टीले निर्णय गर्ला।’
पार्टीभित्रको विवादमा आङदेम्बेले मध्यमार्गी भूमिका देखाउन खोजेकाले उनको नाममा सर्वसम्मति हुने ती पदाधिकारीको भनाइ छ।
संसदबाट गगनको पक्षमा उभिए आङ्देम्बे
प्रतिनिधिसभाको पहिलो बैठकमा कांग्रेसका तर्फबाट सम्बोधन गरेका आङ्देम्बेले विशेष महाधिवेशनको स्वामित्व लिँदै सभापति गगन थापाको पक्षमा खुलेका छन्। ‘निरन्तरतामा नवीनता’ भन्ने दृष्टिकोण राखेको भन्दै कांग्रेसको विशेष महाधिवेशनले परिवर्तनको स्वर र भावनालाई आत्मसात गरेको उनको भनाइ छ।
‘हरेक कालखण्डमा कि त हरेक परिवर्तनको नेतृत्व कांग्रेसले गर्दै आयो, कि त अरुले उठाएको जायज मुद्दालाई निष्कर्षमा कांग्रेसले नै पुर्यायो । जेनजी विद्रोहले उठाएका मुद्दालाई पनि निष्कर्षमा पुर्याउन प्रतिबद्ध छ। एक जिम्मेवार प्रतिपक्षी दलका रुपमा यो परिवर्तनलाई साथ दिन, सघाउन र खबरदारी गर्न कांग्रेस प्रतिबद्ध छ,’ उनले भने, ‘परिवर्तनको स्वर र भावनालाई आत्मसात गरेर कांग्रेसको विशेष महाधिवेशनले विभिन्न दृष्टिकोण पारित गरेको म यहाँ स्मरण गराउन चाहन्छु।’
बीपी कोइरालाले नेतृत्व गरेर प्रारम्भ भएको कांग्रेस सुवर्ण शमशेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला र शेरबहादुर देउवा हुँदै विशेष महाधिवेशनबाट गगन थापालाई सभापति बनाएर बदलिएको समय र बदलिएको समाज अनुरुपको रुपान्तरणमा प्रवेश गरेको उनको भनाइ थियो।
‘छोटो समयमा परिवर्तनको त्यो सन्देश नागरिक पंक्तिमा पुर्याउन सकिएन। तर, आगामी दिनमा आफूभित्र, आफ्नो दलभित्र, सबै दलहरूभित्र र समग्र राजनीतिको शैली र व्यवहारलाई देशमा भएको परिवर्तन अनुरुप रुपान्तरण गरेर अघि बढ्नुपर्छ भन्नेमा प्रमुख प्रतिपक्षी दलका रूपमा हामी प्रष्ट छौं,’ उनले भने।
कांग्रेसको १४ औँ महाधिवेशनमा निर्वतमान सभापति शेरबहादुर देउवा पक्षबाट आङ्देम्बे सहमहामन्त्रीमा निर्वाचित भएका थिए। पुस २७–३० मा सम्पन्न विशेष महाधिवेशनको पनि उनी विपक्षमा थिए। फागुन २१ को प्रतिनिधिसभा निर्वाचनपछि उनी मझधारमा थिए।
देउवा–शेखर कोइराला समूहले सोमबार नवनिर्वाचित सांसदलाई बधाईका लागि धुम्बाराहीको स्मार्ट होटलमा राखेको कार्यक्रममा आङ्देम्बे अनुपस्थित थिए। मंगलबार र बुधबार सोही होटलमा १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यको बैठकमा पनि आङ्देम्बे देखिएका थिएनन्।
उनको सचिवालका अनुसार पितृशोकमा रहेका आङ्देम्बे सोमबार बिहानै झापा गएका थिए। उनी बुधबार मात्र काठमाडौँ आइपुगेकाले धुम्बाराहीको बैठकमा सहभागी नभएको उनको सचिवालयले जनाएको छ।
देउवा र थापा पक्षसँग समदुरीको सम्बन्धमा बसेका आङ्देम्बे संसदमार्फत थापाको पक्षमा प्रष्ट उभिएका छन्।
संसदमा आङ्देम्बेको लिखित भाषण पनि उपसभापति शर्माले तयार पारेको नेताहरू बताउँछन्। उनीहरूका अनुसार सभापति थापा र उपसभापति शर्माको सहमतिमै विपक्ष दलको बेन्चको पहिलो नम्बरमा आङ्देम्बेको आसनको व्यवस्था मिलाइएको हो।
Shares

प्रतिक्रिया