राजनीति


ओली र लेखक चार दिनदेखि हिरासतमा, सुरु भएन बयान

ओली र लेखक चार दिनदेखि हिरासतमा, सुरु भएन बयान

नेपालखबर
चैत १७, २०८२ मंगलबार १५:३५, काठमाडौँ

जेनजी आन्दोलनमा गोली चलाउन आदेश दिएको आरोपमा पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बयान बुधबारदेखि मात्रै सुरु हुने भएको छ। 

शनिबार पक्राउ परेका ओलीलाई त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ। लेखक महाराजगञ्जस्थित प्रहरीको २ नं गणमा छन्। दुवै जनाको बयान बुधबारदेखि सुरु गरिने जिल्ला प्रहरी परिसर काठमार्डौँका प्रवक्ता एसपी पवनकुमार भट्टराईले बताए। 

‘तयारी भइरहेको छ। अब उहाँहरूको बयान भोलिबाट मात्रै सुरु हुन्छ’, एसपी भट्टराईले भने। प्रहरीले ज्यान मुद्दामा अनुसन्धान गर्नका लागि पहिलो पटक ५ दिनको म्याद पाएको छ। आइतबार काठमाडौँ जिल्ला अदालतले दुवै जनालाई अनुसन्धान गर्नका लागि ५ दिनको म्याद दिएको छ। त्यो म्याद बुधबार सकिँदैछ।

त्यसपछि अनुसन्धानका लागि हिरासतमा थप राख्न परे पुनः अदालतमा उपस्थित गराउनुपर्छ। ओली र लेखकले भने आफूहरूलाई प्रतिशोधपूर्ण ढंगबाट पक्राउ गरिएको दाबी गरेका छन्। 

यो दाबीसहित दुवै जनाको तर्फबाट सर्वोच्च अदालतमा पनि बन्दीप्रत्येक्षीकरणको निवेदन दायर भएको छ। उक्त निवेदनमा सर्वोच्चले सोमबार प्रारम्भिक सुनुवाइ गरेको छ। तर छुट्टा छुट्टै इजालसमा सुनुवाइ भएका निवेदनमा सर्वोच्चले रिहा गर्न आदेश दिएन। दुवै जनाको हकमा तीनदिन भित्रमा पक्राउ गर्नुको कारणबारे लिखित जवाफ पेश गर्न आदेश दिएको छ। 

तर बाटाको म्यादबाहेक तीनदिन भित्रमा जवाफ पेश गर्नु भनेकाले यो रिटको अन्तिम किनारा लाग्न समय लाग्नेछ। 

जेनजी आन्दोलनमा गोली चलाउन आदेश दिएको आरोपमा मंगलबार काठमाडौँका पूर्व प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल पनि पक्राउ परेका छन्। उनलाई भने हिरासतमा राख्न अनुमति माग गर्दै प्रहरीले मंगलबार अदालतमा उपस्थित गराउने तयारी गरेको छ। 

भदौ २३ र २४ गतेको जेनजी आन्दोलन जाँचबुझ आयोगले सुरक्षाकर्मी बाहेक यी तीन जना र तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडीलाई कारबाही गर्न सिफारिस गरेको छ। उनी भने पक्राउ परिसकेका छैनन्। 

सरकारले सुरक्षाकर्मी बाहेकको हकमा मात्रै तत्काल सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेको छ। 

सुरक्षाकर्मीको हकमा सिफारिस अध्ययन गर्न अर्को समिति बनाउने र उक्त समितिको सिफारिसका आधारमा कार्यान्वयनमा जाने सरकारको निर्णय छ। 

ओली र लेखकलाई मुलुकी अपराध संहिता २०७४ को दफा १८१ र १८२ अनुसार कारबाही सिफारिस भएको छ। जस अनुसार कसुर ठहर भएमा १० वर्षसम्म कैद हुन सक्ने व्यवस्था छ।

दुवाडी र रिजाललाई १८२ अनुसार सजाय गर्न माग गरिएको छ। यो दफा अनुसार कसुर ठहर भएमा दुई वर्षसम्म कैद सजाय हुने व्यवस्था छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad