राजनीति


बालेन भन्थेः डेढ वर्षमै पुल बन्नुपर्छ, आफ्नै विज्ञ सल्लाहकारलाई बनाए भौतिक मन्त्री

बालेन भन्थेः डेढ वर्षमै पुल बन्नुपर्छ, आफ्नै विज्ञ सल्लाहकारलाई बनाए भौतिक मन्त्री

सुनिल लम्साल


नेपालखबर
चैत १३, २०८२ शुक्रबार १२:१३, काठमाडौँ

नेपाली राजनीतिमा स्थापित हुन कपाल फुलाउनुपर्छ र दशकौँसम्म दलीय झन्डा बोकेर सडक नाप्नुपर्छ भन्ने पुरानो मानकलाई ३५ वर्षीय सुनिल लम्सालले भत्काइदिएका छन्। पेसाले स्ट्रक्चरल इन्जिनियर रहेका लम्सालले राजनीतिमा यस्तो छलाङ मारेका छन्, जुन विरलैले पाउने अवसर हो।

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को 'किचन टिम' बाट २०८२ पुसदेखि सुरु भएको लम्सालको राजनीतिक यात्रा अहिले देशको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको बागडोर सम्हाल्नेसम्म आइपुगेको छ। रोचक संयोग त के छ भने, उनै बालेन प्रधानमन्त्री बन्दा लम्सालले मन्त्रिपरिषद्मा सबैभन्दा महत्त्वपूर्ण मध्येको एक मन्त्रालयको जिम्मेवारी पाएका छन्।

मेयर पद छाडेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मार्फत राष्ट्रिय राजनीतिमा जोडिएका बालेनकै 'कोटा' मा लम्साल दुई महिनाअघि पार्टीको महामन्त्री नियुक्त भएका थिए। महामन्त्री बनेको छोटो समयमै उनी आफ्नो प्राविधिक क्षमता अनुसारकै मन्त्रालयको नेतृत्व गर्न सफल भएका हुन्। महानगरमा बालेनका विज्ञ सल्लाहकार रहेका लम्साल अब प्रधानमन्त्रीको योजना कार्यान्वयन गराउने मुख्य ठाउँमा आइपुगेका छन्।

लम्सालको चर्चा त्यतिबेला चुलिएको थियो, जब उनले काठमाडौँ महानगरपालिकामा बालेनको पूर्वाधार सल्लाहकारको कमान सम्हाले। फोहोरमैला व्यवस्थापनलाई वैज्ञानिक र वातावरणीय सन्तुलनका रूपमा हेर्नुपर्ने उनको रणनीतिले महानगरको कार्यशैलीमा परिवर्तन ल्याएको थियो। फोहोरमैला व्यवस्थापनमै विद्यावारिधि गरिरहेका लम्साल प्राविधिक ज्ञान र राजनीतिक कुशलताको दुर्लभ मिश्रण मानिन्छन्।

गएको फागुन २१ को निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर १ बाट भारी जनमतसहित विजयी भएका लम्साल पहिलो प्रयासमै मन्त्री बन्ने थोरै भाग्यमानी सांसदमध्ये पर्छन्।

चुनौती पनि छ
२०४७ असोज ६ गते स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा जन्मिएका लम्सालले बाल्यकाल र युवावस्था रुपन्देहीको तिलोत्तमामा बिताएका हुन्। बुबा बोधराज र आमा जमुनाका तीन छोरामध्येका माइलो लम्साल हाल तिलोत्तमा-७ का स्थायी बासिन्दा हुन्। २०६२/६३ को जनआन्दोलनमा सडकमा उत्रिएका उनले लुम्बिनी इन्जिनियरिङ कलेजमा पढ्दाताका नै आफ्नो राजनीतिक चेतको जग बसेको बताउने गरेका छन्।

लम्सालले सम्हालेको भौतिक पूर्वाधार मन्त्रालय विकास बजेटको सबैभन्दा ठुलो हिस्सा ओगट्ने र बढी बेथिति हुने क्षेत्र मानिन्छ। 'क्रोनी क्यापिटलिज्म' र निर्माण व्यवसायीको लापरबाहीका कारण रुग्ण बनेका आयोजनाहरूलाई गति दिनु उनको मुख्य चुनौती हो।

प्रधानमन्त्री बालेन शाहले सार्वजनिक रूपमै 'कुनै पनि काम डेढ-दुई वर्षमा सकिनुपर्छ' भन्दै आएका छन्। स्ट्रक्चरल इन्जिनियर समेत रहेका मन्त्री लम्सालमाथि अब सडक र पुलको ठेक्का लाग्ने तर काम नहुने परिपाटी अन्त्य गर्ने र प्रधानमन्त्रीको द्रुत विकासको सपनालाई सडकमा उतार्ने मुख्य जिम्मेवारी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad