महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय खारेज गर्ने तयारी गरिएको भन्दै अधिकारकर्मीहरूले विरोध प्रदर्शन गरेका छन्। नयाँ सरकार गठनको तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मन्त्रालयको संख्या घटाउने प्रस्ताव अघि सारेपछि महिला तथा मानव अधिकारकर्मीहरूले बिहीबार माइतीघर मण्डलामा भेला भई विरोध जनाइरहेका हुन्।
प्रदर्शनमा उत्रिएका अधिकारकर्मीहरूले राज्यको आधा हिस्सा ओगट्ने महिलाहरूको सवाललाई सम्बोधन गर्ने विशिष्ट मन्त्रालयको अस्तित्व जोगाउनुपर्ने माग गरेका छन्। उनीहरूले बालबालिका र ज्येष्ठ नागरिक जस्ता संवेदनशील समूहका मुद्दाहरूलाई अन्य मन्त्रालयमा गाभ्दा ती विषयहरू ओझेलमा पर्ने र प्राथमिकतामा नपर्ने खतरा रहेको औंल्याएका छन्।
मन्त्रालयको संख्या घटाउने नाममा समावेशी र न्यायपूर्ण संरचनाको मर्ममा प्रहार गर्न नहुने उनीहरूको जिकिर छ।
सिमान्तकृत समुदायको अधिकार संरक्षणका लागि छुट्टै र शक्तिशाली संयन्त्रको आवश्यकता रहेको उल्लेख गर्दै प्रदर्शनकारीहरूले 'महिला मन्त्रालय खारेज गर्न पाइँदैन' र 'राज्यको संरचनामा महिलाको अर्थपूर्ण उपस्थिति सुनिश्चित गर' जस्ता नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।
सरकारले मन्त्रालयको संख्या कटौती गर्ने गृहकार्य गरे पनि कुन–कुन मन्त्रालय गाभिने भन्नेबारे औपचारिक निर्णय भने भइसकेको छैन।
Shares

प्रतिक्रिया