सत्तारुढ दलका दुई सांसद र पूर्वआईजीपीविरुद्ध दर्ता भएको अपहरण मुद्दाको अनुसन्धान गर्न महोत्तरी पुगेको अनुसन्धान टोली फर्किएको छ।
तत्कालीन समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवको अपहरणमा तीनै जनाको संलग्नता रहेको भन्दै शुक्रबार परिसरमा मुद्दा दर्ता भएको थियो।
वैशाख २६ गते अपहरण गरिएको भनिएको स्थान महोत्तरी प्रस्थान गरेको प्रहरी निरीक्षक नेतृत्वको तीन सदस्यीय टोली बुधबार काठमाडौं फर्किएको हो।
सरकारी वकिलको कार्यालयको पत्रपछि मुद्दा दर्ता गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले प्रहरी निरीक्षकलाई घटनाको अनुसन्धान गर्न महोत्तरी पठाएको थियो।
‘टोली घटनास्थलबाट फर्किएको छ, केही दिनमै अनुसन्धान सकिएला’, काठमाडौं प्रहरी परिसरका प्रमुख (एसएसपी) श्याम ज्ञवालीले नेपालखबरसँग भने।
पूर्व प्रहरी प्रमुख (आईजीपी) सर्वेन्द्र खनाल र सांसदद्वय महेश बस्नेत र कृष्णकुमार श्रेष्ठविरुद्ध तत्कालिन समाजवादी पार्टीका सांसद तथा पूर्व स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवले अपहरण मुद्दा दर्ता गरेका थिए।
सत्तापक्षका सांसद बस्नेत र श्रेष्ठ तथा पूर्व आईजीपी खनालले आफूलाई जबरजस्ति काठमाडौं ल्याएको डा. यादवले आरोप लगाएका छन्।
वैशाख ११ गते अपहरण भएको भनिएका सांसद यादव वैशाख १४ गते मात्रै महानगरीय प्रहरी परिसर काठमाडौंमा जाहेरी दर्ता गर्न गएका थिए।
सुरुमा मुद्दा दर्ता गर्न नमानेको प्रहरीले सरकारी वकिलको कार्यालयको पत्रपछि मुद्दा दर्ता गरेर अनुसन्धान अगाडि बढाएको हो।

प्रतिक्रिया