राजनीति


कांग्रेसको १५औँ महाधिवेशन भदौमा, यस्तो छ देउवा-कोइरालाको रणनीति

कांग्रेसको १५औँ महाधिवेशन भदौमा, यस्तो छ देउवा-कोइरालाको रणनीति

लोकेन्द्र भट्ट
चैत १०, २०८२ मंगलबार १३:२०, काठमाडौँ

नेपाली कांग्रेसको १५औँ महाधिवेशन आगामी भदौ अन्तिम साता गर्ने गरी कार्यतालिका बनेको छ। गत पुस २७-३० मा सम्पन्न कांग्रेस विशेष महाधिवेशनबाट चयन भएको केन्द्रीय कार्यसमितिले नियमित महाधिवेशन भदौ अन्तिम साताका लागि तय गरेको हो। 

कांग्रेसका महामन्त्री प्रदीप पौडेलले भने भदौ २४ गते बीपी जन्मजयन्तीको अवसर पारेर १५औँ महाधिवेशन उद्घाटन गर्नेगरी कार्यतालिका तयार भएको नेपालखबरलाई बताए। ‘भदौ २४ मा बीपी जन्मजयन्ती हो। पार्टीको १५औँ महाधिवेशन पनि सोही दिन उद्घाटन गर्ने गरी कार्यतालिका बनेको छ,’ पौडेल भन्छन्, ‘आज बस्ने केन्द्रीय कार्यसमिति बैठकमा कार्यतालिका पेश हुन्छ। भदौ अन्तिममा सुरु भएर असोजको पहिलो साताभित्र १५औँ महाधिवेशन सम्पन्न हुन्छ।’  

कांग्रेसमा टोल, वडा, पालिका, प्रदेश सभा निर्वाचन क्षेत्र, प्रतिनिधि सभा निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश र केन्द्र गरी ८ तहमा अधिवेशनबाट नयाँ नेतृत्व आउने व्यवस्था छ। 

असारसम्म क्रियाशील सदस्यताको काम सकेर तल्लो तहको अधिवेशन सुरु हुने सह-महामन्त्री योगेन्द्र चौधरीले बताए। ‘क्रियाशील सदस्यतताको काम धेरै ठाउँमा सकिएको छ। क्रियाशील सदस्यता खारेजीले महाधिवेशनमा अन्योल ल्याउने होकि भन्ने छ,’ पार्टीको क्रियाशील सदस्यताको विषय हेरिरहेका चौधरी भन्छन्। 

उनका अनुसार सबै क्रियाशील सदस्यता सबै खारेज गरेर नयाँ तरिकाले अघि बढ्ने सुझाव पनि आइरहेको छ। ‘६ हजार क्रियाशील सदस्य भएको ठाउँमा २ हजार पनि मत आएको छैन। अधिकांश निर्वाचन क्षेत्रमा क्रियाशील सदस्यभन्दा मत कम आएपछि प्रश्न खारेजीको प्रश्न स्वाभाविक उठेको छ,’ उनी भन्छन्। 

विशेष महाधिवेशनपछि कांग्रेसबाट किनारा लागेका पूर्वसभापति शेरबहादुर देउवा र वरिष्ठ नेता डा. शेखर कोइराला समूह भने पार्टीको आधिकारिता विवादबारे सर्वोच्च अदालतमा विधाराधीन मुद्दाको फैसलाको प्रतिक्षामा छ। विशेष महाधिवेशनबाट आएको कार्यसमितिलाई मान्यता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध तत्कालीन सभापति देउवा र कार्यवहाक सभापति पूर्णबहादुर खड्काले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

कांग्रेसको वैधानिकतासम्बन्धी विवादको रिटमा सर्वोच्च अदालतले यहि चैत २२ गतेका लागि पेसी तोकेको छ। अदालतबाट आधिकारिता विवादको मुद्दाको निरुपण नभएसम्म महाधिवेशन प्रक्रियामा सामेलन नहुने देउवा-कोइराला पक्षको रणनीति छ। 

अदालतबाट हुने फैसलापछि मात्र महाधिवेशनमा सहभागिताबारे टुंगो लाग्ने पूर्व सहमहामन्त्री बद्री पाण्डे बताउँछन्। ‘अहिले पार्टीको आधिकारिताको विषय सर्वोच्च अदालतमा छ। अदालतले १४औँ महाधिवेशनबाट आएको कार्यसमितिलाई आधिकारिता दियो भने पूर्णबहादुर खड्काको नेतृत्वमा कांग्रेस महाधिवेशनमा जान्छ,’ पाण्डे भन्छन्, ‘विशेष महाधिवेशनबाट आएको कार्यसमितिले आधिकारिता पाए गगन थापाले महाधिवेशन गराउनुहुन्छ।’

