झापा–५ बाट सानदार विजय हासिल गरी प्रधानमन्त्री बन्ने तरखरमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साह यतिबेला सार्वजनिक रुपमा कतै देखा परेका छैनन्। तर, उनी विश्राम लिएर मौन बसेका नभई सिंहदरबार प्रवेश गर्नुअघि तयारीका काममा लागेको रास्वपाका नेताहरू बताउँछन्।
दुई हप्तायता काठमाडौँको एक होटलमा बसिरहेका बालेनले नेपालको प्रशासनिक संरचनालाई नै बदल्ने विषयमा व्यापक छलफल गरिरहेको नेताहरूको भनाइ छ। सभापति रवि लामिछानेलाई उनले आफू बसेकै होटेलमा बोलाएर पटक पटक छलफल गरिसकेका छन्।
दुवै नेताका सचिवालय सदस्यहरूले दिएको जानकारी अनुसार प्रधानमन्त्री नियुक्त भएको पहिलो दिनदेखि नै काम गर्नका लागि बालेनले गुरुयोजना बनाइसकेका छन्। त्यसका लागि उनले पूर्वप्रशासक, सुरक्षा विज्ञ र प्राविधिक टोलीसँग परामर्श गरेका छन्।
सरकारको न्यूनतम साझा कार्यक्रमसहित मन्त्रिपरिषद्ले गर्ने पहिलो निर्णयलाई समेत बालेनले अन्तिम रुप दिइसकेको नेताहरूको भनाइ छ। यद्यपि, त्यसलाई अहिले नै सार्वजनिक गर्न नसकिने उनीहरूले बताए।
‘हामीले वाचापत्रमा लेखेकै अनुसार सरकारले सय दिनमा गर्ने कामको सूची तयार पारिसकिएको छ,’ रास्वपा महामन्त्री कबिन्द्र बुर्लाकोटीले भने, ‘सरकारको पहिलो निर्णय सरप्राइजिङ खालकै हुन्छ भन्नेछ।’
बालेनले आगामी चैत १३ गते वैदिक कर्मकाण्ड विधिअनुसार प्रधानमन्त्रीको शपथ लिनेछन्।
‘प्रधानमन्त्रीको शपथ मध्यान्ह १२ः३४ बजे ७ वटा शंखबाट शंखनाद, १०८ जना बटुकबाट स्वस्ति शान्ति वाचन, १६ जना बौद्ध भिक्षुबाट अष्टमंगल पाठ गरेर हुनेछ,’ बुर्लाकोटीले थपे, ‘सिंहदरबारमा करिब २ः१५ बजे पदबहाली हुने व्यवस्था मिलाइएको छ।’
परिणाम निकाल्ने मन्त्रिपरिषद्
रास्वपाका प्रवक्ता मनिष झा र केन्द्रीय सदस्य सुशान्त वैदिकका अनुसार बालेनले राज्यकोषमा भार थपिरहेका मन्त्रालयको संख्या घटाउने निर्णय लिनेछन्। सम्भवतः १५ वटा मन्त्रालय रहन सक्नेछ। बाँकी मन्त्रालय मर्जर गरिनेछ।
‘मन्त्रिपरिषद् सानो र छरितो हुनेछ, जहाँ प्रत्येक मन्त्रीले संख्यात्मक होइन, गुणात्मक नतिजा दिनुपर्ने कुरामा उहाँको जोड रहेको बुझेको छु,’ वैदिकको भनाइ छ।
बालेनले क्षमता भएका सांसदलाई काम गर्न जिम्मेवारी दिइसकेको वैदिक बताउँछन्। सागर ढकाल लगायत आफूसहितका कम्तीमा २० सांसदलाई क्षमता र ज्ञान अनुसारको कामको जिम्मेवारी दिएर खटाएको उनले बताए।
सय दिनमै परिवर्तन देखाउने रोस्टर
सरकारी कार्यालयमा आम नागरिकले भोग्दै आएको सास्ती हटाउन बालेनले आफ्नो कार्यकालको सुरुवात केही ‘बोल्ड’ निर्णयबाट गर्दैछन्। विशेषगरी सवारी चालक अनुमति पत्र लिन हुने ढिलासुस्ती हटाउनेगरी उनले योजना तयार पारेका छन्।
रास्वपाकी कोषाध्यक्ष लिमा अधिकारीले सय दिन, चार महिनामै जनतामा परिवर्तन देखिने गरी काम गर्ने रोस्टर बनिरहेको बताइन्।
‘बालेनले चाँडै डेलभरी दिने कामको सुरुवात गर्नुपर्छ भनेर विभिन्न विज्ञसँग बसेर सल्लाह गरी योजना बनाइरहनुभएको छ,’ उनले भनिन्, ‘हाम्रो फ्रेमवर्क र प्राथमिकतामै केन्द्रित हुनुभएको छ।’
रास्वपाले नागरिकसँग करारपत्र गरेको छ। यस्तै सय बुँदामा रहेको वाचापत्र पनि अघि सारेको थियो।
‘झन्झिटिलो सेवा प्रवाह डिजिटलाइज्ड गरेर जाने निर्णय हुन्छ, सवारी चालक अनुमतिपत्र लिन भइरहेको ढिलाइ अन्त्य गर्ने निर्णय हुन्छ,’ अधिकारीले थपिन्।
२० बढी विभाग, विकास समिति र बोर्ड खारेज गर्ने तयारी
सभापति रवि लामिछाने र बरिष्ठ नेता बालेनले केही सरकारी संरचना खारेज गर्ने र केहीलाई स्थानीय तहमा पठाउनुपर्ने निष्कर्ष निकालेका छन्। रास्वपा प्रवक्ता मनिष झाका अनुसार विज्ञ र पूर्वप्रशासकले दिएको सुझावका आधारमा वर्षौँदेखि राजनीतिक भागबण्डाका आधारमा नियुक्ति हुँदै आएका तर परिणाम दिन नसकेका २० बढी विभाग, विकास समिति र बोर्ड खारेज गर्ने तयारी छ।
‘राजनीतिक पृष्ठभूमिको व्यक्ति भए पनि क्षमता भएका आधारमा भएका राजनीतिक नियुक्तिहरू ठिकै छ। तर, अनावश्यक कार्यकर्ता भरणपोषणका लागि राज्यलाई भार दिने किसिमले गरिएका नियुक्ति खारेज गर्ने भनेका हौँ,’ प्रवक्ता झाले भने, ‘त्यसरी नियुक्ति गरिएको संख्या ११७० वटा छन्। कतिपय आयोग र नियोगहरू त हामीलाई चाहिएकै छैन, करदाताको पैसामा भार मात्र हो।’
रास्वपाले राजनीतिक नियुक्ति पाएकालाई स्वैच्छिक राजीनामा गर्न आग्रह गरेको छ।
तत्काल गर्ने १०–१५ वटा काममा विज्ञसँग छलफल
बालेनको मन्त्रीपरिषदले विगतमा राजनीतिक भागबन्डा हुने गरेका संवैधानिक निकाय, आयोग र संस्थानहरूमा विज्ञताको आधारमा नियुक्ति दिने निर्णय गर्दैछ। ०४६ यताका उच्चपदस्थ व्यक्ति, सार्वजनिक पदमा रहेकाहरूको सम्पत्ति छानबिन गर्नेबारे पनि निर्णय हुनसक्छ।
रास्वपाको कोषाध्यक्ष अधिकारीले भनिन्, ‘राज्य तहबाट भइरहेका ढिलासुस्तीले युवामा रहेको नैराश्य हटाउन विशेष कार्यक्रम आउँछ।’
त्यसका लागि संसदका काम गरिसकेका, विज्ञता हासिल गरेका, भोलि नतिजा दिनसक्ने सांसदलाई मन्त्री बनाउने अधिकारी बताउँछिन्।
सोही अनुसार सरकार गठनदेखि सरकारले गर्ने कामको प्राथमिकीकरणको विषयमा सभापति रवि लामिछाने र वरिष्ठ नेता संवादमा छन्। निजी क्षेत्रको मनोबल उकास्न, लगानीमैत्री वातावरण बनाउन सुरक्षाको प्रत्याभूतिसहितको कार्यक्रम आउने उनको दाबी छ।
‘तत्काल गर्नुपर्ने १०–१५ वटा कामको प्लानिङ गरिरहनुभएको छ, जुन सकारात्मक हो,’ अधिकारीले भनिन्, ‘काम गर्नुअघि विज्ञसँग बसेर तयारी गर्ने अभ्यासले सरकारले सुरुदेखि नै जनतामा नयाँ उत्साह थप्छ।’
Shares

प्रतिक्रिया