राजनीति


वास्तु हेराएर मिलाइयो प्रधानमन्त्रीको कार्यकक्ष, क्याबिनेटमा बालेनको आसन फर्काइयो उत्तर

कूटनीतिक भेटघाटको आसनदेखि झण्डा र सोफासम्म परिवर्तन
वास्तु हेराएर मिलाइयो प्रधानमन्त्रीको कार्यकक्ष, क्याबिनेटमा बालेनको आसन फर्काइयो उत्तर

तस्बिर : सागर न्यौपाने


लोकेन्द्र भट्ट
चैत १२, २०८२ बिहिबार २१:१९, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को संसदीय दलका नेता तथा प्रधानमन्त्रीमा प्रस्तावित बालेन्द्र शाह ‘बालेन’ले वास्तुशात्र अनुसार प्रधानमन्त्री कार्यालयको आसन मिलाएका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा बालेनले आफ्नो कार्यकक्ष र मन्त्रिपरिषद बैठकको आसन वास्तु अनुसार मिलाएका हुन्। 

बुधबार सह–सचिव प्रदीप परियारसहित ३ जनाको टोलीले प्रधानमन्त्री कार्यालयमा वास्तु अनुसार सबै सेटअप मिलाएको प्रधानमन्त्री कार्यालयका एक कर्मचारीले नेपालखबरलाई जानकारी दिए। बालेन शाह काठमाडौँ महानरपालिकाको मेयर हुँदा प्रदीप परियार कार्यकारी प्रमुख थिए। उनै परियार वास्तुविज्ञ लिएर बिहीबार पनि प्रधानमन्त्री कार्यालयमा बालेन शाहको आसन मिलाउन पुगेका थिए। साथमा बालेनका विश्वासपात्र कुमार बेन पनि थिए। 

वास्तुविज्ञले प्रधानमन्त्री कार्यालयका सचिव गोविन्द कार्कीलाई तीन वटा कुरा मिलाउन निर्देशन दिएका थिए। 

ती कर्मचारीले भने, ‘क्याबिनेटको मिटिङ हलको सेटअप चेन्ज भएको छ। प्रधानमन्त्रीज्यूले डिप्लोम्याटसँग भेट गर्ने ठाउँको आसन पनि परिवर्तन भएको छ।’

ती कर्मचारीका अनुसार प्रधानमन्त्री बस्ने कुर्सी बदलिएको छ भने ठाउँ यथावत छ। 

‘प्रधानमन्त्रीको कुर्सी उत्तरतिर फर्किएको छ। त्यसलाई यथावत राखिएको छ। तर, टेबुलमा राखिएको सिसा निकालिएको छ,’ ती कर्मचारीले भने, ‘राष्ट्रिय निशान चिन्हलाई दाहिने पारेर कुर्सीको सेटिङ मिलाइएको छ। पहिले प्रधानमन्त्रीको कुर्सीको ठीकपछाडि निशान चिन्ह राख्ने गरिन्थ्यो।’ 

बिहीबार नेपालखबरको टोली पुग्दा प्रधानमन्त्रीको कार्यकक्षमा राखिएको कुर्सी मिलाउने काम भइरहेको थियो। यो सबै बालेनको टोलीले दिएको निर्देशन अनुसार गरिएको एक कर्मचारीले बताए।

क्याबिनेटमा पहिले प्रधानमन्त्रीको आसन पूर्व दिशा फर्किएको थियो भने अहिले उत्तर दिशा फर्काइएको ती कर्मचारीको भनाइ छ। प्रधानमन्त्री कार्यालयमा राखिएको झण्डा पनि फेरिएको छ। प्रधानमन्त्री कार्यालयका सचिव गोविन्द कार्कीले आज प्रधानमन्त्रीको कार्यकक्षको निरीक्षण गरेका थिए। प्रधानमन्त्री कार्यालयमा नयाँ सोफा ल्याइएको छ। 

नेपालखबारको टोली प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय पुग्दा मुख्यसचिव सुमनराज अर्याल नयाँ सरकार निर्माणको सरकारी कामकाजमा रातिसम्म व्यस्त थिए। प्रधानमन्त्रीको कार्यकक्षमा आजबाट मुख्यसचिव र सचिवको अनुमतिबिना प्रवेश गर्न रोक लगाइएको छ।

रास्वपाका नेताहरूका अनुसार बालेनले प्रधानमन्त्री कार्यालयलाई निकै शक्तिशाली बनाउने तयारी गरेका छन्। बालेनले प्रत्यक्ष निर्वाचित कार्यकारीले झैँ शक्तिशाली प्रधानमन्त्रीको अभ्यास गर्ने योजना बनाएका छन्। जस अनुसार प्रधानमन्त्री कार्यालय अन्तर्गत धेरै विभागहरूमा विज्ञहरूले काम गर्ने छन् र, मन्त्रालयका कामहरूको अनुगमन हुनेछ।

बालेन वैदिक विधि अनुसार शुक्रबार मध्यान्ह १२:३४ मा राष्ट्रपति भवन शीतल निवासमा प्रधानमन्त्रीको शपथ लिने तयारीमा छन्। रास्वपाका महामन्त्री कबिन्द्र बुर्लाकोटीका अनुसार शपथग्रहण समारोहमा ७ वटा शंखबाट शंखनाद गरिने भएको छ भने १०८ वटा बटुकबाट स्वस्ति शान्ति वाचन गरिने छ। 

यससँगै शपथग्रहण समारोहमा बौद्ध भिक्षुलाई पनि निम्त्याइएको उनको भनाइ छ। समारोहमा १६ जना बौद्ध भिक्षुबाट अष्ठमंगल पाठ गरिने उनले बताए। प्रधानमन्त्रीको शपथ लिएपछि दिउँसो पद बहालीको कार्यक्रम तय गरिएको छ। शुक्रबार दिउँसो २ बजेर १५ मिनेटमा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बालेनले पद बहाली गर्ने छन्।

कम्पाउन्डभित्र नो–इन्ट्री
प्रधानमन्त्री कार्यालयको कम्पाण्डभित्र अनुमतिबिना प्रवेश निषेध गरिने छ।

प्रधानमन्त्री कार्यालयका एक कर्मचारीले भने, ‘अहिले प्रधानमन्त्री कार्यालयको मूल ढोकासम्म आउन मिल्छ। भोलिबाट कम्पाउन्डको गेटबाट भित्र आउन माथि (प्रधानमन्त्रीको सचिवालय)बाट प्रवेश अनुमति दिनुपर्ने छ।’

विगतमा जेनजीहरुले प्रधानमन्त्री कार्यालयको ढोकामा हुलदंगा गरेको भन्दै भोलिबाट कम्पाउन्डको गेटभित्र प्रवेश गर्न पनि अनुमति चाहिने बनाइएको ती कर्मचारीले बताए। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको गेटभित्र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागसहितका सरकारी कार्यालय छन्। प्रधानमन्त्री कार्यालयको गेटमा प्रवेश अनुमति चाहिँदा राष्ट्रय परिचयपत्रको कार्यालयमा नागरिकलाई सहज प्रवेशमा कठिनाइ हुने देखिन्छ। 

भदौ २४ गते आन्दोलनकारीबाट सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आगजनी भएपछि गृह मन्त्रालयका लागि निर्माण गरिएको नयाँ भवनमा अस्थायी रुपमा नयाँ प्रधानमन्त्री कार्यालय राखिएको छ। आगजनीले ध्वस्त प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय कहिले बन्छ यकिन छैन। यद्यपि, मर्मतको काम अगाडि बढेको संघीय सचिवालय तथा निर्माण व्यवस्थापन आयोजना प्रमुख चक्रवर्ती कण्ठले जानकारी दिए। 

आगजनीले सिंहदरबारको प्रधानमन्त्री कार्यालयको पश्चिमपट्टिको भाग सबैभन्दा बढी क्षति भएको उनको भनाइ छ। 

‘सबैभन्दा बढी क्षति भएकोले समय लागेको हो, प्रबलीकरण गर्ने कि पुनर्स्थापना गर्ने भन्ने छलफलकै क्रममा छ,’ कण्ठले नेपालखबरसँग भने, ‘हामी सकेसम्म छिटो काम सक्छौँ, त्यसपछि बोलपत्र लगाउँछौँ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad