शुक्रबार राति २ बजे नै पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवासमा २ गाडी प्रहरी पुगिसकेका थिए।
सूचना पाएर भक्तपुरको गुण्डुस्थित निवासमा ओलीसँग सय हाराहारी नेता-कार्यकर्ता भेला भइसकेका थिए।
ओली निवासको गेट बन्द थियो। शनिबार बिहान ५ बजेसम्म प्रहरीको संख्या थपिँदै थियो।
उता भक्तपुरकै कटुन्जेमा तत्कालीन ओली सरकारकै गृहमन्त्री रमेश लेखकको निवासमा पनि प्रहरी रातिदेखि नै तैनाथ भइसकेका थिए।
निवासभन्दा केही टाढा ओरालोमा थियो प्रहरीको गाडी। प्रहरी अधिकारीहरू पक्राउ गर्न आएपछि बिहान ओलीले रमेश लेखकलाई टेलिफोन गरेर भने, ‘तपाईं गिरफ्तारी दिएर जानुस्, म पनि आउँछु।’
यसअघि शुक्रबार बेलुका पनि ओली र लेखकको भेट भएको थियो।
सरकारले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन आफूहरूको हकमा तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको थियो।
प्रहरीका हकमा तत्काल कार्यान्वयन नगर्ने तर ओली, लेखक, तत्कालीन गृहमन्त्री गोकर्णमणि दुवाडी र काठमाडौँका त्यतिबेलाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको हकमा तत्काल कारबाही अगाडि बढाउन सरकारले सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय गरेको थियो।
मन्त्रिपरिषद् बैठक लगतै गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षलाई आफ्नो कार्यकक्षमा बोलाएर यस विषयमा छलफल अगाडि बढाएका थिए।
त्यतिबेलासम्म लेखकको घरको गेट बन्द थियो। त्यसपछि लेखकले पौने ६ बजेतिर गिरफ्तारी दिए। लेखकको घरमा भीड थिएन। सरक्कै प्रहरीको गाडीमा पसेर गए।
लेखक र ओलीलाई एकसाथ पक्राउ गर्ने प्रहरीको योजना थियो। त्यहीअनुसार दुवैतर्फ प्रहरी अधिकारीहरू खटाइएको थियो। जिल्ला प्रहरी परिसर काठमाडौँ, भक्तपुर र काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट टोली परिचालन गरिएको थियो।
कटुन्जेबाट लेखक पक्राउ परेको खबर गुण्डुमा फैलियो। त्यसपछि प्रहरी ओली निवासतर्फ खघि बढ्यो। बन्द गेट बल प्रयोग गरेर खोल्यो।
अनि प्रहरी अधिकारीहरू भित्र पसे। प्रहरीलाई अवरोध गर्ने प्रयासमा लागेका कार्यकर्तालाई लाठि चार्ज गर्यो। बाहिर जति जटिल थियो, भित्र ओली भने निकै सहज देखिए।
ओलीलाई जरुरी पक्राउ पुर्जी दिन गएका प्रहरीलाई ओलीले भने, ‘किन यति धेरै प्रहरी ल्याउनुभएको, हुल ल्याउनै पर्दैनथ्यो नि, म आफैँ गइहाल्थेँ नि!’
त्यसपछि ओलीले दुई लाइनको पक्राउ पुर्जी सहजै बुझे र प्रहरीसँग जाने तयारी गरे। जानुअघि उनले पत्नी राधिकालाई अंकमाल गरे। अनि कार्यकर्ताको भिडबाट अगाडि बढे।
ओलीलाई उनकै गाडिमा चढाएर लगिएको थियो। गुण्डुबाट सिधै जिल्ला प्रहरी परिसर काठमाडौँको भद्रकालीस्थित कार्यालयमा लगियो। त्यहाँको कानुन शाखामा लगेर ओलीलाई राखियो। अनि स्वास्थ्य जाँचका लागि कागजात तयार गरे।
केही बेरमै उनलाई त्यहाँबाट फेरि त्रिवि शिक्षण अस्पताल महाराजगन्जतिर लगियो। यता रमेश लेखकको भने त्यतिबेलासम्म तीनकुनेको कान्तिपुर अस्पतालमा स्वास्थ्य परीक्षण गरिसकिएको थियो। लेखकलाई पनि परिसर लगिएको थियो। तर उनलाई छुट्टै कोठामा राखियो।
त्यसपछि ओलीलाई त्रिवि शिक्षण अस्पतालमा राखियो। लेखकलाई भने महाराजगन्जकै प्रहरीको २ नं गणमा लगियो। गणमा लगेपछि लेखकसँग भेट्न बन्देज लगाइएको छ।
उता शिक्षण अस्पतालमा ओलीलाई राखेपछि त्यहाँबाट अन्य बिरामीलाई भने बाहिर निकालिएको छ। ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ।
डाक्टरले निगरानीमै राख्नुपर्छ भनेपछि ओलीलाई टिचिङ अस्पतालमै भर्ना गरिएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता, एसपी पवनकुमार भट्टराईले बताए।
‘डाक्टरले उहाँलाई हाम्रै निगरानीमा राख्नुपर्छ भनेकाले अस्पतालमै भर्ना गरिएको हो’, एसपी भट्टराईले नेपालखबरसँग भने।
आज उनीहरूलाई हिरासतमै राखिने छ। शनिबार भएकाले कानुनी प्रक्रिया अगाडि बढ्ने छैन।
आइतबार अदालतमा म्याद थपका लागि उपस्थित गराउनुपर्नेछ। ओली र लेखकले त्यसका लागि तयारी पनि साथै अगाडि बढाएका छन्। यसअघिको भेटमै उनीहरूले कानुनी लडाइँ कसरी लड्ने भन्ने सल्लाह गरिसकेको लेखक निकट नेताले बताए।
म्याद थपका लागि लैजाँदा त्यसकोविरुद्धमा बहस गर्ने र सँगै सर्वोच्च अदालतमा बन्दी प्रत्येक्षीकरणको निवेदन पनि दायर गर्न उनीहरूको तयारी छ। ओली र लेखकलाई ज्यान सम्बन्धी कसुरमा कारबाही अगाडि बढाउन जाँचबुझ आयोगको सिफारिस छ।
आयोगले दुवै जनालाई मुलुकी अपराध संहिता २०७४ को दफा १८१ र १८२ अनुसार कारबाही गर्न सिफारिस गरेको छ। अब यही दफा अनुसार प्रहरीले अनुसन्धान गरेर अदालतमा मुद्दा लैजाने प्रक्रिया अगाडि बढाउने छ। तर उनीहरूलाई थुनामै राखेर अनुसन्धान गर्ने कि नगर्ने भन्ने विषयमा भने अदालतको म्याद थप पछि मात्रै तय हुनेछ।
उनीहरूले आफूलाई थुनाबाहिरै राखेर अनुसन्धान गर्न माग गर्नेछन्। तर जिल्ला सरकारी वकिल कार्यालयले भने थुनामै राखेर अनुसन्धान गर्न अनुमति माग गर्नेछ।
भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा ७६ जना मारिएका थिए। प्रहरीको गोली लागेर ४२ जनाको मृत्यु भएको थियो। प्रहरीलाई गोली चलाउन आदेश दिएको आरोप उनीहरूलाई छ। तर आयोगको बयानमा भने दुवै जनाले आदेश दिएको अस्वीकार गरेका छन्।
गोली चलाउने प्रहरीको हकमा भने थप अध्ययन गरेर मात्रै निर्णय गर्ने भएको छ। आयोगले नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र राष्ट्रिय अनुसन्धान विभागका अधिकारीहरूलाई पनि कारबाही गर्न सिफारिस गरेको छ।
उनीहरूलाई तत्काल कारबाही नगर्ने तर ओली र लेखकलाई तत्काल पक्राउ गर्न सुधनले शुक्रबार रातभर सुरक्षा प्रमुखहरू, गृहसचिव र कानुन सचिवसँग आईजीपी निवासमा छलफल गरेका थिए। त्यही छलफलबाट अहिले नै पक्राउ गरेर कारबाही अगाडि बढाउने सहमति जुटेको थियो।
यसैबिच आज आफ्ना नेता पक्राउ परेपछि एमालेले सचिवालय र कांग्रेसले पदाधिकारी बैठक राखेका छन्।
शनिबार बिहान पार्टी कार्यालय च्यासलमा बसेको एमाले सचिवालय बैठकले अध्यक्ष ओलीको पक्राउविरुद्ध कानुनी र राजनीतिक कदम चाल्ने निर्णय गरेको छ।
यो खबर लेख्दासम्म कांग्रेसको निर्णय भने आइसकेको छैन।
Shares

प्रतिक्रिया