गृहमन्त्री ओमप्रकाश अर्यालले नयाँ संसद भवनको निर्माण र व्यवस्थापन पक्षको निरीक्षण गर्दै सबै तयारी पूरा भएको बताएका छन्।
निरीक्षणका क्रममा उनले प्रतिनिधि सभाको छुट्टै बैठक र आवश्यक परेको खण्डमा दुवै सदनको संयुक्त बैठक सञ्चालनका लागि समेत पूर्वाधार तयार रहेको जानकारी दिएका हुन्।
उनले कार्यव्यवस्था समितिको बैठक कक्ष र सभामुखको कार्यकक्ष समेत तयार भइसकेको जानकारी दिए। शपथ ग्रहणका लागि मात्र नभई पूर्ण अधिवेशन सञ्चालनका लागि समेत भवन तयार रहेको उनको भनाइ छ।
सिट प्लानिङ र फर्निचरको व्यवस्थापनलाई ‘राम्रो’ भन्दै उनले माइक र स्क्रिन जडानको काम समेत द्रुत गतिमा भइरहेको उल्लेख गरे।
‘निर्माण पक्षबाट अब सबै तयारी छ, अहिले। यसमा प्रतिनिधि सभाको अलग्गैको लागि पनि छ र प्रतिनिधि सभा र राष्ट्रिय सभा दुई वटैको संयुक्त गर्नुपर्यो त्यस्तो अवस्था आइहाले त्यसको लागि पनि सबै तयारी छ’ उनले भने, ‘खाली यो शपथको लागि मात्रै होइन कि बैठकै सञ्चालन गर्नुपर्यो, अधिवेशन सञ्चालन गर्नुपर्यो भने पनि त्यसको लागि अहिले तत्कालको लागि यो तयारी अवस्थामा रहेको देखियो।’
अस्थायी व्यवस्थापन भएपनि फर्निचर र प्रविधिको प्रयोग सन्तोषजनक रहेको र काम द्रुत गतिमा अगाडि बढेको उनले बताए।
Shares

प्रतिक्रिया