सर्वोच्च अदालतबाट आधिकारिता पाउने पक्षले गराउने महाधिवेशनमा आफूहरू सहभागी हुने उनको भनाइ छ। ‘नेपाली कांग्रेसभन्दा बाहिर हामी जाँदैनौँ। आधिकारिता पाएको पक्षले गर्ने महाधिवेशनमा हामी सहभागी हुन्छौँ,’ कोइराला निकट नेता पाण्डे भन्छन्, ‘शेखर कोइराला सभापतिमा प्रतिस्पर्धा गर्नुहुन्छ। हामी उहाँको टिममा बसेर अगाडि बढ्छौँ।’

उनका अनुसार पार्टीको आधिकारिताको राजीतिक र कानुनी लडाइमा देउवा समूहसँग उभिएको कोइराला समूह फैसला आफ्नो पक्षमा नआए पनि नयाँ पार्टी बनाएर जाने पक्षमा छैन। पूर्वकार्यवाहक सभापति खड्का, नेताहरू प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला लगायतका नेताहरू कांग्रेसको ठूलो पंक्ति विशेष महाधिवेशनमा बाहिर रहेको सन्देश दिन समान्तर बैठक र भेला गर्नुपर्ने पक्षमा जोड दिइरहेका छन्।

देउवा पक्षका अधिकांश नेताहरू पार्टीमा बृहत सहमति खोजेर एकताबद्ध भएर नियमित महाधिवेशनको तयारीमा लाग्नुपर्ने पक्षमा देखिन्छ। सभापति थापा र उपसभापति विश्वप्रकाश शर्मासँग अनौपचारिक संवादमा १५औँ महाधिवेशन आयोजक समिति बनाउन देउवा पक्षका नेताहरूको प्रस्ताव छ।

विशेष महाधिवेशनबाट आएको कार्यसमिति भंग गरेर १५औँ महाधिवेशन आयोजक समिति बनाउने प्रस्तावमा कोइराला पक्ष पनि सकारात्मक छ। विशेष महाधिवेशनबाट आएको समिति भंग गरेर आयोजक समिति बनाउँदा पार्टीको एकता र सर्वोच्च अदालतमा दायर रिट फिर्ताको बाटोमा जान सकिने देउवा पक्षको भनाइ छ। 

देउवा पक्षीय एक नेता भन्छन्, ‘१४औँ महाधिवेशनबाट आएको समिति विघटन भएकै छ। विशेष महाधिवेशनबाट आएको कार्यसमिति पनि विघटन गरेर १५औँ महाधिवेशन आयोजक समिति बनाएर जाँदा पार्टीमा एकता कायम हुन्छ। मुद्दा मामिलाको विषय पनि टुंगिन्छ।’ 

संस्थापन पक्ष विशेष महाधिवेशनबाट आएको कार्यसमिति भंग गर्ने पक्षमा देखिएको छैन। विशेष महाधिवेशनमा छुटेका मुख्य नेताहरूलाई मनोनित गरेर केन्द्रीय समितिलाई पूर्णता दिएर नियमित महाधिवेशनमा होमिनु पर्ने संस्थापन पक्षको प्रस्ताव छ। 

विशेष महाधिवेशनबाट चयन १३४ सदस्यीय केन्द्रीय कार्यसमितिमा देउवा र कोइराला पक्षको प्रतिनिधित्व छैन। गत पुस १८ मा बसेको तत्कालीन केन्द्रीय कार्यसमितिले आगामी वैशाख २८ देखि ३१ का लागि नियमिति महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको थियो। तत्कालीन महामन्त्री थापा र शर्माको आह्वानमा भएको विशेष महाधिवेशनबाट नयाँ कार्यसमिति आएपछि वैशाखमा तोकिएको महाधिवेशन भदौमा हुने अवस्था बनेको छ। 

केन्द्रीय कार्यसमितिमा महाधिवेशनको कार्यतालिका पेस गरेर सभापति थापा र उपसभापति शर्माले पार्टीभित्र संवाद अगाडि बढाउने महामन्त्री पौडेल बताउँछन्। खड्काले संवादमा रुचि नदेखाए पनि देउवा पक्षका नेताहरू बालकृष्ण खाण, ज्ञानेन्द्रबहादुर कार्की, रमेश लेखकलगायतका नेताहरू सभापति थापा र उपसभापति शर्मासँग नियमित संवाद रहेको जनाइएको छ। 

महामन्त्री पौडेल पनि देउवा र कोइराला समूहका नेताहरूसँग संवादको कोशिस भइरहेको बताउँछन्। ‘पूर्व नेताहरूलाई सम्मान गर्न चाहन्छौँ। उहाँको साथ, सल्लाह सुझावमा अगाडि बढ्न चाहन्छौँ। छलफल र परामर्श गछौँ,’ पौडेल भन्छन्, ‘उहाँहरूले विधि र प्रक्रिया स्वीकार गरेको अवस्थामा अभिभावक मानेर परामर्श गरेर जाने कुरामा कुनै समस्या छैन।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad