श्रम संस्कृति पार्टीका अध्यक्ष एवं नवनिर्वाचित प्रतिनिधि सभा सदस्य हर्कराज राई (हर्क साम्पाङ) ले प्रतिनिधि सभा बैठकमा बोल्न सांसदका लागि छुट्याइएको समय एकदमै कम भएको गुनासो गरेका छन्।
तर आफूलाई १ घण्टा ७ मिनेट बोल्ने इच्छा भएको उनले बताएका छन्।
‘सात मिनेट मात्रै बोल्न दिने भन्ने खबर आयो! सात मिनेट होइन, १ घण्टा ७ मिनेट बोल्न मन छ’, प्रतिनिधि सभा बैठक सुरु हुनुअघि बिहीबार बिहान उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘देशको स्वाधीनता, सम्प्रभुता अनि नेपाली जनताको पीर व्यथा र विकासको आकांक्षालाई लिएर।’
नवनिर्वाचित प्रतिनिधि सभाको पहिलो बैठक आज दिउँसो २ बजे सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनको बहुद्देश्यीय कक्षमा बस्दै छ।
आज राष्ट्रियसभासमेत दुवै सदनको अधिवेशन सुरु गर्न लागिएको हो।
राष्ट्रपति रामचन्द्र पौडेलले यही चैत १६ गते नेपालको संविधानबमोजिम मन्त्रिपरिषद्को सिफारिसमा आजका लागि सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका थिए।
राष्ट्रियसभाको बैठक भने संसद् सचिवालयस्थित राष्ट्रियसभा कक्षमा बस्नेछ।
दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीका १८२, नेपाली कांग्रेसका ३८, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का २५, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का १७, श्रम संस्कृति पार्टीका सात, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पाँच र एक स्वतन्त्र सांसदको प्रतिनिधित्व छ।
प्रतिनिधिसभामा तीन अध्यादेश पेस हुँदै आजको बैठकमा तीन अध्यादेश पेस हुँदै छन्।
बैठकमा गृहमन्त्री सुधन गुरुङले ‘मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’ र ‘नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश २०८२’ पेस गर्ने सम्भावित कार्यसूची तय भएको छ।
त्यसअघि बैठकमा सभाका ज्येष्ठ सदस्य/सभामुख अर्जुननरसिंह केसीले राष्ट्रपतिबाट प्राप्त अधिवशेन आह्वानसम्बन्धी पत्र तथा राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्री पदमा नियुक्ति तथा मन्त्रिपरिषद् गठनसम्बन्धी पत्र पढेर सुनाउनेछन्।
बैठकमा सभामुखले नेपालको संविधानको धारा, १०४ बमोजिम प्रतिनिधिसभाले आफ्नो नियमावली नबनाएसम्मका लागि प्रतिनिधिसभा नियमावली, २०७९ बमोजिम कामकारबाही गर्ने प्रस्ताव स्वीकृतिका लागि प्रस्तुत गर्ने संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए।
आज सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सदस्यहरूको मनोनय गर्ने सम्भावित कार्यसूची छ।
Shares

प्रतिक्रिया