राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को जिल्ला अधिवेशन आजदेखि सुरु हुँदैछ।
रास्वपाले देशका ६१ जिल्लामा आज र भोलि (शनिबार र आइतबार) अधिवेशन गर्न लागेको हो। रास्वपाले देशका ७७ वटै जिल्लातदर्थ समिति बनाएको छ। अरु १६ जिल्लाको अधिवेशन भने अर्को चरणमा गर्ने तयारी छ।
आज र भोलि जिल्ला अधिवेशन गरेर जेठ २६ देखि आगामी असार १ सम्म प्रदेश अधिवेशन सम्पन्न गर्ने कार्यतालिका रास्वपाले बनाएको छ।
रास्वपाको प्रथम महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा हुँदैछ।
रास्वपाले शनिबार ३६ जिल्ला र आइतबार २५ जिल्लाको अधिवेशनका लागि पार्टीका तल्लो समितिहरूलाई स्वीकृति दिएको महामन्त्री कबिन्द्र बुर्लाकोटीले जानकारी दिए।
अधिवेशनबाट रास्वपाको जिल्ला नेतृत्व चयन हुनेछ। अधिवेशनका लागि केन्द्रबाट नेताहरु जिल्लाजिल्लामा पुगेका छन्।
आज झापा, तेह्रथुम, मोरङ, ताप्लेजुङ, भोजपुर, संखुवासभा, ओखलढुंगा, सुनसरी, रौतहट, महोत्तरी, दोलखा, काठमाडौं, भक्तपुर, नुवाकोट, मकवानपुर, काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली, स्याङ्जा, कास्की, पर्वत, बागलुङ, म्याग्दीको अधिवेशन हुँदैछ।
त्यसैगरी गुल्मी, नवलपरासी, पाल्पा, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, रोल्पा, कालिकोट, सल्यान, बैतडी, बझाङ र दार्चुलाको जिल्ला पनि आजै अधिवेशन हुने रास्वपाले जनाएको छ।
जेठ २४ गते आइतबार २५ जिल्लाको अधिवेशन हुनेछ। भोलि उदयपुर, सोलुखुम्बु, खोटाङ, सिराहा, चितवन, ललितपुर, तनहुँ, नवलपुर, गोरखा, लमजुङ, अर्घाखाँची, रुपन्देही, रुपन्देही, प्यूठान, सुर्खेत, जाजरकोट, दैलेख, रुकुम, मुगु, जुम्ला, अछाम, डोटी, डडेल्धुरा, कैलाली, कञ्चनपुर र बाजुराको जिल्ला अधिवेशन हुने रास्वपाले जनाएको छ।
Shares

प्रतिक्रिया