राजनीति


यी सांसद जसको नाम सभामुखका लागि चर्चामा छ

यी सांसद जसको नाम सभामुखका लागि चर्चामा छ

नेपालखबर
चैत १०, २०८२ मंगलबार १५:५, काठमाडौँ

नेपालको राजनीतिमा निर्णायक शक्तिका रूपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सभामुखमा कसलाई अघि सार्दै छ भन्ने अहिले आम चासोको विषय बनेको छ। गत फागुनमा सम्पन्न प्रतिनिधि सभाको चुनावमा रास्वपा १८२ सिट जितेर संसदको सबैभन्दा ठूलो दल बनेको छ।

सरकारको नेतृत्व वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले गर्न लागेका छन्। प्रतिनिधि सभाको चुनावअघि नै रास्वपाले शाहलाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरेको थियो। 

अर्को, संसद्को नेतृत्व कसले गर्छ? अहिले सभामुखका विषयमा अनेक खालका अड्कलबाजी भइरहेका छन्। कतिपय नेताले उपसभापति डोलप्रसाद अर्याल, सोविता गौतम र प्रतिभा रावलको नाम चर्चामा रहेको बताएका छन्। 

आफ्नै दलले सभामुख पाउने भएपछि सभापति लामिछानेले अनुभवी र कानुनको जानकारलाई बनाउने तयारी गरेका छन्। विभिन्न सांसदका योग्यता र क्षमता हेरेर लामिछाने परामर्शमै रहेको नेताहरू बताउँछन्। 

संवैधानिक परिषद्को शक्ति सन्तुलन, सभामुखबाट हुने गरेका कार्यसम्पादन लगायत विषयमा गम्भीर हुनुपर्ने भएकोले लामिछानेले विश्वासिलो व्यक्तिलाई सभामुखमा अघि सार्ने निकटस्थ बताउँछन्। अघिल्लो पटक देवराज घिमिरे सभामुख हुँदा आफूले हण्डर खाएको बताउँदै आएका उनी यसपटक निकै सोचविचार गरेर सभामुखबारे निर्णय लिने निकटस्थहरूको भनाइ छ।  

को-को छन् चर्चामा? 

नेताहरूका अनुसार कानुन बुझेको, संसदीय अभ्यास गरिसकेको व्यक्तिलाई अघि सार्ने लामिछानेको योजना छ। तथापि, कुनै नेता विशेषको नाम अहिले नै सार्वजनिक गरिसकेका छैनन्।

यद्यपि, चितवन क्षेत्र नम्बर ३ बाट निर्वाचित सोविता गौतमलाई सभामुख बनाउने उनको योजना रहेको निकटस्थ बताउँछन्। गौतम अघिल्लो पटक पनि सांसद थिइन्। 

कानुन व्यवसायी समेत रहेकी उनी संसद्को कार्यसञ्चालन र संवैधानिक जटिलताहरूलाई बुझ्न सक्ने क्षमता राख्छिन्। त्यसैले सभापति लामिछानेको रोजाइमा गौतम परेकी छन्। तर, गौतम सभामुखका लागि तयार नभए प्रतिभा रावललाई अघि सार्ने सम्भावना रहेको नेताहरू बताउँछन्। 

यस्तै, रास्वपा उपसभापति डोलप्रसाद अर्याललाई मन्त्री नै बनाउने योजनामा लामिछाने छन्। अर्यालले गृहमन्त्रीको अपेक्षा गरेका छन्। गृह मन्त्रालय नपाए सभामुख बनाउनेबारे उनी परामर्शमै छन्।

लामिछानेको सचिवालयका एक सदस्यका अनुसार मन्त्री चयनका विषयमा वरिष्ठ नेता शाहसँग छलफल भइरहेको छ। ‘कुराकानी दैनिकजसो निरन्तर भइरहेको छ। हिजो पनि उहाँहरूबीच फोनमै संवाद भयो,’ उनी भन्छन्, ‘सरसल्लाहबाटै धेरै कुराको निर्णय हुन्छ।’

रास्वपा महामन्त्री कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्री नियुक्त भएपछि मात्र सभामुखका विषयमा छलफल हुने बताउँछन्। सभामुखमा गौतमको नाम चर्चामा रहेको बुर्लाकोटीले स्वीकार गरे। 

‘सभामुख परिपक्क होस् भन्ने हो, उमेरले मात्र होइन, तर २७४ जनाले सम्बोधन गर्ने माथिल्लो मर्यादाको पद भएको हुनाले, त्यही अनुसार व्यक्तित्वका विषयमा छलफल भइरहेको छ,’ बुर्लाकोटीले नेपालखबरसँग भने, ‘सबैको बारेमा छलफल होला तर टुंगिएको छैन।’ 

सभामुखका लागि छलफलको क्रममा धेरै नेताको नाम आइरहेको बुर्लाकोटी बताउँछन्। ‘सोविताजीको मात्र होइन, धेरै साथीहरूको प्रस्ताव आएको छ, फेरि व्यक्तिको रुचीको पनि कुरा हुन्छ,’ उनी भन्छन्, ‘यो त १४ गतेतिर मात्र टुंगिन्छ।’

लामिछाने निकट सहप्रवक्ता विपिन आचार्य पनि दुई-चार जना नेतामध्ये गौतमको पनि सम्भावना रहेको बताउँछन्। ‘सबै हिसाबले उहाँको नाम आउनु स्वाभाविक हो,’ आचार्य भन्छन्, ‘तर, सभापतिजीले कसलाई सभामुख बनाउने भनेर कुनै संकेत दिइसक्नुभएको छैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad