समाज


कोरोना अनुसन्धान गर्न विदेशीलाई नेपाली जिन दिने ६ डाक्टरलाई सोधियो यस्तो स्पष्टीकरण

कोरोना अनुसन्धान गर्न विदेशीलाई नेपाली जिन दिने ६ डाक्टरलाई सोधियो यस्तो स्पष्टीकरण

मणि दाहाल
जेठ १, २०७७ बिहिबार १२:५३,

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुका चिकित्सकहरुलाई उनीहरुले कोरोना अनुसन्धानका लागि विदेशीलाई नेपालीको जिन दिएको भन्दै स्पष्टीकरण सोधेको छ।

नेपाली ६ जना चिकित्सकहरुले विदेशीसँग मिलेर नेपालका पहिलो कोरोना संक्रमित युवाको जिनमाथि अनुसन्धान गर्नुका साथै विदेशी जर्नलमा वैज्ञानिक लेखसमेत प्रकाशित गरेका थिए।

नेपालको पहिलो कोरोना संक्रमित युवा चीनको वुहानबाट आएका थिए, जसको कोरोना परीक्षण गर्न स्वाव हङकङ विश्वविद्यालयस्थित विश्व स्वास्थ्य संगठनको ल्याबमा पठाउने क्रममा अनुमतिबिनै जिनेटिक (अनुवांशिक) सिक्वेन्सिङ गरिएको खुलासा भएको हो।

टेकुका डाक्टरहरुको टोलीले ती युवाबाट संकलन गरिएको नमुनाबाट परिषद्को अनुमतिबिनै विदेशमा जिनेटिक (अनुवांशिक) सिक्वेन्सिङ गरेपछि परिषद्ले स्पष्टिकरण सोधेको हो। यस सम्बन्धमा नेपालखबरले बुधबार राती पहिलो पटक विशेष रिपोर्ट प्रकाशित गरेको थियो।

राष्ट्रिय प्रयोगशालाका डा.रन्जीत साह र डा. रुना झा, टेकु अस्पतालका डा. अनुप बास्तोला, इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका डा. विवेक कुमार लाल, डा. हेमन्त चन्द्र ओझा र डा. वासुदेव पाण्डेलाई परिषदले स्पष्टीकरण सोधेको हो।

यो अनुसन्धानमा संलग्न सबै चिकित्सकहरू अहिले नेपालमा कोरोना महामारी नियन्त्रणको क्रममा अग्र पंक्तिमा खटिएका छन्। नेपालखबरलाई प्राप्त स्पष्टीकरण पत्रमा ‘तपाईंहरूमाथि किन कारबाही नगर्ने’ भन्दै सात दिनभित्र लिखित स्पष्टीकरण दिन भनिएको छ।

स्पष्टीकरण पत्रमा भनिएको छ, ‘नेपाल स्वास्थ्य अनुसन्धान परिषद् ऐन, २०४७ को दफा ११ बमोजिम कुनैपनि मानव स्वास्थ्यसँग सम्बन्धित अनुसन्धान कार्य गर्दा परिषद्को पूर्व स्वीकृति लिनुपर्नेमा स्वीकृति नलिईकन अनुसन्धान कार्य सम्पन्न गरी वैज्ञानिक लेख समेत प्रकाशन गरेको पाइएको हुँदा तपाईंहरुले परिषदबाट स्वीकृती नलिई उक्त अनुसन्धानमुलक लेख प्रकाशन गरे बापत तपाईंहरुलाई किन कारवाही नगर्ने?’

सात दिनभित्र कारणसहित लिखित जवाफ मागिएको पत्रमा भनिएको छ, ‘‘कारबाही गर्न नपर्ने कुनै मनासिव कारण भए सोको स्पष्ट लिखित जवाफ प्रमाण सहित यो पत्र प्राप्त भएको मितिले ७ दिनभित्र परिषदमा पेश गर्न नेपाल स्वास्थ्य अनुसन्धान परिषद् ऐन, २०४७ को दफा १२ ९३० बमोजिम परिषद्को मिति २०७७/०१/२६ मा निर्णय भएको हुँदा निर्देशानुसार जानकारीका लागि अनुरोध छ।’

याे पनि:  अनुमतिबिनै पहिलो नेपाली संक्रमितको नमुनाबाट विदेशमा कोरोनाको जिन सिक्वेन्सिङ

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .