चुनावी पराजयपछि नेपाली कांग्रेसका सभापति गगन थापाले नैतिक जिम्मेवारी लिएर पदबाट राजीनामा दिएपछि अब के हुन्छ भन्ने जिज्ञासा धेरैमा देखिन्छ।
सभापति थापाले बुधबार उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका थिए। शुक्रबार दिउँसो १ बजे बस्ने केन्द्रीय समिति बैठकमा सभापति थापाको राजीनामा पत्र र राजीनामा अस्वीकृत गर्ने दुवै प्रस्ताव पेस गर्ने उपसभापति शर्माको तयारी छ। कांग्रेसको विधानको धारा २६ अनुसार केन्द्रीय सभापतिले राजीनामा दिन चाहेमा उपसभापतिमार्फत केन्द्रीय कार्यसमितिमा प्रस्तुत गर्नुपर्छ।
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले राजीनामा स्वीकृत गरेमा उपसभापतिले कार्यवाहक सभापति भई कार्यभार सम्हाल्ने र ६ महिनाभित्र विशेष केन्द्रीय महाधिवेशन बोलाई केन्द्रीय सभापतिको निर्वाचन गरिने व्यवस्था छ। तर, केन्द्रीय कार्यसमितिबाट थापाको राजीनामा अस्वीकृत हुने निश्चित देखिएकाले यो प्रक्रियामा कांग्रेस प्रवेश गर्ने छैन।
उपसभापति शर्माको अध्यक्षतामा शुक्रबार बस्ने केन्द्रीय समिति बैठकबाट राजीनामा प्रस्ताव अस्वीकृत भएपछि थापा नेतृत्वमा फर्किने छन्। कांग्रेस उपसभापति पुष्पा भुसालले सभापति थापाको राजीनामा केन्द्रीय समितिबाट अस्वीकृत गरिने बताइन्। विशेष महाधिवेशनबाट चयन भएको १३४ सदस्यीय सिंगो केन्द्रीय कार्यसमिति थापाको राजीनामा अस्वीकृत गर्ने पक्षमा छ।
भुसालले भनिन्, ‘राजीनामाको विषय उहाँको कुरा भयो। तर, भोलिदेखि सुरु हुने केन्द्रीय समितिको बैठकमा यो विषयमा एजेन्डा बनाएरै छलफल हुन्छ। छलफलबाट एउटा टुंगोमा पुग्छौँ। तर, उहाँको राजीनामा स्वीकृत हुने अवस्था छैन।’
कांग्रेसलाई एक बनाएर लौजान र नियमित महाधिवेशन गर्न थापाको नेतृत्व अपरिहार्य छ भन्नेमा सिंगो केन्द्रीय समिति एकमत रहेको उनको भनाइ छ।
‘निर्वाचनपछि नैतिकताको आधारमा सभापतिको यस्तो कदम आएको छ। तर, अप्ठ्यारो र कांग्रेसलाई सम्हाल्नुपर्ने बेलामा सभापतिको राजीनामा विकल्प होइन,’ भुसालले भनिन्, ‘पार्टीभित्रबाट मात्रै होइन, देशका बुद्धिजीवी, नागरिकदेखि विदेशसम्मबाट सभापतिबाट गगन थापाले राजीनामा दिन नहुने मत धेरै छ।’
सहमहामन्त्री योगेन्द्र चौधरीले सभापति थापाको राजीनामा केन्द्रीय कार्यसमितिले अस्वीकृत गर्ने बताए।
उनले भने, ‘उहाँले नैतिकता देखाउनुभयो। हाम्रो सभापति अरु जस्तो नैतिकहीन देखिनुभएन। केन्द्रीय कार्यसमितिले उहाँको आवश्यकता औँल्याउछ। उहाँको राजीनामा स्कीकृत गर्ने अवस्था छैन। पार्टी संकटग्रस्त भएको अवस्थामा तत्काल उहाँको विकल्प देखिँदैन,’ उनी भन्छन्।
पुस १८ मा बसेको तत्कालीन केन्द्रीय कार्यसमितिले आगामी वैशाख २८ देखि ३१ का लागि नियमित महाधिवेशनको कार्यतालिका तोकिएको थियो। गत पुस २७–३० मा सम्पन्न विशेष महाधिवेशनबाट आएको कार्यसमितिले आगामी मंसिरसम्म नियमित महाधिवेशन गर्ने योजना बनाएको छ।
देउवा समूह भन्छ– राजीनामाको अर्थ छैन
विशेष महाधिवेशनबाट विस्थापित पूर्वसभापति शेरबहादुर देउवा समूहले भने थापाको राजीनामाको कुनै अर्थ नभएको टिप्पणी गरेको छ।
नेता मीनबहादुर विश्वकर्माले भने, ‘उहाँहरूको कस्तो राजीनामा हो? के खालको राजीनामा हो? द्वन्द्वकालको प्रचण्डको फोटोजस्तो भएको छ। पत्र सार्वजनिक भएको छैन। अब एकै पटक राजीनमा फिर्ता भनेर आउने होला।’
थापाको राजीनामा व्यक्तिगत विषय भएको भन्दै कांग्रेसमा एकताका लागि सबै पक्ष पुस ३० मा फर्किनुपर्ने विश्वकर्माको भनाइ छ।
‘१४औँ महाधिवेशनबाट आएका हामीलाई विशेष महाधिवेशनबाट आएका पदाधिकारीको राजीनामा हुनु र नहुनको अर्थ छैन। पार्टीमा झगडा गर्दा जनताबाट हामी दण्डित भइसकेका छौँ। अब पार्टीमा एकताका लागि पुस ३० को अवस्थामा फर्किनुको विकल्प छैन,’ उनी भन्छन्।
नेता श्याम घिमिरेले पनि थापाको राजीनामाको पार्टीमा अर्थ नहुने बताए। सभापतिबाट राजीनामाले उहाँका लागि के अर्थ राख्छ, उहाँले नै जान्ने कुरा भयो। पार्टीका लागि उहाँको राजीनामाको केही अर्थ छैन,’ उनी भन्छन्।
कांग्रेसमा अहिले आधिकारिताको विषय प्रधान भएको उनको भनाइ छ।
‘सर्वोच्च अदालतबाट आधिकारिता पाउने पक्षले पार्टीलाई मिलाएर लैजानुपर्छ। एउटा पक्षलाई बेवास्ता गरेर जान खोजे दुर्भाग्य हुन्छ। त्यो बाटोमा जाँदा चुनावमा यो परिणाम भोग्नृुपर्यो। अब पनि त्यही बाटोमा जानु हुँदैन,’ घिमिरेले भने।
२७–३० पुसमा भृकुटीमण्डपमा भएको विशेष महाधिवेशनले तत्कालीन शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय कार्यसमिति भंग गरेर थापाको नेतृत्वमा नयाँ कार्यसमितिको चयन गरेको थियो।
माघ १ मा घोषणा भएको केन्द्रीय कार्यसमितिलाई ४ माघमा निर्वाचन आयोगले मान्यता दिएको थियो। उक्त निर्णयविरुद्ध पूर्वसभापति देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले दायर गरेको रिट सर्वोच्च अदालतमा विचाराधीन छ।
Shares

प्रतिक्रिया