नेपाली कांग्रेसका पूर्वउपसभापति पूर्णबहादुर खड्काले निर्वाचनपछि संसदमा उपस्थिति न्यून भएपनि प्रभावकारी भूमिका निर्वाह गर्न सांसदहरूलाई आग्रह गरेका छन्।
सोमबार नवनिर्वाचित सांसदहरूलाई बधाई दिन आयोजित कार्यक्रममा उनले पार्टीको इतिहास, आदर्श र जनताको हितलाई केन्द्रमा राखेर संसदमा आफ्नो भूमिका निर्वाह गर्न आग्रह गरे।
नेता खड्काले संविधान संशोधनको मुद्दा उठेकोले संसदमा प्रवेश गर्नसक्ने बताए। उनले पार्टीका सांसदहरूलाई राष्ट्रियता, स्वाभिमान र संविधानका मौलिक अधिकारमा कुनै सम्झौता नगर्न आग्रह गरे।
संविधान संशोधनको विषय आफूहरूले पनि उठाएको भएपनि त्यसमा प्रगति हुन नसकेको उनको भनाई छ। उनले संविधान संशोधन जनताको हितलाई केन्द्रमा राखेर हुनुपर्नेमा जोड दिए।
उनले भने, ‘संविधान संशोधनको विषय पनि प्रवेश गर्ने तयारीमा छ, हुन त हामीले पनि यो भन्दा अगाडीको सरकार निर्माण गर्दा संविधान संशोधनको मूल मुद्दा बनाएर अगाडी लैजाने सहमति गरेका थियौँ, तर त्यो दिशामा हामी अगाडी पुग्न सकेनौँ। अहिले पनि ती कुराहरू अगाडि आउनेछ, त्यसमा हामीले हाम्रो आदर्श, सिद्धान्त, हाम्रो मूल्य मान्यता, हाम्रो देशको राष्ट्रियता, हाम्रो स्वाभिमान र हाम्रो संविधानका मूलभूत अधिकारहरू जो नेपाली जनतालाई सार्वभौम बनाउने र अधिकारसम्पन्न बनाउने विषयमा केन्द्रित छन्, ती मूल विषयमा सम्झौता नगरिकन हामीले आजसम्मको अनुभवको आधारमा संविधान संशोधन प्रक्रिया अगाडी बढ्दा त्यतिबेला कांग्रेसको तर्फबाट संसदको बाहिर र भित्र संयुक्त रुपमा हामी तपाईहरूसँग रहनेछौँ।’
उनले लोकतान्त्रिक आन्दोलनको विरासत बोकेको कांग्रेसले संघीय लोकतान्त्रिक गणतन्त्रको संविधानको रक्षा, कार्यान्वयन र नागरिक अधिकारको सुनिश्चिततामा दृढतापूर्वक उभिने स्पष्ट पारे। संख्या कम भएपनि वैचारिक बल र ऐतिहासिक जिम्मेवारी कांग्रेसको ठूलो रहेको उनको भनाई छ।
खड्काले सांसदहरूलाई जनताको पक्षमा दरिलोसाथ संसदमा प्रश्तुत हुन पनि निर्देशन दिए। संसदमा चाहिने आवश्यक ज्ञान र सहयोग दिन आफूहरु तयार रहेको पनि उनको भनाई छ। उनले राष्ट्रिय सभा र प्रतिनिधिसभा सदस्यका बीचमा एकता कायम राखेर अगाडि बढ्न पनि आग्रह गरे।
Shares

प्रतिक्रिया